१० बर्षमा १ लाख २९ हजार हेक्टर खेती योग्य जमिन बाँझो

यो समाचार 404 पटक पढिएको

काठमाडौं,  दश बर्षको अवधीमा १ लाख २९ हजार हेक्टर जमिन बाँझो भएको छ । कृषि पेशामा आवद्ध किसानको संख्या पनि यो अवधिमा घटेको छ ।
१० बर्षअघि ७९ प्रतिशत कृषि पेशामा आवद्ध रहेकोमा अहिले घटेर ७१ प्रतिशतमा झरेको छ ।केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको छैटौं कृषि गणना २०६८ अनुसार १० बर्षमा १ लाख २९ हजार हेक्टर जमिन बाँझो भएको हो ।


देशभर अहिले ३८ लाख ३१ हजार कृषक परिवार रहेका र १ लाख १६ हजारले पशुपालन मात्रै गर्ने गरेको विभागले जनाएको छ ।खेती गरिने जमिन १ लाख २९ हजार हेक्टरले घटेर २५ लाख २५ हजार हेक्टर रहेको छ । धेरै खेती हुने जिल्लामा मोरङ, झापा सुनसरी, सर्लाही र सिरहा तथा कम खेती हुने जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन् ।
१९ लाख ३१ हजार परिवारले तरकारी खेती मात्रै गर्ने गरेका छन । १० बर्ष अघि तरकारी खेती मात्रै गर्ने परिवारको संख्या ९ लाख ७७ हजार थियो । पहिला ६० हजार हेक्टर जमिनमा तरकारी खेती हुने गरेकोमा अहिले ८४ हजार हेक्टर जमिनमा तरकारी खेती हुने गरेको छ । कृषि पेशामा लागेका मध्ये ४० प्रतिशतलाई मात्रै खान पुग्ने उत्पादन हुने गरेको र ६० प्रतिशतलाई कृषि पेशाले बर्षभरी खान नपुग्ने गरेको तथ्याङक विभागका उपमहानिर्देशक सुमनराज अर्यालले जानकारी दिनुभयो ।

उज्यालो नेटवर्कबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :