तरकारीको मूल्य घट्यो

This post has already been read 198 times!

जनकपुरधाम, १० पुस । पुसको दोस्रो साता सुरु भएलगत्तै जनकपुर बजारमा तरकारीको मूल्यमा केही कमी आएको छ । गत साताको तुलनामा मौसमअनुसारको तरकारीको मूल्य घटेको छ भने बेमौसमी तरकारीको मूल्यमा वृद्धि भएको छ ।

Vegetable

मौसमी तरकारी काउली, भन्टा, गोलभेँडा, मूला, सिमी, मटरकोसा, बन्दागोभीलगायतका तरकारीको मूल्य घटेको पाइएको छ । त्यस्तै, बेमौसमी तरकारी करेला, लौका, परवललगायतको मूल्य अत्यधिक बढेको छ भने आलु र प्याजको मूल्य स्थिर रहेको छ ।

जनकपुर रेल्वे स्टेसन बजारका व्यापारीका अनुसार अहिले आलु प्रतिकेजी २५, प्याज प्रतिकेजी ४०, काउली प्रतिकेजी २०, बन्दागोभी प्रतिकेजी २०, भन्टा प्रतिकेजी २०, गोलभेँडा प्रतिकेजी ३०, मुला प्रतिकेजी १५ मा बिक्री भइरहेको छ ।

व्यापारी दिनेशकुमार साहका अनुसार सिमी प्रतिकेजी ९०, मटरकोसा प्रतिकेजी ५०, करेला प्रतिकेजी १ सय २०, परवल प्रतिकेजी १ सय २० र लौका प्रतिगोटा १ सयका दरले बिक्री भइरहेको छ ।

गत मंसिर महिनामा तरकारीको मूल्य अत्यधिक बढेका कारण उपभोक्तालाई तरकारी किन्न धौधौ परेको थियो ।