उपत्यकाका ४७ स्थानबाट एलपी ग्यास बेचिने

यो समाचार 291 पटक पढिएको

काठमाडौं/ नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई सहज रुपमा खाना पकाउने ग्यास सिलिण्डर वितरण गर्न साताव्यापी वितरण सूची सार्वजनिक गरेको छ । संघले आइतबार पत्रकार सम्मेलनको गरेर खाना पकाउने ग्यास बितरण गर्ने स्थान र मिति सार्वजनिक गरेको हो ।

Gasसंघका अध्यक्ष शिब घिमिरेकाअनुसार साविक(नाकाबन्दी अघि) कै ग्यास विक्रेतामार्फत ग्यास बिक्री बितरण गर्ने व्यवस्था मिलाइएको छ । संघले उपभोक्ताले साविकमा साट्दै आएको र खरिद गर्दै आएको डिलरबाट आफुले साविकदेखि प्रयोग गर्दै आएको ब्राण्डको मात्रै सिलिण्डर साट्न वा खरिद गर्न आग्रह गर्दै सात दिनमा ४७ स्थानबाट उपत्यकाभरमा सिलिण्डर साट्ने व्यवस्था गरिएको सूची सार्वजनिक गरेको हो ।

जसअनुसार सोमबार भक्तपुर जिल्ला, मंगलबार नयाँ बानेश्वर, कोटेश्वर, वत्तिसपुतली, शंखमुल, माइतिघर, बुद्धनगर र बबरमहल क्षेत्रमा ग्यास वितरण गरिनेछ । आगामी बिहिबार पुरानो बानेश्वर, सिनामंगल, गौशाला, चावहिल, बौद्ध, चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल, नयाँ बस्ती क्षेत्रमा बितरण गर्ने व्यवस्था मिलाइएको छ ।

आगामी शुक्रबार ललितपुर जिल्ला र आगामी आइतबार न्युरोड, असन, लगनखेल, पुतलीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लीबजार, ज्ञानेश्वर र मैतिदेवी क्षेत्रमा ग्यास बितरण गर्ने योजना सार्वजनिक गरिएको छ ।

यसैगरी आगामी सोमबार कलंकी, थानकोट, वल्खु, कीर्तिपुर, सतुंगल, कालिमाटी, बाफल, बालाजु, सितापाइला र स्वयम्भु तथा आगामी मंगलबार महाराजगञ्ज, बुढानिलकण्ठ, गौंगबु, लाजिम्पाट, दरवारमार्ग, बालुवाटार, भाटभटेनी र धुम्बाराही क्षेत्रमा खाना पकाउने ग्यास बितरण गर्ने व्यवस्था मिलाइएको संघका अध्यक्ष घिमिरेले जानकारी दिए ।

संघले उपभोक्तासँग जुन ब्राण्डको सिलिण्डर छ, त्यही ब्राण्डको सिलिण्डर साट्न पाउने व्यवस्था गरेको छ । यसैगरी एक परिवारले एकथान मात्र सिलिण्डर लिन पाउने र उपभोक्तालाई एक थान सिलिण्डर वापत एक हजार चार सय रुपैयाँ मात्रै डिलरलाई उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :