मंसिरमा ४ करोडको ‘कट्फ्लावर’ किनबेच

यो समाचार 312 पटक पढिएको

काठमाडौं, विवाहको सबैभन्दा उपयुक्त सिजन मानिने मंसिरमा यो वर्ष ४ करोड रुपैयाँबराबरको ‘कट्फ्लावर’को कारोबार भएको छ । चाँडो नओइलाउने जातका कट्फ्लावरको कारोबार अन्य महिनाभन्दा विवाहको सिजनमा ३ गुणासम्म बढी हुने फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले जनाएको छ ।

Cut Flower
हिन्दू परम्पराअनुसार विवाहको मुख्य सिजन मंसिर, माघ, फागुन र वैशाख महिनामा अरु महिनाभन्दा बढी फूलको कारोबार हुने फ्यानका महासचिव दिलिप बादेले बताए । “४ महिनामा अरु महिनाभन्दा दोब्बरभन्दा बढीले कट्फ्लावर किनबेच हुने गरेको छ,” उनले भने । विवाहको गाडी, मण्डप र विवाहस्थल सजाउन सिजनका महिनामा बढी माग हुने भएकाले कारोबारसमेत बढेको उनले बताए ।

केही धनाढ्यले एउटै विवाहका लागि होटल सजाउन मात्र ५ देखि १० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । विवाहमा दुलाहा र दुलही चढ्ने गाडी सजाउन १ हजार ५ सय रुपैयाँदेखि मूल्य सुरु हुने व्यवसायी बताउँछन् । “एउटा गाडी सजाएको कम्तिमा १५ सयदेखि बढीमा ६० हजार रुपैयाँसम्म पर्न आउँछ,” फ्यान महासचिव वादेले भने ।

कट्फ्लावरको वार्षिक कारोबार भने २० करोड रुपैयाँबराबरको छ । विवाहको महिनापछि अंग्रेजी महिनाको फेब्रुअरी १४ (भ्यालेन्टाइन डे)मा समेत गुलाफको कारोबार बढी हुने गरेको उनले बताए । गत वर्ष नेपालभर सबै प्रकारका फूलको १ अर्ब ५ करोड रुपैयाँबराबरको कारोबार भएको फ्यानको तथ्यांक छ ।

गत वर्ष १० करोड ९६ लाख रुपैयाँको फूल निर्यात भएको थियो भने ३ करोड रुपैयाँबराबरको आयात भएको थियो । नेपालका ३६ जिल्लाका ६ सय ३५ पुष्प फार्म\नर्सरीमार्फत व्यावसायिक पुष्पखेती भइरहेको छ । १ सय २० हेक्टर क्षेत्रफलमा भइरहेको पुष्प उत्पादन कार्यमा ५ हजार जनाको प्रत्यक्ष संलग्नता रहेको फ्यानले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :