भटमासको दूध उत्पादन गर्ने मेसिनमा खिया लाग्यो

यो समाचार 246 पटक पढिएको

बैतडी, १० पुस । किसानले उत्पादन गरेको भटमास जिल्ला बाहिर बिक्री हुन थालेपछि बैतडीको शिखरपुरमा भटमासको दूध उत्पादन हुन छोडेको छ । दुई वर्षअघि भटमास प्रशोधन गरी दूध उत्पादन सुरु गरेको स्थानीय लघु जलविद्युत् आयोजना कार्य समूहले भटमास नै नपाएपछि दूध उत्पादन बन्द गरेको हो ।

Soya machine

कृषकले व्यापारीलाई भटमास बेच्न थालेपछि भारतबाट ल्याइएको छ लाख मूल्य बराबरको दूध उत्पादन गर्ने मेसिनमा खिया लाग्न थालेको छ । दुई वर्षअघि स्थानीय केदार भटमास दुग्ध उत्पादन समूहले एक किलो भटमासबाट सात लिटरसम्म दूध उत्पादन सुरु गरेपनि भटमास पाउन छाडेपछि समस्या भएको स्थानीय दिलबहादुर साउदले बताउनुभयो ।

कृषकले स्थानीय बजारमा प्रतिकिलो ५५ मा आफूसँग भएको भटमास बिक्री गर्न थालेपछि दूध उत्पादन हुन नसकेको उहाँले बताउनुभयो । २८ किलोवाट क्षमताको ‘कठमडीगाड लघु जलविद्युत् आयोजना’ बाट बिजुली बलेपछि स्थानीय बासिन्दाले भारतबाट मेसिन किनेर भटमासको दूध उत्पादन गर्न थालेका थिए ।

पश्चिम नेपालमै पहिलो चोटी भटमासको दूध उत्पादन सुरु भएपछि सुरुमा दङ्ग परेका स्थानीय बासिन्दाले अहिले त्यसतर्फ खास चासो देखाएका छैनन् । जिल्ला सदरमुकामबाट २० कोस पूर्वमा पर्ने शिखरपुर गाविस–२ कठमडा गाउँमा सो उद्योग स्थापना भएको थियो ।

सुरुमा व्यावसायिक रुपमा भटमासको दूध उत्पादन गर्न तम्सिए पनि उत्पादित दूध र त्यसबाट बनेका परिकारको बजारीकरण गर्न नसक्दा स्थानीयले भटमास नै बेचेर आम्दानीको सजिलो उपाया अपनाएको स्थानीय रुपसिंह साउदले बताउनुभयो ।

भटमासबाट तयार भएको दूध सस्तो र चिल्लो पदार्थ नहुने भएकाले स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुने भन्दै भटमासको दूध प्रवद्र्धनका लागि शिखरपुर गाविसका–२ का २८९ घरधुरीका एक हजार ८ सय बासिन्दालाई जिल्ला ऊर्जा तथा वातावरण शाखा र गाउँ विकास समितिले सहयोग गरेको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :