बेगनास माछा महोत्सव सम्पन्न

यो समाचार 328 पटक पढिएको

पोखरा/ ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ लेखनाथ नगरपालिकाको बेगनासतालस्थित मन्दरेपार्कमा सञ्चालित दोस्रो माछा महोत्सव( बेगनास फिस फेस्टिबल) आइतबार सकिएको छ ।

fishशुक्रबारदेखि सञ्चालन भएको सो फेस्टिबलमा रु ५० लाखभन्दा बढीको आर्थिक कारोबार भएको फेस्टिबल आयोजक मूल समारोह समितिका संयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस ठाउँमा रहेका दिपाङ, बेगनास र रुपाताल तथा कृषकले आफ्ना निजी पोखरीमा उत्पादन गरेका २३ थरीका माछाका परिकार दर्शकलाई खुवाइएको थियो । साथै तीनै जातका जीवित माछाको समेत प्रदर्शन गरिएको थियो ।

होटल तथा रेस्टुराँ एसोसियसन लेखनाथको आयोजनामा भएको सो फेस्टिबल ७० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । ती तालबाट करिब चार टनभन्दा बढी माछा बिक्री भएको बताइएको छ । यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडीबुटी र पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीय माछाको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्यले फेस्टिबल आयोजना गरिएको र यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइएको छ ।

महिला तथा पुरुष खुला डुङ्गा दौड, माछा तथा खानाका स्टल, माछा र मह तथा कफी एवम् जडीबुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम फेस्टिबलमा सञ्चालन गरिएको थियो । फेस्टिबल समापन समारोहमा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले यस कार्यक्रमले माछापालक कृषकमा हौसला बढेको बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :