खाद्यान्न उत्पादनमा ६.२ प्रतिशतले कमी

यो समाचार 420 पटक पढिएको

Agro Product Of Nepal 1050x500

काठमाडौं/ चालु आर्थिक बर्षमा खाद्यान्न उत्पादनमा कमी आउँदा कूल गार्हस्थ उत्पादन(जिडिपी)मा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । चालु आर्थिक बर्ष २०७२।०७३ मा अघिल्लो बर्षको तुलनामा खाद्यान्न तर्फ धान, गहुँ, कोदो, फापर, मकै र कोदोको उत्पादनमा ६.२ प्रतिशतले कमी आएको थियो ।

कृषि क्षेत्रको उत्पादनमा आएको कमीले गर्दा अघिल्लो आर्थिक बर्ष २०५७।५८ मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३६.६ प्रतिशत पुगेकोमा चालु आर्थिक बर्षमा घटेर ३१.६ प्रतिशतमा झरेको छ । चालु आर्थिक बर्षमा कूल गार्हस्थ उत्पादनमा गैरकृषि क्षेत्रको योगदान ६३.४ प्रतिशतबाट बृद्धि भएर ६८.३ प्रतिशतमा पुगेको अर्थमन्त्रालयले बिहिबार जारी गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक बर्षमा खाद्यान्न उत्पादनमा कमी आउदा ८६ लाख ९२ हजार मेट्रिक टन मात्रै खाद्यान्न उत्पादन भएको थियो । गत बर्षको तुलनामा चालु आर्थिक बर्षमा पाँच लाख ७४ हजार मेट्रिक टन कम खाद्यान्न उत्पादन भएको थियो । गत बर्ष २०७१।०७२ मा ९२ लाख ६६ हजार मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो । उत्पादनमा कमी आउदा नाकावन्दीका कारण गत बर्षको प्रथम आठ महिनाको तुलनामा चालु आर्थिक बर्षको पहिलो आठ महिनामा १३.९ प्रतिशतले कमी आएर चार खर्ब ३५ अर्ब ८० करोड मूल्यबराबरको कृषिजन्य बस्तु विभिन्न मुलुकबाट नेपालमा आयात भएको थियो ।

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक बर्षमा कमजोर मौंसमका कारण समयमा रोपाई हुन नसक्दा अघिल्लो बर्षको तुलनामा धानतर्फ १०.२ प्रतिशतले उत्पादनमा कमी आएको थियो । रोपाई भएका क्षेत्रफलमा पनि सिंचाई सुविधाको अभाव र भारतले गरेको अघोषित नाकावन्दीका कारण समयमा मल नेपालमा आउन नपाउदा ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो आर्थिक बर्ष २०७१।०७२ मा भने ४७ लाख ९९ हजार मेट्रिक टन उत्पादन भएको थियो । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले अघिल्लो बर्षको तुलनामा चार लाख ९० हजार मेट्रिक टन कम धान फलेको जानकारी दिए ।

यस्तै चालु आर्थिक बर्षमा गत बर्षको तुलनामा ८.३ प्रतिशतले कमी आएर १८ लाख ११ हजार मेट्रिक टन गहुँ फलेको छ । गत बर्षभने १९ लाख ७५ हजार मेट्रिक टन गहुँ फलेको थियो । सिंचाई अभाव र मलको अभावले गर्दा धानपछि दोश्रो खाद्यान्न वाली मकैतर्फ भने १० प्रतिशतले कमी आउने कृषि विकास मन्त्रालयले प्रक्षेपण गरेको छ । ‘यद्यपी पछिल्लो समयमा केही मात्रामा परेको पानीका कारण उत्पादनमा केही बृद्धि हुन सक्ने अनुमान गरेका छौं’, प्रवक्ता कार्कीले भने ।

चालु आर्थिक बर्षमा कोदोको उत्पादनमा पनि करिब दुई प्रतिशतले कमी आएको छ । चालु आर्थिक बर्षमा तीन लाख दुई हजार मेट्रिक टन कोदो फलेको छ । अघिल्लो बर्ष भने तीन लाख आठ हजार मेट्रिक टन उत्पादन भएको थियो । यस्तै चालु आर्थिक बर्षमा जौं वालीको क्षेत्रफल बृद्धि भएपनि उत्पादनमा भने ५.४ प्रतिशतले कमी आउने कृषि मन्त्रालयले प्रक्षेपण गरेको छ ।

भूकम्प र भारतीय नाकाबन्दीले थलिएको नेपालको कृषि क्षेत्रले पछिल्लो पटकको लामो खडेरीका कारण ठूलो क्षति व्यहोरेको छ । मन्त्रालयकाअनुसार सुक्खा र खडेरीका कारण मुलुकभर कृषि क्षेत्रमा करिब आठ अर्ब रुपैयाँबराबरको क्षति भएको छ । पछिल्लो पटकको यो क्षतिका कारण आगामी आर्थिक बर्षमा कृषि क्षेत्रमा थप नकारात्मक असर पु¥याउने कृषि अर्थबिद्हरुको दावी छ ।

कृषि अर्थविद् डा.हरि दाहालकाअनुसार पर्याप्त मात्रामा बजेटले मात्रै उत्पादनमा बृद्धि आउन सक्दैन् । ‘पछिल्लो समयमा बजेटको आकार बढेर आएपनि कृषि उत्पादनको आयात दर झन झन बढ्दै गएको तथ्याँकहरुले देखाइसकेको छ,’ उनले भने,‘राज्यले अब उत्पादनमा अनुदानका साथै सिंचाई, मल, बीउ, यान्त्रिकरणमा बिशेष जोड दिनुपर्छ ।’ उनले उत्पादनमा बृद्धि गर्न भारतले उपलब्ध गराएकोजस्तो सुविधा राज्यले उपलब्ध गराउनुपर्ने समय आएको जानकारी दिए ।

नगदे वालीतर्फ भने आलु, फलफूल, तरकारी र तेलहनको उत्पादनमा भने बृद्धि भएको छ । आलुतर्फ १.२, फलफूलतर्फ १०.६, तरकारीतर्फ २.० र तेलहनतर्फ २.३ प्रतिशतले उत्पादनमा बृद्धि भएको छ । यस्तै सूर्ती वालीको उत्पादनमा २.६ प्रतिशतले कमी आएको छ भने उखुको उत्पादनमा १.२ प्रतिशतले बृद्धि भएको छ । यस्तै जुटतर्फ ०.८ प्रतिशतले उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । चिया, कफी तथा कपासको उत्पादनमा भने ३.१ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरिएको छ ।

यस्तै मसलावालीतर्फ भने उत्पादन तथा क्षेत्रफलमा केही घटवढ हुन सक्ने आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ । लसुनको उत्पादन ४.४ र अदुवाको उत्पादन ७.८ प्रतिशतले कमी आएपनि बेसार ३.८ र अलैंची ३.६ प्रतिशतले उत्पादनमा बृद्धि हुने उल्लेख छ ।

दलहन पनि घट्यो

सुख्खा र खडेरी, भुकम्प तथा नाकावन्दीको असर खाद्यान्नतर्फ मात्रै होइन् । बरु दलहनतर्फ पनि त्यतिकै देख्न सकिन्छ । चालु आर्थिक बर्षमा मुसुरो, मास, रहर, चना, भटमास, गहत, खेसरीसहित अन्य दालको उत्पादनमा पनि नकारात्मक असर परेको छ । गत बर्षको तुलनामा चालु आर्थिक बर्षमा ०.३ प्रतिशतले उत्पादनमा कमी आउदा तीन लाख ५२ हजार मेट्रिक टन उत्पादन भएको छ ।

घट्यो खेतियोग्य क्षेत्रफल

चालु आर्थिक बर्षमा बाढी, पहिरो, डुवान र कटानका कारण ३५ हजार हेक्टर क्षेत्रफल बालुवाले पुरिएको थियो । यस्तै खडेरीका कारण ६१ हजार हेक्टरमा धान, मकै र कोदोको रोपाई हुन सकेन् । यसमध्ये ५५ हजार हेक्टरमा खडेरीका कारण धानको रोपाई हुन सकेन् ।

झण्डै १४ लाख हेक्टरमा सिंचाई पूर्वाधार

आर्थिक सवेक्षणले खेतीयोग्य १३ लाख ७४ हजार आठ सय ६९ हेक्टरमा सिंचाईको पूर्वाधार निर्माण भएको उल्लेख गरेको छ । जसअनुसार भूमिगत सिंचाईबाट तीन लाख ९१ हजार ८०, कृषक कुलो सुधारबाट एक लाख ९८ हजार एक सय ४० र क्षेत्र नखुलेको प्रणालीबाट पाँच हजार नौं सय ५५ हेक्टरमा सिंचाई पूर्वाधार विकास भएको उल्लेख गरिएको छ ।

बढ्यो पशुपन्छी

चालु आर्थिक बर्षमा गत बर्षको तुलनामा गाई तथा गोरुको संख्या बढेको छ । चालु आर्थिक बर्षमा संख्यामा बृद्धि भएर गाई गोरुको संख्या ७२ लाख ४१ ह्जार नौं सय ६० पुग्ने अनुमान छ । यसमध्ये दूध दिने गाईको संख्या १० लाख २५ हजार नौं सय ५३ रहेको छ । यस्तै भैंसी तथा रांगाको संख्यामा पनि बृद्धि भएर ५१ लख ६८ हजार ४७ पुग्ने अनुमान गरिएको छ । दूध दिने भैंसीको संख्या १३ लाख ४३ हजार आठ सय १९ छ । चालु आर्थिक बर्षमा गत बर्षको तुलनामा ०.०५ प्रतिशतले बाख्रा तथा बोकाको उत्पादनमा बृद्धि हुने सवेक्षणले देखाएको छ । जसअनुसार बाख्रा तथा बोकाको संख्या एक करोड दुई लाख ५६ हजार ६ सय ९४ पुग्ने भनिएको छ । यस्तै सुंगुर, वंगुर र भेडाको संख्या पनि सामान्य बृद्धि हुन सक्छ ।

चालु आर्थिक बर्षमै कुखुराको संख्या गत बर्षको तुलनामा करिब चार प्रतिशतले बृद्धि भएर पाँच करोड २२ लाख पुग्ने अनुमान छ । यसमध्ये फुलदिने कुखुराको संख्या ८४ लाख १३ हजार हुने सर्वेक्षणले उल्लेख गरेको छ । गाई र भैंसीबाट गत बर्षको तुलनामा ३.०४ प्रतिशतले बृद्धि भएर १८ लाख १५ हजार मेट्रिक टन दूध उत्पादन हुने अपेक्षा गरिएको छ । गाईबाट ३२.० प्रतिशत र भैसीबाट ६८ प्रतिशत दूध उत्पादन हुने लक्ष्य राखिएको छ ।

यस्तै मासुतर्फ भने तीन प्रतिशतले बृद्धि हुने अपेक्षा गरिएको छ । जसमध्ये रांगा भैसीबाट एक लाख ७४ हजार, भेडाबाट दुई हजार ६ सय ५९, खसी र बोकाबाट ६३ हजार ६ सय ४६, वंगुरबाट २१ हजार एक सय ६१, कुखुराबाट ४८ हजार दुई सय ८० र हांसबाट दुई सय ३७ मेट्रिक टन मासु उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :