६४ जिल्लामा व्यवसायिक कुखुरा पालन

यो समाचार 452 पटक पढिएको

Poultry Survey Of Nepal 1050x500

काठमाडौं / मुलुकभरको ७५ जिल्लामध्ये ६४ जिल्लामा व्यवसायिक रुपमा कुखुरा पालन हुँदै आएको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्याँक विभागले गरेको व्यवसायिक कुखुरापालनसम्बन्धी सर्वेक्षणको आइतबार राजधानीमा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको छ ।
विभागले ६४ जिल्लामा गत आर्थिक बर्ष २०७१।०७२ मा व्यवसायिक कुखुरापालनसम्बन्धी सर्वेक्षण गरेको थियो । जसअनुसार ६४ जिल्लाको २१ हजार नौं सय ५६ वटा व्यवसायिक फर्म सञ्चालनमा छन् । जसमध्ये सबैभन्दा बढी अर्थात ९३.२९ प्रतिशतका दरले २० हजार चार सय ८३ वटा ब्रोइलर कुखुराको फर्म सञ्चालनमा छन् । यस्तै ६.०९ प्रतिशतका दरले एक हजार तीन सय ३७ वटा लेयर्स कुखुराको फर्म, ०.५८ प्रतिशतका दरले एक सय २८ वटा ह्याचारी फर्म र ०.०४ प्रतिशतका दरले आठवटा गिरिराज/कोइलर फर्म सञ्चालनमा छन् । चितवन कुखुरा र अण्डा उत्पादनका लागि राजधानी सहर भएको सर्वेक्षणले देखाएको छ ।

विभागका अनुसार उक्त फर्महरुमा वार्षिक रुपमा ६ करोड आठ लाख २६ हजार आठ सय ८० कुखुरा पालिएका छन् । जसमध्ये सबैभन्दा बढी ८७ प्रतिशतका दरले पाँच करोड २६ लाख ६६ हजार २९ बटा ब्रोइलर, ११ प्रतिशतका दरले ६९ लाख आठ हजार पाँच सय ९५ वटा लेयर्स र दुई प्रतिशतका दरले १२ लाख ५२ हजार दुई सय ५५ वटा अन्य जातका कुखुरा पालिएका छन् । प्रदेशअनुसार सबैभन्दा बढी प्रदेश नम्बर तीनमा ३५ प्रतिशतका दरले सात हजार ६ सय ३८ वटा फर्म सञ्चालनमा छन् । यस्तै दोश्रोमा प्रदेश नम्बर पाँचमा तीन हजार ६ सय ९१ व्टा कुखुराको फर्म छन् । त्यस्तै प्रदेश नम्बर एकमा तीन हजार पाँच सय ६१, प्रदेश नम्बर चारमा दुई हजार नौं सय ९३, प्रदेश नम्बर दुईमा दुई हजार ९६, प्रदेश नम्बर सातमा एक हजार एक सय १३ र प्रदेश नम्बर ६ मा आठ सय ६४ वटा कुखुराका फर्म सञ्चालनमा छन् ।

2ChickenFamilyNewsagrocomदेशभरमा ब्रोइलर कुखुराको संख्या ८६ लाख १० हजार एक सय दुई पुगेको छ । यस्तै लेयर्स जातको कुखुराको संख्या ६१ लाख ७२ हजार एक सय ३९, प्यारेन्ट जातको कुखुराको संख्या १२ लाख नौं हजार दुई सय ६९ र गिरिराज तथा कोइलर जातको कुखुराको संख्या ९५ हजार एक सय ५७ गरी कूल एक करोड ६० लाख ८६ हजार ६ सय ६७ पुगेको छ ।

कूल फर्मको संख्यामध्ये सरोकारवाला निकायमा पाँच हजार ४० वटा(७७ प्रतिशत) ले मात्र अनुमति लिएर सञ्चालन गरेका छन् । बाँकी कुनै पनि स्थानमा दर्ता गरिएका छैंनन् । ७१ प्रतिशत व्यवसायीले सरकारको सेवा सुविधा प्राप्त नगरेको औल्याएका छन् भने ६२ प्रतिशत व्यवसायीले ऋणको आवश्यकता भएको सुझाव दिएका छन् । यो पेशालाई ८६ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाले अंगालेका छन् ।

व्यवसायीले बजार र प्राविधिक ज्ञानको अभाव भएको औल्याएका छन् । चल्ला र दानाको गुणस्तरको कडाईका साथ अनुगमन गर्नुपर्ने र कुखुरा र अण्डाको मूल्य सरकारले निर्धारण गरिदिनुपर्ने सुझाव दिएका छन् । यस्तै सरल रुपमा वीमा र ऋण सुविधा उपलब्ध गराइदिनुपर्ने पनि व्यवसायीहरुले सुझाव दिएका छन् ।

कुन स्थानमा कति फर्म
सबैभन्दा बढी चितवनमा एक हजार नौं सय २० वटा फर्म छन् । काभ्रेमा एक हजार ७८, दांगमा एक हजार ५६, सुनसरीमा नौं सय ६२ र धादिंगमा नौं सय ३१ वटा फर्म सञ्चालनमा छन् ।

कति मासु उत्पादन
विभागका निर्देशक बद्रिकुमार कार्कीकाअनुसार यस्ता व्यवसायिक कुखुरा फर्महरुबाट एक बर्षको अवधीमा एक लाख १४ हजार ५८ मेट्रिक टन मासु(जिउदो कुखुरा) उत्पादन भएको छ । यसमध्ये एक लाख १० हजार ६ सय ९० मेट्रिक टन ब्रोइलर, तीन हजार एक सय ६७ मेट्रिक टन लेयर्स तथा प्यारेन्ट र दुई सय एक मेट्रिक टन गिरिराज र कोइलर जातको कुखुराको मासु उत्पादन भएको छ ।

Eggएक अर्ब अण्डा उत्पादन
सोही अवधीमा एक अर्ब २० करोड २१ लख ६६ हजार गोटा अण्डा उत्पादन भएको सर्वेक्षणले देखाएको छ । प्रति व्यक्ति प्रति बर्ष करिब ४४ वटा अण्डा उपलब्ध हुने गरी अण्डा उत्पादन भएको देखिएको छ । सरकारले प्रति बर्ष प्रति व्यक्तिको भागमा ४८ वटा अण्डा पुग्नुपर्ने लक्ष्य राखेको छ । सर्वेक्षणअनुसार सर्वेक्षणको अवधीभर ६४ जिल्लाका एक सय २८ वटा ह्याचरीले ११ करोड २२ लाख ९० हजार अण्डा इन्क्युभेटरमा राखेर आठ करोड ३३ लाख ६१ हजार चल्ला उत्पादन गरेको देखियो ।

व्यवसायिक रुपमा सबैभन्दा बढी चितवनमा ८१ करोड १९ लाख एक हजार अण्डा उत्पादन भएको छ । यसैगरी मकवानपुरमा पाँच करोड ८० लाख ८९ हजार, नवलपरासीमा चार करोड ९३ लाख ७४ हजार, दांगमा चार करोड २३ लाख ३२ हजार र भक्तपुरमा तीन करोड ६७ लाख ९२ हजार अण्डा उत्पादन भएको छ ।

कारोबारको अवस्था
नेपालमा एक बर्षमा ३३ अर्ब मूल्यबराबरको कुखुराजन्य बस्तुको कारोबार हुन्छ । जसअनुसार उक्त बर्षमा ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार मूल्यबराबरको कुखुराजन्य बस्तुको कारोबार भएको विभागले जनाएको छ । यसमध्ये सबैभन्दा बढी अर्थात ६१ प्रतिशतका दरले २० अर्ब ५२ करोड ८८ लाख ९१ हजार मूल्यबराबरको मासुको कारोबार भएको छ । यसैगरी २७ प्रतिशतका दरले नौं अर्ब १३ करोड ३७ लाख ३७ लाख ३६ हजार मूल्यबराबरको अण्डाको कारोबार भएको छ । यसैगरी ११ प्रतिशतका दरले तीन अर्ब ६० करोड ७६ लाख ७४ हजार मूल्यबराबरको चल्ला र एक प्रतिशतका दरले ४५ करोड ३७ लाख २२ हजार मूल्यबराबरको मल(सुली) को कारोबार भएको छ ।

खर्च पनि निक्कै
विभागका कृषि तथा पशुपक्षि गणना तथा सर्वेक्षण शाखाका निर्देशक अम्बिका बस्यालकाअनुसार व्यवसायिक रुपमा कुखुरा पालन गर्दा सबैभन्दा बढी खर्च कुखुराको दानामा लाग्ने गरेको पनि फेला पारिएको छ । दाना महँगो भएकाले पनि सबैभन्दा बढी खर्च दानातर्फ देखिएको बस्यालले जानकारी दिए । उनकाअनुसार बार्षिक रुपमा मुलुकभरमा १८ अर्ब ७६ करोड ९५ लाख ३६ हजार रुपैयाँ दाना खरिद गर्न व्यवसायीहरुको खर्च हुँदै आएको छ ।

यसैगरी चल्ला खरिदमा चार अर्ब ८२ करोड १० लाख ७७ हजार रुपैयाँ खर्च हुन्छ । त्यस्तै कामदारको ज्यालामा ८३ करोड ४१ लख ५४ हजार, कुखुराको औषधीमा ८१ करोड १३ लाख २१ हजार र भ्याक्सिनतर्फ ३९ करोड ३४ लाख १६ हजार रुपैयाँ व्यवसायीको खर्च हुँदै आएको छ । अन्य तर्फ भने दुई अर्ब २२ करोड ४२ लाख ९७ हजार रुपैयाँ हुने गरेको विभागले जानकारी दिएको छ ।

‘सवेक्षणको अवधीभरमा प्रति व्यक्ति प्रति बर्ष ४.१ किलो मासु उपलब्ध हुने गरी मासु उत्पादन भएको देखिएको छ’, सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्दै कार्कीले भने । सरकारले भने प्रति व्यक्ति प्रति बर्ष सबै खालको मासु गरेर १४ किलो पु¥याउनु पर्ने लक्ष्य राखेको छ । अहिल प्रति बर्ष प्रति व्यक्तिको भागमा ११ किलो पर्छ ।

नाफा र उमेरसमूहको अवस्था
सवेक्षणअनुसार देशभरमध्ये ७५ प्रतिशत फर्महरु नाफामा रहेको पाइएको छ । प्रदेश नम्बर ७ का फर्महरु सबैभन्दा बढी नाफामा रहेको देखिएको छ भने सबैभन्दा कम नाफा प्रदेश नम्बर चारका फर्महरुले गरेका छन् । ३५ देखि ४४ उमेर समूहका सर्वसाधारणले व्यवसायिक रुपमा फर्म सञ्चालन गरेका छन् । त्यसपछि २५ देखि ३४ उमेर समूहले फर्म सञ्चालन गरेका छन् । अधिकांश एसएलसी उतिर्ण गरेका सर्वसाधारण यो पेशामा लागेका छन् भने ब्राह्मण र क्षेत्री समूदायका सर्वसाधारण यो पेशालाई अंगालेका छन् ।

२०७२।२।३०

रचनात्मक प्रतिक्रिया दिनुहोस् :