पहिलो विश्व किसान सम्मेलन राजधानीमा

यो समाचार 481 पटक पढिएको

काठमाडौं/ काठमाडौंमा आगामी जेठमा विश्व किसान सम्मेलन हुने भएको छ । विश्व किसान सम्मेलन आयोजक समितिका अनुसार आगामी जेठ २१ गतेदेखि तीनदिनका लागि पहिलो पटक नेपालमा यो सम्मेलन हुन लागेको हो ।

आयोजक समितिका संयोजक तथा खलि किसान संघका अध्यक्ष भैरवराज रेग्मीकाअनुसार उक्त सम्मेलनमा पचासभन्दा बढी मुलुकका किसानले सहभागिता जनाउनेछन् । विश्वभरका मुलुकमा समस्याको रुपमा देखापरेको साझा समस्याको बारेमा गहन छलफल र निराकरणका बिषयमा सम्मेलन केन्द्रित रहनेछ । समितिले आइतबार राजधानीको कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो ।

उनले संसारभरका कृषि योग्य जग्गा औद्योगिकीकरण र कर्पोरेट एग्रीकल्चरको नाममा वितरण हुँदा कृषि क्षेत्र नै ध्वस्त हुने खतरा उत्पन्न भएको औल्याए । “पूँजीको विकासको नाममा कर्पोरेट फार्मिङ जसरी सुरु भएको छ, यसले सिधै संसार भरबाट कृषि क्षेत्र ध्वस्त हुने खतरा निम्त्याएको छ’, उनले भने,‘यसले गर्दा हिजोका दिनमा कृषिमा आश्रित किसानहरु अहिले मजदुत बन्न बाध्य बनाएको छ । विश्व सम्मेलनमा प्रमुख मुद्दाको रुपमा कर्पोरेट फार्मिङ्ग र कर्पोरेट एग्रिकल्चरलाई उठाइनेछ ।’ उनकाअनुसार हाइब्रीड र मोनसान्टो बीउको बारेमा पनि सम्मेलनमा मुद्दा उठाइनेछ ।

अखिल किसान भारतीय सभाका अध्यक्ष तथा तयारी समितिका सदस्य बाबुराम शर्माकाअनुसार भारत सरकारको नव उदारवाद नीतिका कारण पछिल्लो समयमा सबैभन्दा बढी भारतीय किसान पीडित बनेका छन् । किसानबाट लाखौं हेक्टर कृषि योग्य जग्गा खोसेर कर्पोरेट एग्रीकल्चरको नाममा बितरण हुँदा १० लाखभन्दा बढीको संख्यामा किसान मजदुरको रुपमा शहर पसेको उनले जानकारी दिए । ‘मजदुरको रुपमा सहर पसेका किसानले त्यहाँ पनि रोजगारी पाउन सकेका छैंनन्’, शर्माले भने । उनकाअनुसार सुलभ रुपमा मल, बीउ, ऋण र सिंचाई उपलब्ध नहुँदा विरक्त भएर भारतमा साढे तीन लाख किसानले आत्महत्या गरेको र बर्षेनी यो क्रम थपिदैं गएको छ ।

बंगलादेशका किसान संगठनका नेता सज्जाद जाहिर चन्दनले बंगलादेशका किसानले पनि व्रिटिस शासन कालदेखि आफ्नो हक अधिकारको लागि आन्दोलन गर्दैआएको बताए । उनले विश्वभरका किसानले भोग्दै आएका समस्या विश्व सम्मेलनमा उठाइने जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :