यसरी लिउ शितघर र दुग्ध चिस्यान केन्द्रमा लाग्ने विद्युतमा ५० प्रतिशत छुट

यो समाचार 310 पटक पढिएको

काठमाडौं । सरकारले कृषि व्यवसायमा आधारित शित भण्डार(कोल्ड स्टोर) र दुग्ध चिस्यान केन्द्र सञ्चालन गर्न खपत हुने विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।

२०५४ चैत ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले कृषि क्षेत्रमा प्रयोग हुने विद्युत महसुलमा ५० अनुदान दिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा गत् पुस ३ गते कृृषि उपज भण्डारणका लागि प्रयोग गरिने शितघर तथा दुग्ध चिस्यान केन्द्रमा लाग्ने विद्युत महसुलमा अनुदान भुक्तानी दिने सम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरी यो निर्णयलाई व्यवस्थित गरेको हो ।

स्वदेशमा खपत हुने वा विदेशमा निर्यात गर्न सकिने कृषि जन्य वस्तु आलु(बीउ तथा खायन), फलफूल, तरकारी, मसलावाली, मह, च्याउ तथा फूल (पुष्प) भण्डारण गर्न आवश्यक पर्ने शित भण्डार तथा कच्चा दूधलाई संकलन गरी प्रशोधन वा बिक्रि वितरणमा लानु अघि दुधको आयु बढाउन, दूध विग्रन नदिन चिसोमा राख्ने चिलिंग भ्याट सञ्चालन गर्न लाग्ने विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने व्यवस्था सरकारले गरेको छ ।

सरकारी निकायमा प्रचलित नियमअनुसार दर्ता भएको कृषक समूह, सहकारी, निजी उद्यमी तथा कम्पनीले सञ्चालन गर्ने शित भण्डार र दुग्ध चिस्यान केन्द्रमा यो सुविधा दिइनेछ । शितघर तथा दुग्ध चिस्यान केन्द्र सञ्चालकले शितघर तथा दुग्ध चिस्यान केन्द्रमा प्रयोग हुने विद्युत महसुलको अनुदानको लागि नेपाल विद्युत प्राधिकरणमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । शितघर तथा दुग्ध चिस्यान केन्द्रले खपत गरेको विद्युत युनिटको आधारमा नेपाल विद्युत प्राधिकरणले पेश गरेअनुसारको जम्मा विद्युत महसुलको ५० प्रतिशत अनुदान रकम(जरिवाना वाहेक) विभागिय निर्णय अनुसार उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विशेष जानकारीको लागि कृषि विभाग, पशु सेवा विभाग, प्रदेश सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क केन्द्र तोकेको छ ।

विस्तृत जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :