६५ अर्वको पोल्ट्री कारोबार

यो समाचार 320 पटक पढिएको

  • यो वर्ष कुखुराको संख्या ३० प्रतिशत घट्ने
  • कारोबार रकममा १० प्रतिशतले कमी आउने

Poultry
काठमाडौं,  देशमै एक मात्र आत्मनिर्भर व्यवसायको रुपमा स्थापित पोल्ट्री क्षेत्रान आर्थिक वर्षमा ६४ अर्व ६२ करोड ५७ लाख रकम बराबरको भएको छ । फार्मसँगको कारोबारको आधारमा तयार गरिएको एक अध्ययनले यो वर्ष भने वर्डफ्लु संक्रमणको कारण पोल्ट्री कारोबारमा करिव १० प्रतिशतसम्मले कमी आउने देखाएको छ । कच्चापदार्थ र मासुको मूल्यमा भएको वृद्धिले कारोबार रकम कमदेखिए पनि कुखुराको संख्यामा भने ३० प्रतिशतले कमी आउने अध्ययनको निष्कर्ष छ ।


नेपाल दाना उद्योग संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले गरेको नेपालमा पिवक्री हुने कुखुराको चल्ला, कुखुरा, दाना, अण्डा र मल लगाएतको विक्रीको अवस्थामाथि गरेको अध्ययनले यो वर्ष वर्डफ्लुको कारण कारोबारमा कमी आउने देखाएको हो । “वर्डफ्लुको कारण माउ कुखुराको समेत उत्पादन घटेकाले समग्र पोल्ट्री व्यवसायलाई नै नकारात्मक असर गरेको छ,” चितवन उद्योग वाणिज्य संघका अध्यक्ष समेत अनुसन्धानकर्ता भट्टराइले भने, “कच्चापदार्थमा मूल्य बढेका कारण समग्र कारोबार रकममा १० प्रतिशतले कमी आएको देखिनसक्छ तर कारोबारमा उल्लेख्य कमी आउने देखिन्छ ।” उनले २०५४ सालयता पोल्ट्रि कारोबारको वार्षिक रुपमा अध्ययन गरी अद्यावधिक प्रतिवेदत तयार गर्दै आएका छन् ।
अध्ययन प्रतिवेदनका अनुसार पोल्ट्रि क्षेत्रको समग्र कारोबार मध्ये गतवर्ष सबैभन्दा धेरै दानाको योगदान ४२ प्रतिशत छ । गतवर्ष देशभर २७ अर्व ७२ करोड ९६ लाख रकमको दाना विक्री भएको थियो भने पोल्ट्रीको ३३ प्रतिशत अर्थात् २० अर्व ९७ करोड ४९ लाख रकम बराबरको कुखुराको मासु विक्री भएको थियो । गतवर्ष अण्डाको कारोबार ११ अर्व रकम बराबरको थियो भने ४ अर्व २२ करोडको चल्ला र ७० करोडको कुखुराको सुली (मल) को कारोबार भएको तथ्यांक छ । अन्य सरकारी तथा गैरसरकारी संघसंस्थासँग भने पोल्ट्री क्षेत्रको यस्तो तथ्यांक छैन ।
राष्ट्रिक कुल ग्राहस्र्थ उत्पादनमा पोल्ट्रीको योगदान ४ प्रतिशत रहनु पोल्ट्री क्षेत्रको मुख्य उपलब्धी रहेको अध्ययनले देखाएको छ । दाना, चल्ला, ब्रोइलर मासु र अण्डामा आत्मनिर्भर हुनु, देशका दुर्गम गाउँसम्म ब्रोइलर कुखुराको मासु उपलब्ध हुनु र कुखुराको मलले रासायनिक मललाई विस्थापन गर्दै जानु थप उलब्धी हुन् । “आत्मनिर्भर ब्यवासाय बनेको पोल्ट्री राज्यको गैरजिम्मेवारीपनले गर्दा धरासयी हुदैछ,” भट्टराइले भने, “वर्डफ्लुबाट हजारौं कृषक–व्यवसायीको रोजगारी गुमेको छ, व्यवसाय नै तहसनहस भएको छ तर सरकार मुकदर्शक बनेर बसेको छ ।” करिव दुई दशकअघिदेखि नेपालमा व्यवसायीक रुपमा कुखुरा पालन हुन थालेकोमा एक दशक यता मासु उत्पादन देशभर फैलनुकासाथै कुखुराको संख्यमामा समते उल्लेख्य वृद्धि भएको देखिन्छ ।
गतवर्ष देशभर ८ करोड २४ लाख वटा कुखुरा उत्पादन गरिएको थियो । उत्पादित कुल कुखुराको संख्यामध्य व्यवसायीक ब्रोइलर मात्र ७ करोड वटा र ब्यवसायीक लेयर्स र १ करोड वटा थिए । त्यसैगरी गतवर्ष १४ लाख लेयर्स प्यारेन्ट र १० लाख ब्रोइलर्स प्यारेन्टको उत्पादन भएको थियो । आर्थिक वर्ष ०६८÷६९ मा जम्मा कुखुराको संख्या ८ करोड ५६ लाख थियो । “मुख्य उत्पादन केन्द्रमै र जैविक सुरक्षाको उपाय अपनाइएका फार्ममा पनि संक्रमण भेटिनु यो क्षेत्रको प्रमुख चुनौतिको रुपमा देखिएको छ,” अध्ययनमा भनिएको छ, “देशभर कखुरा उत्पादनको क्षेत्रलाई आधुनिकरण गर्दै आत्मनिर्भर व्यवसायलाई थप वृद्धि गर्दै लैजान जरुरी छ ।”

रचनात्मक प्रतिक्रिया दिनुहोस् :