निम्बसको खाने तेल अर्को महिनाबाट

यो समाचार 360 पटक पढिएको

वीरगन्ज / बन्द, हड्ताल र नाकाबन्दीले सिथिल पारेको वीरगञ्जलाई पछिल्लो समय थपिएका केही उद्योगले सुस्तै गतीमा भएपनि औद्योगिक नगरीको नाक नाक जोगाइ रहेको छ । समस्या र चुनौतीका चाङमा समेत यहाँका उद्योगीले वीरगञ्जलाई प्राथमिकताबाट हटाउन सकेका छैनन् ।

यसैक्रममा अन्तर्राष्ट्रिय वित्तिय निगम (आइएफसी) को एक अर्ब रुपैयाँ संयुक्त लगानीमा निर्माणाधीन निजी क्षेत्रको पहिलो उद्योगले दुई महिनाभित्र उत्पादन थाल्दैछ । निम्बस गु्रप अन्तर्गतको प्रोबायोटेक इण्डष्ट्रिज प्रालिको बिस्तारित परियोजना अन्तर्गत स्थापित खाने तेल उद्योगबाट जुलाई महिनाको अन्त्यदेखि उत्पादन सुरु हुने भएको छ ।

पूर्वाधार निर्र्माण र मेशिनरी जडानलगायत ९० प्रतिशत काम सम्पन्न भइसकेको छ, कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सिओओ) राम रसिक ठाकुरले भने, ‘जुलाईदेखि हामी परिक्षण उत्पादन थाल्ने छौं । अत्याधुनिक प्रविधीबाट उत्पादित खाने तेल स्वदेशी बजारमा उपलब्ध अन्य कम्पनीका उत्पादनभन्दा स्तरीय हुने उनले दावी गरे । उत्पादन प्रकृयामा कच्चा तेल प्रशोधन गर्दा तेलको प्राकृतिक स्वाद कायम राख्नका लागि कोल्ड प्रेस प्रविधीको प्रयोग गरिएको छ । कम्पनीले तोरी, सूर्यमुखी र भटमासको प्रशोधित खानेतेल उत्पादन गर्ने छ ।

वीरगञ्ज–२४ लिपनीबिर्तामा स्थापित प्रोवायोटेक कम्पनी परिसरकै पूर्वमा यो नयाँ कारखाना स्थापना गरिएको छ । प्रो बायोटेक इण्डष्ट्रिजबाट शक्ति फिड ब्राण्डमा पशुपंक्षीको आहार उत्पादन हुँदै आएको छ । अन्तर्राष्ट्रिय गुणस्तरसँगै बजार प्रवेश गर्ने योजना अनुरुप उत्पादन प्रविधी र प्रकृयाहरु आईएसओ २००० को मापदण्ड अन्तर्गत तयार पारिएको ठाकुरले जानकारी दिए ।

कृषिजन्य उत्पादनका लागी बेग्लै पहिचान बनाउन सफल निम्बस ग्रुपको यो रिफाइनरी उद्योगको दैनिक एक सय टन खाने तेल उत्पादन गर्न सक्ने क्षमता छ । ठाकुरका अनुसार उद्योगमा करिब १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । यससँगै मालसमान आयात, ढुवानी, बजार प्रवद्र्धन र बिक्रीवितरणको काममा ८ सय जनालाई कम्पनीले रोजगारी दिने छ ।

कृषिजन्य उत्पादनका लागी पहिचान बनाएको निम्बस ग्रुपले स्थानीय किसानलाई व्यवसायीक खेतीका लागी अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । किसानलाई तालिम दिई भटमास, मकै,गहुँको उत्पादन वृद्धि गर्न सिकाउने र उपज खरिद गरेर कच्चा पदार्थका रुपमा प्रयोगमा ल्याउने योजना रहेको सिओओ ठाकुरले बताए । खाने तेल उत्पादनसँगै पिनाबाट पशुपंक्षीको आहारा उत्पादन गरेर बजारमा पु¥याउने लक्ष्य छ ।

अहिले प्रोबायोटेकले कच्चा तेल उत्पादन गरी अन्य कम्पनीलाई बिक्री गर्ने र पिनाबाट पशुपंक्षीका लागी दाना उत्पादन गर्दै आएको छ । फरवार्ड लिंकेजको उद्देश्यले नयाँ प्लान्टमा लगानी गरिएको हो, सिओओ ठाकुरले भने,कच्चा तेल अन्य उद्योगलाई बेच्नुको साटो आफैंले तयारी उत्पादन गर्दा बढी मुनाफा हुन्छ ।

पूर्व योजना अनुसार काम सम्पन्न गर्न अन्तिम चरणको मेशिन जडान कार्यमा प्राविधिकहरुको टोली खटिएका छन् । वातावरण मैत्री उत्पादन प्रविधी जडानमा विशेष जोड दिइएको छ । वातावरणीय प्रदुषण नियन्त्रणका लागी आइएसओ १४००० को मापदण्ड र ध्वनी प्रदुषण नियन्त्रणका लागी आइएसओ १८००० को मापदण्डमा प्रदुषण नियन्त्रक मेशिन जडान गरिएका छन् ।

अहिले स्वदेशी बजारमा वार्षिक करिब २० अर्ब रुपैयाँ मूल्य बजारको खाने तेल आयात हुँदै आएको छ । १८ अर्ब भारत र बाँकी अन्य मुलुकबाट आयात हुने गरेको छ । वीरगन्ज–पथलैया करिडरमा अन्नपूर्ण भेजिटेबल्स, अमृत घिउ, श्री तेल, आदर्श तेल, शिवशक्ति घिउ, कुसुम रिफाइनरी,गणपति घिउ, उद्योग सञ्चालनमा छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :