व्यावसायिक टिमुरखेती सुरु

यो समाचार 264 पटक पढिएको

म्याग्दी, १० पुस । म्याग्दीका चार गाविसमा व्यावसायिक टिमुरखेती सुरु गरिएको छ । टिमुरको प्रचुर सम्भावना भएको म्याग्दीमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र म्याग्दी उद्योग वाणिज्य संघको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रममार्फत घतान, नारच्याङ, ताकम र मुदी गाविसमा व्यावसायिक टिमुर उत्पादन सुरु गरिएको हो ।

विज्ञसहितको टोलीले स्थानीय कृषकको जागरुकता र उत्पादन सम्भावनाको गाविस छनोट गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुविरकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुई वर्षदेखि सञ्चालित कार्यक्रममा सुरुमा दुई गाविस मात्र समावेश भए पनि कृषकको मागको आधारमा पछि दुई गाविस थप गरिएको हो ।

छनोट भएका गाविसका अतिरिक्त भगवती, पिप्ले, वेगखोला, शिख, घार, दाना, दग्नाम, चिमखोला, कुइनेमङ्गले, लुलाङ, दरवाङलगायतका गाविसमा पनि टिमुर उत्पादन हुने भएकाले ती गाविसमा पनि कार्यक्रम सञ्चालन गर्दै जाने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

टिमुरलाई जाडोको समयमा विभिन्न परिकारमा प्रयोग गरेर खाएमा न्यानो बढाउनुका साथै चिसोबाट लाग्ने रोगसमेत निको हुने विज्ञहरूको भनाइ छ ।

दुई वर्षको अवधिमा चार गाविसमा २२ हजार टिमुरका बिरुवा उत्पादन भएका छन् भने टिमुर सङ्कलनका लागि उपकरण र विभिन्न समयमा कृषकलाई तालिम प्रदान गरिँदै आएको छ ।

जिल्लामा करिब दुई हजार किलो टिमुर उत्पादन गर्न सकिने भए पनि त्यसका लागि किसानलाई थप जागरुक बनाउनुपर्ने जिल्ला वन कार्यालयका रेञ्जर चन्द्रमणि सापकोटाको भनाइ छ । अनुदान सहयोगमा दुई वर्षको अवधिमा २० वटा फल टिप्ने उपकरण सहयोग गरिएको म्याग्दी उद्योग वाणिज्य संघका कार्यालय प्रमुख दिलीप पुनले जानकारी दिनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :