के तपाईसँग साढे तीन करोड रुपैयाँ जित्ने चाहना छ ? त्यसो भए तथ्याँकसहितको कृषि एप्स तयार गर्नुहोस्

यो समाचार 2866 पटक पढिएको

अन्यलाई साढे ५३ लाखदेखि एक करोड ७० लाखसम्म

काठमाडौं । मोवाइल एप्स बनाउने शिप र प्रविधिसम्बन्धी जानकारी छ भने तपाईको लागि खुशीको खबर छ । नेपालको कृषिसम्बन्धी जानकारीसमेत छ भने तथ्याँकसहित कृषि एप्स बनाएर तपाईले सजिलै जित्न सक्नु हुनेछ साढे तीन करोड रुपैयाँको पुरस्कार । अमेरिकी सहयोग नियोग (युएस एड) ले तथ्यांकमा आधारित डिजिटल कृषिसम्बन्धी एप्स बनाउनेलाई साढे तीन करोड रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी युएस एडले उक्त घोषणा गरेको हो ।

युएस एडले सिमिट, फिड द फ्युचर, इसिमोड, माइक्रोसफ्ट नेपाल र गोदानको सहकार्यमा कृषि एप्स बनाउनेसम्बन्धी प्रतियोगिताको आयोजना गरेको हो। यो प्रतियोगितामा विश्वभरका प्रतियोगीले सहभागिता जनाउन पाउनेछन् । युएस एड नेपालका मिशन निर्देशक पिटर ए मलनेककाअनुसार प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगीले नेपाली किसानलाई सुहाउँदो सरल प्रविधिमा आवश्यक कृषिसम्बन्धी सम्पूर्ण तथ्यांकसहितको एप्स बनाउनुपर्नेछ ।

उक्त एप्सको सहयोगमा नेपालको समग्र कृषि क्षेत्रसम्बन्धी सम्पूर्ण जानकारी हासिल गरेर नेपालको साना किसानले कृषिको उत्पादनमा महत्वपूर्ण भूमिका खेल्न गर्न सक्षम हुने मलनेकले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले माघ २७ गतेदेखि आगामी चैत २४ गतेसम्ममा अंग्रेजी भाषामा आवेदन बुझाउनुपर्नेछ ।

सहभागी हुन चाहने आफ्नो आवेदन www.datadrivenfarming.challenges.org  मा समावेश गराउनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट ठहरिनेलाई तीन करोड २१ लाख र त्यसपछि तीनजनालाई साढे ५३ लाख रुपैयाँदेखि एक करोड ७० लाख रुपैयाँको पुरस्कार प्रदान गरिनेछ ।

उनले भने, ‘मौसम, कीट, माटो र बाली व्यवस्थापनसम्बन्धी एकमुष्ट तथ्याङ्क साना किसानका लागि अति महत्त्वपूर्ण जानकारी हो, स्थानीयकृत, मौसमी अन्तरदृष्टिहरूले बिउ, सिचाइ र कीटनाशकको प्रयोग बारे राम्रा निर्णय गर्न सघाउन सक्छन्, जसले गर्दा बाली उत्पादन र प्रभावकारितामा समेत सुधार आउँछ।’

प्रतियोगितामा प्रवर्तकहरूले साना किसानलाई उत्पादकत्व सुधार गर्न सघाउने औजार पत्ता लगाउनु पर्नेछ। युएसएआईडीद्वारा आर्थिक सहयोग उपलब्ध गराइने उक्त प्रतियोगिताले नेपालको विविध भूभागका लागि तयार पारिएका सोलुसन (समाधान) का लागि ३ लाख अमेरिकी डलर प्रदान गर्नेछ।

यस प्रतियोगिताले कृषक र समुदायका पात्रहरूलाई आफ्नो उत्पादकत्व र बजार योजनालाई दिगो तरिकाले बलियो बनाउनका लागि प्रभावकारी चयनमा सहयोग गर्नका निम्ति अझ राम्रो डाटा (तथ्याङ्क) जुटाउने र सदुपयोग गर्ने लक्ष्य लिएको छ। विशेष गरी साना किसान र समग्रमा नेपालकै कृषि क्षेत्रका निम्ति सर्वोत्कृष्ट समाधान प्रस्तुत गर्ने चार जना विजेतालाई सो नगद पुरस्कार र परामर्श प्रदान गरिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

दूतावासका अनुसार प्रतियोगीहरु कृषकहरुले धान, अन्य बाली र तरकारीको उत्पादन सुधारका लागि सामयिक अन्तर्ज्ञान उत्पन्न गरेको हुनु पर्ने, विस्तारित सेवा तथा कृषिजन्य तथ्याङ्कसँगको सम्बन्ध प्रदान गरी उत्पादक तथा आपूर्तिकर्ता दुवै लगायत कृषि बजारलाई सक्षम बनाउन सक्‍ने हुनु पर्नेछ।