अवैध डाइटरी सप्लिेन्टको बिक्रिमा रोक

यो समाचार 626 पटक पढिएको

उत्पादन, आयात र बिक्रि गर्न अनिवार्य अनुमति लिनुपर्ने

काठमाडौं/ सरकारले डाइटरी सप्लिमेन्ट(आहार पुरक खाद्य पदार्थ) को बिक्रिमा रोक लगाएको छ । अवैध रुपमा आयात निर्यात र बिक्रि बितरण हुँदै आएको उक्त सप्लिमेन्ट आयात र बिक्रि गर्न अवदेखि सम्बन्धित व्यापारी र संस्थाले खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागसँग अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
Diatory Supplimentकृषि विकास मन्त्रालयले गत आइतबार डाइटरी सप्लिमेन्टसम्बन्धी नियमन कार्यविधि स्वीकृत गरेपछि बिभागले आफुखुशी हुँदै आएको उत्पादन, आयात, निर्यात, प्याकिङ्ग, भण्डारण र बिक्रि बितरणलाई व्यवस्थित गर्न यस्तो व्यवस्था गरेको हो । कार्यविधिअनुसार अनुमति वेगर आयात, निर्यात र बिक्रि वितरण हुने यस्ता डायटरी सप्लिमेन्टलाई अवैध मानिने छ । विभागका महानिर्देशक संजीवकुमार कर्णकाअनुसार अनुमति वेगर आयात निर्यात र बिक्रि बितरण गर्ने व्यवसायी र संस्थाको डाइटरी सप्लिमेन्ट नियन्त्रणमा लिएर नष्ट गरिने नयाँ व्यवस्था गरिएको छ । ‘अवैध रुपमा हुने आयात निर्यात र बिक्रि बितरणमा पूर्ण रुपमा रोक लगाएका छौं’, उनले भने ।

विभागकाअनुसार शरीरमा पोषण तत्वको मात्रा कम भएपछि दैनिक खानपानमा थप पोषक तत्वहरुको पूर्तिका लागि झोल, पाउडर, क्याप्सुल, गे्रनुलको रुपमा प्रयोग गरिने खाद्य पदार्थलाई डाइटरी सप्लिमेन्ट भनिन्छ । यसलाई फुड, हेल्थ, न्युट्रिसनल पदार्थको रुपमा पनि चिनिन्छ । तौल बढाउन, घटाउन, शरीरमा शक्ति ल्याउन, छालाको चाउरीपन हटाएर चिल्लोपना देखाउन, शारीरिक सुसंगठन, शरीर र मस्तिस्कको वृद्धि विकास गर्ने दावीसहित यो खाद्य पदार्थ औषधीको रुपमा सेवन गर्ने चलन छ । डाइटरी सप्लिमेन्ट कार्वोहाइड्रेड, चिल्लो पदार्थ, फ्याट्टी एसिड, भिटामिन, खनिज तत्व वा खनिज तत्व समिश्रण, प्रोटिन, एमिनो एसिड, एन्जाइम, जिंक, मिनरल, फाइवरसहित वनवस्पति र प्राणिजन्य स्वास्थ्य वद्र्धक खाद्य पदार्थको रुपमा साना औषधी पसल र किराना पसलदेखि ठूला डिपार्टमेन्ट पसलमा निक्कै महँगो मूल्यमा बिक्रि बितरण हुँदै आएको छ ।

डाइटरी सप्लिमेन्टलाई नियमन गर्न यसअघिसम्म कार्यविधि नहुँदा आफुखुशी रुपमा आयातकर्ता र बिक्रेताले बिक्रि गर्दैआएका थिए भने उपभोक्ताले पनि आफुखुशी प्रयोग गर्दैआएका थिए । कार्यविधि नहुँदा यस्ता पदार्थको सेवनबाट हुने हानि नोक्सानी र दण्ड सजायको बारेमा आयातकर्ता र बिक्रेता पन्छिदैं आएका थिए । बालकदेखि वृद्धसम्म र गर्भवती महिलालाई पनि आफूखुशी यस्ता पदार्थ खुवाउने चलनलाई रोक्न बिभागले कार्यविधि तयार पारेर मन्त्रालयबाट स्वीकृत गराएको हो । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीकाअनुसार आगामी सातादेखि यो कार्यविधिलाई कडाईका साथ कार्यान्वयनमा ल्याएर बजार अनुगमन गरिनेछ । अवैध रुपमा भित्रिएका सम्पूर्ण डाइटरी सप्लिेन्टलाई नियन्त्रणमा लिएर नष्ट गरिने छ ।

यो कार्यविधि तयार भएर स्वीकृत भएसँगै अनुमति, नियमन, दण्ड तथा जरिवानाको पाटोमा औषधी व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागबीच उत्पन्न भइरहेको असमझदारी पनि अन्त्य भएको छ । कार्यविधि नहुँदा अघिसम्म यो क्षेत्रलाई नियमन गर्ने कुनै निकाय थिएन् । भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाका अनुसार भारत, युरोप, अस्ट्रेलियाजस्ता मुलुकबाट वार्षिक अर्बौं मूल्यबराबरको डायटरी सप्लिमेन्ट नेपाल भित्रिने गरेको छ ।
डाइटरी सप्लिमेन्टको सबालमा विभागले उत्पादन, आयात निर्यात, भण्डारण र बिक्रि बितरणमा कडाई गर्न केही बाध्यकारी व्यवस्था पनि गरेको छ । विभागले डाइटरी सप्लिमेन्टमा खाद्य पदार्थको फर्मुलेसन पोषणको सिद्धान्तमा आधारित र प्रमाणित वैज्ञानिक तथ्य पुष्टि भएको हुनुपर्ने व्यवस्था गरेको छ । यसैगरी यस्ता पदार्थमा हर्मोन, स्टेटोइड्स र साइकोट्रपिक समिश्रण गर्न नपाइने व्यवस्था पनि गरेको छ ।

विभागले डाइटरी पदार्थको लेवलमा उक्त पदार्थको कुन उमेरका प्रयोगकर्ताले कुन विधि र कति मात्रामा प्रयोग गर्ने हो, त्यो अनिवार्य रुपमा उल्लेख गर्न कार्यविधिमा उल्लेख गरेको छ । डाइटरी सप्लिमेन्टमा पोषक तत्व र खाद्यको गुणस्तर तोक्ने अन्तर्राष्ट्रिय संस्था कोडेक्स एलिमेन्टरियस कमिसनले तोकेअनुसार हुनुपर्ने र यस्ता पदार्थको लेवलमा अनिवार्य रुपमा ‘औषधीय प्रयोजनका लागि होइन’ भनेर सूचना पनि उल्लेख गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । ‘कार्यविधिअनुसार पालना गर्ने उत्पादक, आयात तथा निर्यातकर्ता तथा बिक्रेतामाथि खाद्य ऐनको प्रचलित कानुनअनुसार कारवाही गरिने छ’, विभागका प्रवक्ता वस्तीले भने ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :