सीप भएपछि पैसा कमाउन विदेश जानु पर्दैन

यो समाचार 341 पटक पढिएको

झापा, १३ पुस । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैँ हातमा सीप भए पैसा कमाउन विदेश गइरहनुनपर्ने झापा सुरुङ्गाका एक युवाले प्रमाणित गरिदिएका छन् । सुरुङ्गा–४ का भुवन अधिकारीले आफ्नै घरमा व्यावसायिक रूपमा मौरीपालन गरेर महिनामा एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । Honey bee‘मह बेच्न पनि टाढा जानु परेको छैन’, बजारको समस्या नभएको बताउँदै उहाँ भन्नुहुन्छ, “राम्रो मह खोज्दै किन्नेहरू घरमै आउँछन् ।” उहाँले पन्ध्र वर्षसम्म भारतको पञ्जावमा बसेर रोजगारी गर्दा सिकेको सीअनुसार स्वदेश फर्केपछि मौरीपालन सुरु गर्नुभएको हो । आफ्नै गाउँघरमा बसेर व्यावसायिक रूपमा मौरीपालन गरेका अधिकारी मह काड्ने र बिक्री गर्ने काममा व्यस्त हुनुहुन्छ ।

आफ्नै देशमा परिवारसँगै बसेर केही गरौँ भन्ने भावनाले उहाँले एक वर्षअघि स्वदेश फर्केर गाउँमा मौरीपालन सुरु गर्नुभएको हो । आफूमात्र होइन, उहाँले गाउँमा बेरोजगार युवालाई समेत व्यावसायिक मौरीपालनतिर आकर्षित लाग्न अभिप्रेरित गर्नेहुन्छ । विदेश गएर दुःख पाउनुभन्दा मौरीपालन गर्नु आर्थिक र अरू कारणले ठीक भएको भन्दै उहाँ युवालाई सम्झाउने गर्नुहुन्छ । अहिले उहाँले मौरीपालनमा लागेका अन्य किसानहरूलाई पनि समेट्दै जिल्ला कृषि कार्यालय झापामा एउटा संस्था नै दर्ता गर्नुभएको छ ।

आफ्नै अध्यक्षतामा गठन भएको सात सदस्यीय उहाँको संस्थाको नाम कन्काई मौरीपालन कृषक समूह हो । समूह बनाएर व्यवसाय गर्दा बढी फाइदा हुने उहाँको ठम्याइ छ । एउटा मौरीको घारबाट सिजनमा पाँच केजीसम्म र बेसिजनमा पनि दुई केजीसम्म मह उत्पादन हुने उहाँ बताउनुहुन्छ । उहाँले सिजनमा प्रतिघार पाँच केजीका दरले मह उत्पादन गर्नुहुन्छ । जाडो समयमा बजारमा महको माग अझ उच्च हुने उहाँ बताउनुहुन्छ । ५०० प्रति केजीका दरले घरबाटै मह बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । मौरीपालनमा सामान्य लगानी र परिश्रम गर्दा विदेशको भन्दा बढी आयआर्जन गर्न सकिने अधिकारीको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :