दूध बेच्न ६ घन्टा पैदल

यो समाचार 250 पटक पढिएको

कुस्मा/ पर्वतको लेकफाँटका किसान दैनिक ६ घन्टा पैदल हिँडेर छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा दूध बेच्न जाने गरेका छन्।

Milknewsagro.comगाउँमा सडक पुगेको वर्षौं भए पनि सवारीसाधन नचल्दा उनीहरू पिठ्युँमा बोकेर दूध ढुवानी गर्न बाध्य छन् । गाउँमा यातायात र दूध संकलन गर्ने व्यवस्था नहुँदा दूधको भारी बोकेर बेनी आउने गरेको लेकफाँट गडेखोलाका बाबुराम रेग्मीले बताए। रेग्मीले लेकफाँटबाट बेनीमा दूध ल्याएर बिक्री गर्न थालेको १० वर्ष बितिसकेको छ। ४६ वर्षीय रेग्मीले बेनी आउन तीन घन्टा ओरालो र बेनीबाट घर फर्कन तीन घन्टा उकालो हिँड्नुपर्ने बाध्यता रहेको बताए।

पर्वतको धाइरिङ मिलनचोक हुँदै लेकफाँट जोड्ने सडक घुमाउरो, कच्ची, प्राविधिक हिसाबले कमजोर हुँदा न्यून मात्रामा सार्वजनिक यातायातका साधन चल्छन्। गाडी रिजर्भ गरेर अथवा आफैंले गाडी किन्न सक्ने अवस्था नहुँदा किसानलाई दूध ढुवानी गर्न समस्या भएको हो।

लेकफाँटका बाबुराम रेग्मी, शालीग्राम सुवेदी, नरहरि सुवेदी, मोहदत्त सुवेदी, हरिकला पौडेल र देवीकला सुवेदीले गाउँमा संकलन हुने दूध बेनीमा ढुवानी गर्दै आएका छन्। उनीहरूले आफ्नो घर र छिमेकीले उत्पादन गरेको दूध संकलन गरेर ग्यालिन र बोत्तलमा राखी बेनीका डेरी तथा उपभोक्ताको घरमा लगेर बेच्ने गरेका छन्।

केही समय चलेर बन्द भएको दुग्ध संकलन केन्द्र पुनः सञ्चालनमा ल्याउन सके धेरै राहत हुने किसानले बताएका छन्। लेकफाँटबाट बेनीमा दैनिक एक सय ८० लिटर दूध आउँछ। ढुवानीको समस्याले दुःख पाउने र समय धेरै खर्च हुनुका साथै दूधको उचित मूल्य पनि पाउन नसकेको किसान शालीग्राम सुवेदीले बताए। गाउँमा किसानले प्रतिलिटर ४० रुपैयाँका दरले दूध बेच्ने गरेका छन्।

बेनीमा ल्याएर ५० रुपैयाँ प्रतिलिटरका दरले बिक्री हुन्छ। बेनीमा दूध बेच्ने अन्य ठाउँका किसानले प्रतिलिटर ५७ रुपैयाँसम्म पाउँछन् । दूधको भारी बोकेर जंगल, भीर र खोल्साको बाटो हिँड्दा दुःख भएको सुवेदीको अनुभव छ। आयआर्जनको अन्य विकल्प नभएकाले उत्पादन गरेको दूध बिक्री गर्न भारी बोकेर बेनी आउनुपर्ने बाध्यता छ। लेकफाँटका ३० घरधुरीले व्यावसायिक रूपमा भैंसीपालन गरेर दूध उत्पादन गर्दै आएका छन्।

लेकफाँटमा केही वर्षअघि दूध संकलन केन्द्र स्थापना भए पनि केही दिन सञ्चालन भएर बन्द भएको थियो । जिल्ला पशु सेवा कार्यालयले दूध संकलन गर्ने र ढुवानी गर्ने सामान पनि दिएको थियो। दुग्ध संकलन केन्द्र पुनः सञ्चालनमा ल्याउन सके धेरै राहत हुने किसान नरहरि सुवेदीले बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :