फार्मबाट वार्षिक ४.३८ अर्ब लिटर पशुमुत्र

यो समाचार 326 पटक पढिएको

काठमाडौं / दुग्ध उत्पादनका लागि व्यावसायिक रूपमा पालिएका गाईभैंसीबाट मात्र दैनिक १ करोड २० लाख पशुमुत्र र ६० लाख किलो गोबर उत्पादन हुने गरेको पाइएको छ । देशभरका ६ हजार व्यावसायिक पशुफार्ममा पालिएका ४ लाख गाईभैंसीबाट सहायक उत्पादनका रूपमा आउने मलमुत्रको व्यवस्थापन भने हुन सकेको छैन ।
फार्मबाट वार्षिक ४.३८ अर्ब लिटर पशुमुत्र उत्पादनप्रांगारिक उत्पादनका लागि मल र प्राकृतिक विषादीको रूपमा मुत्रको प्रयोग गर्न सकिन्छ । प्राकृतिक ऊर्जाका लागि पनि मलमुत्रलाई ‘अचुक उपाय’का रूपमा लिइन्छ । गाईभैंसीपालक कृषकले दूधलाई मात्र प्राथमिकता दिएको र सरकारले पनि स्पष्ट कार्यक्रम लागू गर्न नसक्दा मलमुत्रको व्यवस्थापन हुन नसकेको हो । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालले गरेको अध्ययनले व्यावसायिक फार्मबाट उत्पादित मलमुत्रको व्यवस्थापन कमजोर रहेको देखाएको छ ।

समाजका अनुसार व्यावसायिक गाईभैंसी फार्मबाट मात्र वार्षिक ४ अर्ब ३८ करोड लिटर पशुको मुत्र र २ अर्ब १९ करोड किलो गोबर उत्पादन हुने देखिन्छ । “देशभरका ६ हजार दुग्ध उत्पादक फार्मको अध्ययन गरेका छौं, फार्म चलाउने कृषकले मलमुत्र व्यवस्थापनमा ध्यान नदिएको देखियो,” समाजका अध्यक्ष आनन्दप्रसाद न्युरेले भने, “एक लिटर पशुमुत्रको प्रयोगबाट मात्र कम्तीमा १० ग्राम खेती बढी उत्पादन हुने अध्ययनले देखाएको छ, मलमुत्रको व्यवस्थापन गर्न सकेमात्र पनि करोडौंको कृषि उपज उत्पादन बढाउन सकिन्छ ।” सरकारले मलमुत्र संकलन र व्यवस्थित भण्डारण गर्ने ट्यांकीहरू, मलमुत्रलाई खेतबारीमा हाल्नका लागि प्रयोग गर्ने ट्र्याक्टर, मलमुत्र बोक्ने ट्यांकी, स्प्रे मेरिनलगायतमा अनुदान व्यवस्था गरे मलमुत्र व्यवस्थापन सहज हुने उनको भनाइ छ ।

गत आर्थिक वर्षमा मात्र १५ अर्ब ५४ करोड रुपैयाँको रासायनिक मल आयात भएको थियो भने चालू वर्षको ७ महिनामा ८ अर्ब २१ करोडको रासायनिक मल आयात भएको भन्सार विभागको तथ्यांक छ । मलमुत्रको प्रयोगले माटोको उर्वराशक्ति बढाउने भएकाले रासायनिक मलको प्रयोग घटाउँदै प्राकृतिक मलमुत्रको उपयोग गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव विज्ञहरूको छ ।

बालीविज्ञ डा. भोलामान सिं बस्नेत नेपालमा गाईवस्तुको मलमुत्र व्यवस्थापन गर्न आवश्यक देखिएको बताउँछन् । “गाईवस्तुको मलमुत्र बालीनालीका लागि रामवाण नै हो, निरन्तर मलमुत्रको प्रयोगले माटोको स्वस्थतामा सकारात्मक प्रभाव पार्छ भने रासायनिक मलको असर कम गर्छ,” उनले भने, “पशु मलमुत्रले खुकुलो माटोलाई कडा र कडालाई खुकुलो बनाउँछ तर रासायनिक मल उत्पादन वृद्धिमा सहयोगी भए पनि माटोको स्वच्छता घटाउँछ ।” नेपालमा रासायनिक मलको प्रयोग अत्यधिक भएकाले तत्कालै रासायनिक मल हटाउनुको साटो विस्तारै घटाउँदै गएमा उत्पादन पनि नघट्ने र उत्पादनलाई विस्तारै प्रांगारिकतातर्फ लैजान सकिने उनले बताए ।

सूर्यको सीधा प्रकाश पर्दा पशु मलमुत्रमा हुने नाइट्रोजन नष्ट हुने भएकाले त्यसको भण्डारणमा ख्याल गर्नुपर्ने र हावामा छर्कदा पनि यसको पोषक तत्व नष्ट हुने भएकाले सिधै माटोमा मिल्ने गरी बालीमा हाल्नुपर्ने सुझाव बस्नेतको छ । कतिपय जिल्लामा कृषक आफैंले खेतीबारीमा मलमुत्र प्रयोग गर्ने र वैकल्पिक ऊर्जाको रूपमा पनि प्रयोग गरेको देखिन्छ ।

मलमुत्र व्यवस्थापन गर्ने कृषि विकास मन्त्रालयको भकारो सुधार कार्यक्रम सीमित जिल्ला र कृषकमाझ भए पनि लोकप्रिय छ । कतिपयले मानव मलमुत्रलाई पनि जैविक ऊर्जा उत्पादन र बालीनालीमा मलको रूपमा प्रयोग गर्ने गरे पनि बृहत् रूपमा मलमुत्र व्यवस्थापनको छुट्टै कार्यक्रम भने सरकारले लागू गरेको छैन । समाजले गाईभैंसीले दैनिक खाने दाना र पानीको मात्रासमेतको अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदनअनुसार डेढ वर्षभन्दा बढी उमेरको होलेस्टिन गाई र मुर्रा भैंसीले मात्र दैनिक सय लिटर पानी खान्छन् भने जर्सीहरूले ५० लिटर र लोकलले ४० लिटर पानी खान्छन् ।

एउटा उन्नत पशुले कम्तीमा दैनिक ३० लिटर मुत्र र १५ किलो गोबर दिने भएकाले मलमुत्रलाई खेतीपातीमा उपयोग गर्न सके कृषिउपज उत्पादनमा वृद्धि भई परनिर्भरतामा कमी आउने विश्वास समाजको छ । सरकारले १ अर्ब रकममात्र अनुदान दिए तत्काललाई सयभन्दा बढी पशुपालन गर्ने हजार ठूला फार्मको मलमुत्र व्यवस्थापन गर्न सकिने अध्यक्ष न्युरे बताउँछन् ।

हालै छुट्टै गठन गरिएको पशुपन्छी विकास मन्त्रालयले भने मलमुत्र व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याउन लागेको जनाएको छ । “संखुवासभामा बालीमा प्रयोगका लागि पशुमुत्र प्रतिलिटर ५ रुपैयाँमा किनबेच हुने गरेको पाइएको छ,” मन्त्रालयका सहसचिव डा. बंशी शर्माले भने, “व्यावसायिक फार्मबाट उत्पादन हुने मलमुत्र र साना कृषकको भकारो व्यवस्थापनका लागि आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याउनेछौं ।” वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जैविक ऊर्जा उत्पादनका लागि अनुदान कार्यक्रम सञ्चालनमा ल्याइरहेकाले त्यसबाट पनि लाभ लिन उनले कृषकलाई अनुरोध गरे ।

पशुपालन र खेतीपाती एक–आपसमा जोडिएको विषय भएकाले कृषि विकास र पशुपन्छी विकास मन्त्रालयले आपसी समन्वयमा मलमुत्र व्यवस्थापन र बालीका कार्यक्रम लैजानुपर्ने सुझाव कृषिविज्ञ डा. हरि दाहालको छ । “मन्त्रालय छुट्ट्याए पनि कृषि र पशुसँगै लैजानुपर्ने विषय हो, यसमा मन्त्रालयहरू गम्भीर बन्नुपर्छ,” उनले भने, “कृषकको उत्पादन, सहायक उत्पादन र उत्पादित वस्तुको बजारीकरणलाई पनि सँगै कार्यक्रम बनाएर लागू गरेमा मात्र कृषि विकासमा टेवा पुग्छ ।” सरकारले बहुसंख्यक साना किसानको जीवनस्तर उकास्ने र ठूला किसानमार्फत व्यवसायीकरण गरी उत्पादन वृद्धिका कार्यक्रम लागू गर्नुपर्ने उनको सुझाव छ ।

पशुपालन तथ्य
* देशभर गाईगोरु ७२ लाख र ५१ लाख भैंसी
* वार्षिक १७ लाख ३४ करोड दुग्ध उत्पादन
* व्यावसायिक दुग्ध उत्पादक फार्म ६ हजार
* व्यावसायिक रूपमा ३ लाख गाई र १ लाख भैंसीपालन
* एउटा उन्नत पशुबाट दैनिक ३० लिटर मुत्र र १५ किलो गोबर

रचनात्मक प्रतिक्रिया दिनुहोस् :