दुई दिने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण गोष्ठी शुरु

यो समाचार 497 पटक पढिएको

काठमाडौं/ दक्षिण एशियामा कृषि यान्त्रीकरणः नेपालमा कृषि विकासका लागि प्रवृत्ति, अवस्था र कार्यान्वयन विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी मंगलवारदेखि काठमाडौंमा शुरु भएको छ ।

IFRI_01यूएसएआईडीको फण्डिंग रहेको पोलिसी रिफर्म इनिसिएटिभ प्रोजेक्टअन्तरगत इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्टिच्यूट (इफ्री), कृषि विकास मन्त्रालय र सर्वागींण विकास अध्ययन केन्द्रको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल, भारत, बंगलादेशका कृषि विज्ञहरुको सहभागीता रहेको छ । गोष्ठीको उदघाट्न माननिय कृषि विकास मन्त्री हरिबोल गजुरेलले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा कृषि विकास मन्त्री हरिबोल गजुरेलले आगामी दश वर्षमा नेपालको कृषि छिमेकी मुलुक भारत र चीनको बराबर तहमा विकास हुने बताउनुभएको छ । कृषि विकास मन्त्री गजुरेलले एकिकृत कृषि विकास रणनीतिअन्तरत सरकारले संघियरुपमा ७ वटा सूपर जोन कृषि क्षेत्र बनाउन लागेको जानकारी पनि दिनुभयो । उहाँले परम्परागत कृषिलाई आधुनिक र यान्त्रीकरण गर्न सरकारले विशेष योजना ल्याउन लागेको जानकारी दिँदै कृषिको यान्त्रीकरणले मात्र लागत घटाउन सकिने बताउनुभयो ।

कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले नेपालमा सिमित क्षेत्रमा मात्र यान्त्रीकरण गरिएको भन्दै खेती योग्य जमिनहरु बाँझो हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले उपकरण तथा यन्त्रहरुलाई कसरी संभाव्य बनाउने भन्ने चुनौती रहेको भन्दै सिमान्तकृत कृषकहरुलाई माथि उठाउन केन्द्रित हुनुपर्ने बताउनुभयो ।

परियोजनाका कार्यक्रम व्यवस्थापक अनुसन्धान विज्ञ डा। अन्जनी कुमारले कृषिलाई प्रतिस्पर्धी, सक्षम बनाउन कृषिको यान्त्रीकरण गर्नु आवश्यक भएको बताउनुभयो । कृषिको समुचित उपयोग गर्न कृषि यान्त्रीकरणमा जोड दिनुपर्ने भन्दै डा। अन्जनी कुमारले नेपाल जस्तो विकासोन्मुख मुलुकका लागी यान्त्रीकरण आवश्यक रहेको र विभिन्न मुलुकहरुको फरक फरक कृषि यान्त्रीकरण प्रणालीबाट आगामी दिनमा सिक्न सक्ने स्पष्ट पार्नुभयो ।

त्यसैगरी यूएसएड नेपालका मिसन डाइरेक्टर पिटर माल्नाकले ७० प्रतिशत भन्दा बढि जनता कृषिमा आबद्ध भएको नेपालमा गरिबि घटाउन यान्त्रीकरणले नाटकिय भूमिका खेल्नसक्ने बताउनुभयो । कृषि यान्त्रीकरणले समाजमा समावेशी विकास गर्न र गरिबी घटाउन सहयोग पुग्ने उहाँको भनाई थियो । यूएसएड नेपालका मिसन डाइरेक्टर माल्नाकले सरकारको कार्यअवस्थामा सुधार हुँदै आएको हुँदा निजी क्षेत्रको सहयोगमा कृषि यान्त्रीकरणबाट समावेशी विकास गर्न सकिने स्पष्ट पार्नुभयो ।

काठमाडौं विश्वविद्यालयको अनुसन्धान केन्द्रको रुपमा रहेको सर्वागींण विकास अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा। बिष्णुदेव पन्तले कुनै बेला कृषि उत्पादनहरु निर्यात गर्ने मुलुक अहिले खाधान्न आयातकको रुपमा परिवर्तित भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले पछिल्ला वर्षहरुमा हाम्रो उत्पादकत्व घटिरहेको भन्दै छिमेकी मुलुकबाट हामीले सिक्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव लेखनाथ आचार्यले कृषि परम्परागत कार्य मात्र नभई हाम्रो आयको स्रोत पनि भएको बताउनुभयो । उहाँले नेपालको श्रमशक्ति विदेश पलायन हुनबाट रोक्न कृषि यान्त्रीकरण भरपर्दो उपाय हुने स्पष्ट पार्नुभयो ।

यूएसएआईडीको फण्डिंग रहेको पोलिसी रिफर्म इनिसिएटिभ प्रोजेक्टअन्तरगत इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्टिच्यूट९इफ्री०ले आयोजना गरेको गोष्ठीमा इफ्री भारत, बंगलादेश एग्रिकल्चर यूनिर्भसिटी, यूनिर्भसिटी अफ लण्डन, आईसिएआर इण्डिया, एशियन इन्टिच्यूट अफ टेक्नोलोजी, इफ्री, वासिंगटन डिसी, आईडिई नेपाल, नार्क,एफएनसीसीआई, भन्सार विभाग, वन तथा भू संरक्षण मन्त्रालय, कृषि मन्त्रालयलगायतका संस्थाहरुबाट ८० भन्दा बढि सहभागीहरुको सहभागीता रहेको छ ।

दुई दिने यो गोष्ठीमा दक्षिण एशियामा कृषि यान्त्रीकरण, कृषि यान्त्रीकरण तथा बंगलादेशमा ग्रामिण परिवर्तन,कस्टम हायरिंग सर्भिस अफ एग्रिकल्चर मेसिनरी इन इण्डिया, बंगलादेश एण्ड नेपाल, पोलिसी इन्भाईरोमेन्ट फर एग्रिकल्चर मेकनाइजेशन इन नेपाललगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । गोष्ठीबाट आएको निष्कर्ष कृषि विकास मन्त्रालयलाई आगामी दिनमा नीति निर्माणमा सहयोग हुने गरि हस्तान्तरण गरिनेछ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :