डिग्रीहोल्डर यूवा बंगुरपालनमा

यो समाचार 251 पटक पढिएको

झापा, पढेपछि सरकारी जागिर, नभए ठूल्ठूला कम्पनीमा जागिरै खानुपर्छ भन्ने चलनचल्तीको मान्यतालाई चुनौती दिँदै एक झापाली यूवाले आफ्नो बौद्धिक पौरखलाई बंगुरपालनमा लगाउँदै उदाहरणीय नमुना पेश गरेका छन् । झापा शरणामती ५ का ३७ वर्षिय कृषक भिमबहादुर राई   । 

उनको शैक्षिक योग्यता अनुसार वकिल वा राजनीतिज्ञ हुनुपर्नेहो । कानूनमा एलएलबी र राजनीतिशास्त्रमा एमए गरेका राई हाल आफूले ३ वर्ष अगाडी शरणामती ५ मा खोलेको डाइमण्ड एग्रिकल्चर एण्ड रिसर्च सेण्टर खोली उन्नत प्रजातिका बंगुरका पाठा उत्पादनमा लागेका छन् ।

bangoor 1

 
हाल उनले सञ्चालन गरेको बंगुर फार्ममा विभिन्न विकाशे प्रजातिका ६५ वटा बच्चा उत्पादन गर्ने माउ, ६ वटा विउ र करीव ३ सय बढी बंगुरका पाठा–पाठी रहेका छन् । उनका बंगुरफार्ममा लेण्डरेस, डिउरोक, हेमसायर, योकसार,कालो पाख्रीबासीलगायतका प्रजातिका बंगुर रहेका छन् । स्रोत केन्द्रको रुपमा उत्पादन सुरु गरिएको उनको फार्मबाट हाल महिनाको ३ सय पाठा–पाठी उत्पादन हुने गरेको छ । पाठा खरिदका लागि व्यापारीहरु घरमै आउने गरेका छन् ।

प्रतिपाठा ३ हजारदेखि ५ हजारसम्म बिक्री हुने गरेको उनी बताउँछन् ३ वर्ष अघी स्थानीय कमला राईसँग मिलेर २६ लाखको लागतबाट यो पेशा सुरु गरेका राईले बंगुर पालनकै लागि तालिम लिन डेनमार्क समेत गएको बताउँछन् । त्यहाँ सरकारले सिफारिस नगरेका व्यक्तिले तालिम लिन नपाउने भएपछि १२ दिन बसेर फर्किएको उनी बताउँछन् विदेशमा तालिम नभएपछि पशु सेवा कार्यालय दुहवीमा लेखनाथ दाहालबाट ७ दिने आधारभूत बंगुरपालन तालिम लिएर आफ्नै ३ विगाह जमिनलाई घेराबारा गरी उनले त्यही व्यवसायिक बंगुरपालन सुरु गरेको छन् ।

कृषि विकास बैंकबाट २५ लाख ऋण लिई सुरु गरेको उनको व्यवासयबाट हाल सबै खर्च कटाएर मासिक एक लाख आम्दानी हुने गरेको छ । पढेपछि जागिरै खानुपर्ने वा सो नमिले विदेशनै जानुपर्छ भन्ने मान्यताले गर्दा देशमा आर्थिक विकास नभएको राई बताउँछन् । हाल राईकै सक्रियतामा बंगुरको समेत पशु बीमा गर्न सम्बन्धित कम्पनी तयार भएको उनी बताउँछन् । पशु बीमा हुने भएपछि बंगुरपालक कृषकलाई ठूलो राहत र हौसला मिलेको उनी बताउँछन् । मौका मिले यस सम्बन्धी थप तालिम लिन जर्मनी जाने चहाना रहेको बताउने राई सरकारले बंगुर कृषकलाई लक्षित गरी कार्यक्रम ल्याएमा ठूलो मात्रामा नेपालबाट बंगुरको मासु चीन निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने बताउँछन् ।
राई बंगुर फार्म सँगसँगै सुरुङ्गा बजारमा फ्रेस हाउस सो–रुम,आधुनिक प्रविधियुक्त सेकुवा कर्नर सहित तुम्बा र कोदोको रक्सीको स्टार होटल खोल्ने योजना रहेको सुनाउँछन् । राईले आफ्नो ३ विगाह जमिनमा बंगुर फार्मसँगसँगै माछा पालन र कुखुरा फार्म समेत सञ्चालन गरेका छन् । मिहिनेतमा विश्वमा राख्ने बताउने राईले यसपछि काठमाडौंमा जग्गा भाडामा लिई व्यवसायीक तरकारी खेती समेत गरेका थिए । त्यहाँ सफलता हात नलागेपछि केही वर्षको खोज गरी आफू बंगुरपालनमा होमिएको बताउँछन् । हाल राईको बंगुर फार्म हेर्न र यस बारेमा सिक्न नेपाल
तथा विदेशका विभिन्न स्थानबाट समेत आउने गरेका छन् । उनीबाट सिप सिकी गाउँमा अन्य कृषकले समेत बंगुरपालन सुरु गरेका छन् । सरकारले चिया कृषकलाई जस्तो सहुलियत दरमा बंगुरपालक कृषकलाई ऋणमात्र उपलब्ध गराइदिने हो भने बंगुरपालनबाटै ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना गर्ने राई बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :