धान आयातको शुल्क घटाउन माग

यो समाचार 322 पटक पढिएको

भैरहवा/ रुपन्देहीका चामल उद्योगीहरूले  भारतबाट चामल आयातमा लाग्दै आएको कृषि सेवा शुल्क  घटाउन माग गरेका छन् ।

Riceअहिले भन्सारले धान आयातमा कृषि शुल्कबापत ५ प्रतिशत कर लिने गरेको छ । अघिल्लो वर्षसम्म धान र चामल आयात गर्दा लाग्ने कृषि सेवा शुल्क समान ५ प्रतिशत भएकोमा धानको यथावत् राखी चामलको ८ प्रतिशत बनाइएको थियो ।

“हामीले सुरुदेखि नै धान आयात गर्दा लाग्ने कर कम गर्न माग गरिरहेका छौं । शून्यमा झार्न मिल्दैन भने कम्तिमा एकदेखि दुई प्रतिशतमा झारिदिन हाम्रो आग्रह छ,” सिद्धि विनायक एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राम थापाले भने, “यहाँका चामल उद्योग सबै भारतमा निर्भर छन् । यहाँ उत्पादन हुने धानले मागको ३० प्रतिशत पनि पुग्दैन ।”

रोहिणी एग्रो इन्डस्ट्रिज रुपन्देहीका सञ्चालक एवं सिद्धार्थ उद्योग वाणिज्य संघका एसोसिएट सदस्य दीपक पौडेलले धानमा लाग्दै आएको कृषि सेवा शुल्क बढी भएको र यसबाट भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । अहिले भारतबाट अत्यधिक चामल भित्रिएको छ । सबैभन्दा बढी धान बेलहिया नाकाबाट भित्रिएको छ । अहिले रुपन्देहीका ठूला चामल उद्योगसँगै साना चामल उद्योग पनि प्रभावित भएका छन् । “सबै उद्योग बचाउन सरकारले धानेको कृषि सेवा शुल्क घटाउनैपर्छ,” पौडेलले भने ।

चामल व्यवसायी महेश जैसवालले नेपालका चामल उद्योग बचाउने हो भने धानको कृषि सेवा शुल्क घटाउनैपर्ने तर्क गरे । भैरहवा क्षेत्रमा मात्रै तीन ठूला चामल उद्योगमा एक अर्ब रुपैयाँभन्दा बढीको लगानी छ । जिल्लामा सानाठूला गरी ३ सयभन्दा बढी चामल उद्योग रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव नेत्र आचार्यले बताए ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :