कृषि र पशुपन्छीसम्बन्धी प्राविधिक जानकारी लिन चितवन जाऔं

यो समाचार 1590 पटक पढिएको

राष्ट्रिय युवा कृषि उद्यम कार्यशाला

काठमाडौं । के तपाई युवा हुनुहुन्छ ? कृषि र पशुपन्छीसम्बन्धी क्षेत्रमा केही गर्न इच्छा र जोश जागर छ । तर कृषि तथा पशुपन्छीसम्बन्धी आधारभूत जानकारीको अभाव छ तपाईमा । यही हो भने अब चिन्ता मान्नुपर्दैन । कृषि र पशुपन्छीसम्बन्धी हरेक क्षेत्रको बारेमा आधारभूत जानकारी उपलब्ध गराउन चितवनमा आयोजना हुँदैछ, राष्ट्रिय युवा कृषि उद्यम कार्यशाला ।

आयोजक कमिटीका अनिल बाँस्तोलाका अनुसार चितवनस्थित कृषि तथा वन विज्ञान विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संस्था युनियन अफ भेटेरिनरी एण्ड एग्रिकल्चर स्टुडेन्ट्स तथा अन्तर्राष्ट्रिय कृषि युवा सञ्जाल(वाईपार्ड) को संयुक्त आयोजनामा यही साउन २७ र २८ गते दुई दिने राष्ट्रिय युवा कृषि उद्यम कार्यशालाको आयोजना हुन लागेको छ ।

कृषि र पशुपन्छीसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त नगरि यो क्षेत्रमा लहलहैमा हाम फाल्ने प्रवृतिका कारण युवाहरुले ठूलो घाटा व्यहोर्नुपरेको छ । युवाहरुलाई कृषि र पशुपन्छीसम्बन्धी सम्पूर्ण प्राविधिक जानकारी गराउने उद्देश्यले यो कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा कृषि विज्ञ, सफल कृषि उद्यमी, व्यवसायी, सरकारी निकायसहित कृषि र यस क्षेत्रसंग आबद्ध सम्पूर्ण सरोकारवालाहरुले आवश्यक जानकारी उपलब्ध गराउनेछन् । नेपालको कृषि क्षेत्रमा लामो समय बिताएर सफल भएका किसान, कृषि तथा वन विज्ञान विश्व विद्यालयका प्राविधिकहरुले पनि व्यवहारिक जानकारी प्रदान गर्नेछन् ।