घट्यो अदुवाको निर्यात

यो समाचार 372 पटक पढिएको

भैरहवा / भैरहवा भन्सारबाट निर्यात हुने कृषिजन्य उत्पादनमा एक नम्बरमा पर्ने अदुवाको निर्यात यस वर्ष निकै घटेको छ । गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यो वर्ष एक करोडले कम निर्यात भएको हो ।

GingerNews Agroगत आवको आठ महिनामा साढे ६ करोडको अदुवा भारत निकासी भएकोमा चालु आवको सोही अवधिमा यो नाकाबाट पाँच करोडको मात्रै निकासी भयो । आयातको तुलनामा निर्यात नगन्य रहेको कृषिजन्य बस्तुमध्ये बेलहिया नाकाबाट भारत निकासी हुनेमा अदुवा एक नम्बरमा पर्छ ।

विगत दुई वर्षदेखि अदुवाको निकासी पनि ओरालो लागेको छ । अघिल्लो आव २०७०/०७१ को दोस्रो चौमासिकमा २२ करोड ११ हजार टन अदुवा भारत निकासी भएकोमा गत वर्षको सोही अवधिमा जम्मा ६ करोड ५७ लाख ३९ हजारको निकासी भएको थियो । यो वर्ष निकासी अझै घटेको छ । साउनदेखि फागुनसम्मका आठ महिनामा पाँच करोड ८१ लाख ९५ हजारको दुई हजार ४८ मेट्रिक टन अदुवा भारत निकासी भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय बेलहियाले जनाएको छ ।

भैरहवास्थित बेलहिया नाका सबैभन्दा धेरै अदुवा निकासी हुने नाका हो । पश्चिमाञ्चलको पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासीको पहाडी भेग, सल्यान, दाङ, तनहुँ लगायत जिल्लाका किसानद्वारा उत्पादित अदुवा बेलहिया नाका हुँदै भारत निर्यात गरिन्छ । यो नाकाबाट विगत दुई वर्षदेखि अदुवाको निकासी ओरालो लागेको अधिकृत उमाशंकर पाठकले बताए । गत वर्ष नेपालमा उत्पादन राम्रो नहुँदा अदुवाको निकासी घटेको थियो भने यो वर्ष भारतमै उत्पादन बढेकाले निकासी घटेको व्यापारी बताउँछन ।

औषधीय गुण भएको अदुवालाई भारतमा प्रशोधन तथा औद्योगिक उत्पादनमार्फत बहुउपयोगी पाउडर, लिक्विड तथा पेस्ट बनाएर विभिन्न औद्योगिक उत्पादनमा प्रयोग गर्न तेस्रो मुलुक निर्यात गरिने जानकार बताउँछन् । अन्तर्राष्ट्रिय जगतमै अदुवाजन्य उत्पादनको माग बढ्न थालेपछि भारतले पछिल्ला वर्षमा अदुवा उत्पादनलाई जोड दिँदै किसानलाई अनुदान दिन थालेपछि भारतमै अदुवा उत्पादन बढेकाले नेपाली अदुवा निकासी घटेको भलवारीका अदुवा व्यापारी निरज जयसवालले बताए । आफ्नो उत्पादन बढेपछि भारतीय व्यापारीले नेपाली अदुवाको मूल्य निकै कम तोकेकाले निकासी प्रभावित भएको जैसवाललको भनाइ छ ।

नेपालमा प्रशोधनजन्य उद्योगको अभावमा किसानले कच्चा पदार्थको रुपमा सस्तोमा अदुवा भारत निकासी गर्न बाध्य भएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कुलप्रसाद न्यौपानले बताए । अदुवा, दालचिनी लगायत पहाडी जिल्लामा उत्पादन हुने मसला तथा औषधिजन्य जडीबुटी भैरहवासम्म ल्याएर प्रशोधन गरी भारत तथा तेस्रो मुलुक निकासी गर्न सकिने सम्भावना रहेको न्यौपानेको भनाइ छ ।

त्यस्ता उद्योग स्थापनाको सम्भावना भए पनि राजनीतिक अस्थिरता, विद्यमान ऊर्जा संकट लगायत समस्याले स्थापनाको प्रक्रियामा रहेका उद्योगको सञ्चालनमा समेत ढिलाइ भइरहेको उनले बताए । रुपन्देही तथा आसपासका जिल्लामा त्यस्ता उद्योग सञ्चालन गरे त्यसबाट पश्चिम नेपालको पहाडी र तराइमा उत्पादित अदुवाले स्वदेशमै राम्रो बजार पाउने र सस्तोमा भारत निर्यात भइरहेको अदुवालाई प्रशोधन तथा मसलाजन्य बस्तुको रुपमा बढी मूल्यमा निकासी गर्न सकिने व्यवसायीको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :