तरकारी खेतीले फेरियो जीवन

यो समाचार 358 पटक पढिएको

राझा(बाँके)/ व्यावसायिक तरकारी खेतीले नेपालगन्जको मनिकापुरकी निर्मला सापकोटाको जीवन फेरिएको छ। अत्यन्तै दुःख कष्टका साथ सडकमा बसेर गुजारा चलाएकी निर्मलाको जीवनमा एक दशकमा नै व्यावसायिक तरकारी खेतीले आमूल परिवर्तन भएको छ।

Vegetable seed‘साह्रै दुःख थियो सडकमा बसेका थियौ’, निर्मलाले विगत सम्झँदै भनिन्, ‘पानी आउँदा ओत लाग्ने ठाउँ थिएन।’  एक दशक अघिसम्म निर्मलाको परिवार बेसरमले बारेको झुपडीमा बस्थ्यो। वर्षायाममा पानी पर्दा छाता ओढाएर छोराछोरीलाई जोगाउनु पथ्र्यो। ‘पहिले त हामीलाई दुई चार सय रुपैयाँ सापटी लिन पत्याउँदैनथे, अहिले त अरुलाई सहयोग गर्नसमेत पछि पर्दैनौ’, निर्मलाले भनिन्।

कोपिलाको बारीमा लौका, भन्टा, करेला, काँक्रो, फर्सी, बन्दा, खुर्सानी, धनियाँ लगायतका तरकारी भरिभराउ छ। कोपिलाले नेपालगन्ज राँझा विमानस्थलको पूर्वी भागमा घरसहित १० कठ्ठा जमिन जोडेकी छन् । त्यहाँ बाह्रैमासे तरकारी फलाउँछिन्। व्यावसायिक तरकारी खेतीका लागि निर्मलाले थप १० कठ्ठा जग्गा भाडामा लिएकी छन्। तरकारी खेतीकै आमदानीबाट बसुदेवपुर मोहनपुरमा ८ कठ्ठा जमिन किनेर बोर्डिङ स्कुलसमेत सञ्चालन गरिकी छन् । निजी विद्यालयको रेखदेख श्रीमानले गर्दै आएका छन् भने तरकारी खेतीको सम्पूर्ण काम निर्मला आफैले गर्छिन् । बोर्डिङ स्कुलले समेत कक्षा ५ सम्म अनुमति पाइसकेको छ।

‘मेरो अहिले अवस्था आउनुमा तरकारी खेती नै हो, बोर्डिङ खोल्ने, छोराछोरी पढाउने सबै तरकारी खेतीबाट सम्भव भएको’ , निर्मला गर्वका साथ भन्छिन्, ‘यसैले मलाइ यहाँसम्म ल्यायो।’ २०६३ सालमा २५ किलो आलु लगाएर तरकारी खेती सुरु गरेकी निर्मलाले अहिले वार्षिक डेढ लाख बचाउँछिन् । ‘मैले सुरुमै लगाएको आलुबाट ६ क्विन्टल उत्पादन भएको थियो’, निर्मलाले भनिन्, ‘अहिले सिजनमा १५ क्विन्टलसम्म आलु फलाउँछु, अरु तरकारी त कति हुन्छ, हुन्छ।’

भिनाजु नाता पर्नेले तरकारी खेती गर्ने तरिका सिकाएपछि निर्मला व्यावसायिक तरकारी खेतीमा लागेकी हुन् । दुई छोरा र एक छोरीकी आमा निर्मलाका श्रीमान्समेत निर्मलालाई खेतीपातीमा बरोबर सहयोग गर्छन्। निर्मलाको जेठी छोराले हालै एसएलसी दिएका छन् भने छोरी ड्रिमल्यान्ड मावि राँझामा कक्षा ९ मा पढ्छिन्। कान्छो छोरालाई संस्कृति पढाउनका लागि पोखरा पठाउने तयारी गरिरहेको उनले बताइन् । हालसम्म व्यावसायिक तरकारी उत्पादन गरेर निर्मलाले २२ लाखभन्दा बढी आम्दानी गरिसकेको बताइन।

निर्मलाले व्यावसायिक तरकारी खेतीबाट गरेको प्रगति देखेर छिमेकीसमेत तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् । ‘हाम्रो प्रगति देखेर केहीले त जग्गा भाडामै लिएर तरकारी खेती गर्न हौसिएका छन्’ , निर्मलाले भनिन, ‘म आफूले जानेको अरुलाई पनि सिकाइ दिन्छु, म कहाँ भएको तरकारीको बेर्ना पनि दिने गर्छु।’ निर्मलाले सिँचाइका लागि एक लाख ५० हजार हालेर पम्प खरिद गरेकी छन्। दुई लाख हालेर दुईवटा भैंसी पनि किनेकी छन् । खेती किसानीमै रमाउने निर्मलाले केही दिनमै खेत जोत्नका लागि पावर ट्रेक्टर ल्याउन लागेको जानकारी दिइन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :