करोडौं मूल्यका डिप ट्युबवेल अलपत्र

यो समाचार 418 पटक पढिएको

नेपालगन्ज/ बाँके र बर्दिया जिल्लाका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनका लागि दुई दशकअघि जिल्लामा गाडिएका करोडौं मूल्यबराबरका डिप ट्युबवेल अलपत्र परेका छन् ।

Irrigation deep tube wellकिसानलाई सिँचाइ सुविधा दिएर उत्पादन बढाउने लक्ष्यका साथ गाडिएका ती डिप ट्युबवेलको सरकारले मर्मत सम्भारका लागि बजेट उपलब्ध गराउन नसक्दा करोडौंको लगानी खेर गएको हो । बाँके र बर्दियामा गाडिएका करिब ३ दर्जन डिप ट्युबवेलको मर्मत सम्भार नभएर सञ्चालन नहुँदा एकातिर सरकारको करोडौंको लगानी खेर गएको छ भने अर्कोतिर सिँचाइको असुविधाले किसानलाई खेती गर्न समेत समस्या भएको छ ।

भूमिगत जलस्रोत विकास समितिले बाँके र बर्दियामा दुई दशकअघि ३३ वटा डिप ट्युबवेल सञ्चालन गरेको थियो । भूमिगत जलस्रोत विकास समिति नेपालगन्जका अनुसार तीमध्ये अधिकांश डिप ट्युबवेल बिग्रिएर अलपत्र अवस्थामा छन् । बाँके जिल्लाको सीतापुरका स्थानीय बासिन्दा दिनेश शर्माले सरकारले डिप ट्युबवेल जडान गर्दा स्थानीय समुदायलाई पूर्ण रूपमा जिम्मेवार बनाउन नसक्दा कामै नलाग्ने गरी बिग्रिएको बताए ।

हेरचाह र रेखदेखकै अभावमा ट्युबवेल, मोटरलगायतका महत्वपूर्ण सामानसमेत चोरी भएको र कतिपय सामान सडेर गएको उनले जनाए ।
माओवादी सशस्त्र द्वन्द्वकालको बेला सुरक्षा अभावका कारण महत्वपूर्ण सामानहरू चोरी भएको, हेरचाह र रेखदेख गर्न नसकिएकाले ट्युबवेल काम नलाग्ने अवस्थामा पुगेको राधापुरका सन्तराम थारुले बताएका छन् ।

दुई दशकअघि सञ्चालनमा ल्याइएका ती डिप ट्युबवेलको मर्मत सम्भारका लागि सरकारले बजेट नपठाउँदा मर्मत सम्भार गर्न नसकिएको भूमिगत जलस्रोत कार्यालय बाँकेले जनाएको छ । बाँकेको सीतापुर–राधापुरमा १९ र बर्दियाको शान्तिपुर–जमुनीमा १४ वटा डिप ट्युबवेल नेपाल सरकारले किसानलाई उपलब्ध गराएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :