चिनी मिल चलाउन फेरि रसियाको चासो

This post has already been read 149 times!

काठमाडौं, नेपालका लागि रसियाली राजदूत सेर्गेइ भी भिलिकनले आफ्नै देशको सहयोगमा स्थापित वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनमा रसियाली लगानी भित्र्याउन सकिने-नसकिने बुझ्न मंगलबार यसको अवलोकन गरेका छन्। नेपाल सरकार र यहाँका राजनीतिक दलले वातावरण निर्माण गरे ११ वर्षदेखि बन्द रहेको चिनीमिलमा रसियाली व्यवसायीबाट लगानी गराउन सम्भव रहेको उनले अवलोकनपछि बताए ।’यस्तो लगानी रसिया सरकारले आफैं गर्ने होइन, हामीले यसमा व्यवसायीलाई प्रोत्साहित गर्न सक्छौं,’ राजदूत भिलिकनले भने, ‘जुन ठाउँमा यस्तो उद्योग चल्छ, त्यहाँका जनताको फाइदाबारे अवश्य सोच्नु पर्छ । सँगसँगै के पनि सत्य हो भने लगानीकर्ताले पनि फाइदा र लगानीको सुरक्षा चाहन्छन् ।’

sugar factory

यहाँको पूर्वाधार र अन्य वस्तुस्थिति कारखाना सञ्चालन गर्न मिल्ने खालको रहेको आफूले पाएको र त्यसको लागि सहयोग जुटाउनुपूर्व उपयुक्त वातावरण निर्माण हुनु आवश्यक रहेको उनको भनाइ थियो । राजदूत भिलिकनले वीरगन्ज चिनी कारखाना यो अवस्थामा पुगेकोमा दुःख मनाउ गरे । बिक्रम सम्बत २०२१ सालमा तात्कालीन सोभियत संघ सरकारकै सहयोगमा यो कारखाना खुलेको थियो । त्यसपछि निरन्तर सञ्चालन भएको कारखानाले वर्षमा ४ महिना दैनिक १५ हजारदेखि १८ हजार क्विन्टलसम्म ऊखु पेल्थ्यो ।

२०५९ फागुन १६ गते तत्कालीन मन्त्रिपरिषद बैठकले खारेजीको निर्णय गरेपछि २०५९ चैत ७ गते कारखानाको गेटमा ‘मन्त्रिपरिषदको निर्णयअनुसार कारखाना बन्द गरिएको’ सूचना टाँस गरियो । निजीकरण ऐन, २०५० अनुसार निजीकरण प्रक्रियामा लग्न मन्त्रिपरिषदले निर्णय गरे पनि त्यसयता निजीकरणको कुरा सेलाएर गएको थियो । २०६९ पुसमा उद्योग मन्त्रालयले कारखाना पुनः सन्चालन गर्ने निर्णय गरेर त्यसको लागि एउटा सञ्चालक समितिसमेत गठन गरेको छ । यहाँका १ सय ९४ जना कर्मचारीले कारखाना सञ्चालनको माग गर्दै अवकाश लिन मानेका छैनन् ।

चिनी कारखानाको स्वामित्वमा बाराको सिमरा र डुमरवानामा ८ सय ३३ बिघा, वीरगन्ज मेनरोडमा ६५ बिघा र पर्सा, बारा र रौतहटका १८ ठाँउमा उखु विकास उपकेन्द्र, काँटाको १५ कट्ठादेखि १ बिघासम्म जग्गा र काठमाडौं बालुवाटारमा ३ रोपनी जग्गा छ । राजदूत भिलिकनले अवकाश नलिएका कर्मचारीसँग कुराकानी गरेका थिए । उनले नजिकै रहेको बन्द अवस्थाको कृषि औजार कारखानाको समेत अवलोकन गरे ।