आयातीत बीउ पुनर्परीक्षण नहुँदा उत्पादनमा ह्रास

This post has already been read 214 times!

काठमाडौं,  बारा, पर्सा, रौतहट, रूपन्देही, सर्लाही, नवलपरासी, मोरङ र झापालगायत जिल्लाको मकैबालीको बोटमा २०६६ सालमा घोंगा लागेर पनि दाना लागेन। भारतीय बहुराष्ट्रिय कम्पनी पायोनियरद्वारा उत्पादित मकैको बीउ प्रयोग गरिएका कारण करिब २५ हजार हेक्टरमा लगाइएको बोटमा दाना नलागेको हो। यसले त्यस बेला सरकारले विभिन्न प्रकारका प्याकेज बनाएर किसानलाई २० करोड रुपैयाँ क्षतिपूर्ति दिएको थियो।

seed

यही वर्षको गत असोजमा भक्तपुरसहित काभ्रेपलान्चोकमा धानको बोटमा दाना लागेन। चीनबाट उत्पादित वर्णसंकर (हाइब्रिड) जातको डीवाई ६९ र २८ नामक धानको बीउ प्रयोग गरेका कारण बालामा दाना लागेन।

सरकारी तथ्यांकअनुसार भक्तपुरको करिब सात सय र काभ्रेपलान्चोकको करिब ६ सय २३ हेक्टरमा लगाइएको धानबालीका बोटमा दाना लागेन। यसको पछाडि सरकारले “नेक ब्लाट”  रोग कारक रहेको जनाएको छ। दाना नलागेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारले करिब आठ करोड रुपैयाँ सिफारिस गरेको छ। उता किसानका संघसंस्थाले काभ्रेमा नौ करोड र भक्तपुरमा २७ करोड रुपैयाँबराबरको क्षति बेहोरेको दाबी गरेका छन्।

यी दुई घटनाका पछाडि सरकारले विभिन्न प्रकारका कारक तत्त्व बताए पनि यथार्थ भने बेग्लै छ। भारतलगायत तेस्रो मुलुकबाट आयात हुने खाद्यान्न तथा विभिन्न प्रकारका तरकारीको बीउको पटके परीक्षण नगर्ने प्रवृत्तिका कारण अन्तत: किसानले त्यसको सजाय भोग्य बाध्य भएका छन्। बाहिरी मुलुकबाट बीउ आयात गर्दा एकपटक परीक्षण गरेर स्वीकृति दिएपछि सरकार वर्षौंसम्म पुनर्परीक्षण गर्दैन। बीउको गुणस्तर हेर्ने तथा आयात गर्नका लागि अनुमति दिने कृषि विकास मन्त्रालयमातहतको बीउ गुणस्तर निर्धारण केन्द्रको गलत नीतिका कारण किसान बर्सेनि लाखौं मूल्यको क्षति बेहोर्न बाध्य भएका छन्।

केन्द्रका प्रमुख डिलाराम भण्डारी भन्छन्, “गुणस्तर परीक्षण गरेर एक पटक दर्ता भइसकेको बीउको जात पुनस् अन्य कम्पनीले भित्र्याउँदा परीक्षण हुँदैन।” उनका अनुसार एक पटक परीक्षण गरेर दर्ता भइसकेपछि त्यही बीउ वर्षौंसम्म आयात गर्दा गुणस्तर रीक्षण गरिँदैन। यसकारण कम गुणस्तरको बीउ भित्रिने सम्भावना हुन्छ।

दर्ता भइसकेका बीउको विवरणबाट आयातकर्ताले झुक्याएर गुणस्तरहीन बीउ भित्र्याउन सक्ने आधार भए पनि सरकारले हालसम्म चासो देखाउन सकेको छैन। यसको ज्वलन्त उदाहरण हो पछिल्लो पटक भक्तपुरको धानबाली र मकैबाली नोक्सान प्रकरण।

सरकारले आयात हुने बीउको प्रत्येक लट परीक्षण नगर्दा किसानका साथै सरकार स्वयंले पनि लाखौं रुपैयाँको नोक्सानी बेहोर्दै आएको छ। अखिल नेपाल किसान महासंघका महासचिव प्रेम दंगालले प्रत्येक लटको बीउको परीक्षण नगरिएका कारण नेपाली किसान ठगिएको बताए। उनले सरकारको सानो गल्तीका कारण नेपाली किसानले ठूलो क्षति बेहोर्दै आएको जानकारी दिए। उनले आयात हुने बीउ लटैपिच्छे परीक्षण गरिनुपर्ने बताए।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक मनोज ठाकुरका अनुसार भक्तपुर र काभ्रेका किसानले प्रयोग गरेको डीवाई ६९ र २८ नामका दुवै जात र तराईका किसानले प्रयोग गरेको पायोनियर जातको मकैको बीउले हालको मौसममा राम्रो उत्पादन नदिन पनि सक्छ। उनले भने,”मौसम परिवर्तन भइरहन्छ। एउटा मौसममा उत्पादन दिने बीउले अर्को वर्षको मौसमको फेरबदलले उत्पादन नदिन पनि सक्छ ।”

प्रत्येक लटको बीउको परीक्षण गरेर त्यसको उमार शक्ति (जर्मिनेसन इनर्जी)  र बीउमा पाइने शुद्धता परीक्षण गरेर मात्र आयात गर्न दिनुपर्ने वरिष्ठ वैज्ञानिक ठाकुरको कथन छ। केन्द्रका प्रमुख भण्डारीले बीउसम्बन्धी समस्या धेरै आउन लागेकाले निकट समयमै आयात हुने प्रत्येक लटको बीउको गुणस्तर परीक्षण गर्ने योजना कार्यान्वयनमा ल्याइने दाबी गरे। केन्द्रका अनुसार हालसम्म धानतर्फ १७, मकैतर्फ ३२ तथा तरका
रीतर्फ दुई सय ५३ प्रकारका जात परीक्षणपश्चात् दर्ता गरिएको छ।

अन्नपूर्ण पोष्टबाट