हावाहुरीले केराखेतीमा ठूलो क्षति

यो समाचार 142 पटक पढिएको

चितवन  / चितवनमा सोमबार अपराह्न आएको हावाहुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ।

चितवनको रत्ननगरसँगै चैनपुर, पिठुवा, पदमपुरलगायत क्षेत्रमा रहेका केरा बगानमा हावाहुरीले ठूलो क्षति पु¥याएको चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए।

उनको आफ्नै केराबगानमा समेत क्षति पुगेको छ। चैनपुरमा रहेको नौ विगाहा क्षेत्रमा लगाएको केराको आधाभन्दा बढी ढलेर नष्ट भएको पन्तले बताए। अन्य दर्जनौँ केरा किसानले क्षति भएको भनेर जानकारी दिएकाले विवरण सङ्कलन हुन नसकेको उनले बताए। आज विवरण सङ्कलन गरिने पन्तको भनाइ छ।

केरा व्यवसायीको बैठक बसी तथ्याङ्क सङ्कलनका लागि जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरेर आज अनुगमन गर्ने उनले बताए। केरा किसान यज्ञ सुवेदीले पनि आफ्नो नोक्सानी भएको बताए। चितवनको चैनपुरमा रहेको १२ विगाहाको प्लटमा करिब २/३ हजार जति केरा ढलेको भन्दै उहाँले यो हावाहुरीले नराम्ररी प्रभावित पारेको बताए। जिल्लामा सबैभन्दा बढी केराखेती उनकै छ । बर्सेनि यहाँ हावाहुरीले केरामा क्षति गर्दै आएको छ ।

छ वर्षअघि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत चितवनमा केराखेतीलाई प्रवद्र्धन गरिएपछि ६० करोड लगानी भइसकेको छ । जिल्लामा २०४७ सालदेखि केराखेती सुरु भएको थियो । २०५१ सालदेखि व्यावसायिक केराखेती सुुरु भएको चितवनमा पछिल्लो तथ्याङ्कमा दुई हजार २०० विगाहा जमिनमा खेती गरिएको छ।

किसानले झापाली मालभोग र विलियम हाइब्रिड जातको केरा लगाउँदै आएका छन् । उत्पादित केरा काठमाडौँ, बुटवल, पोखरा र नारायणगढ बजारमा खपत हुन्छ ।  जिल्लामा रहेका केरा कृषकमध्ये १२० जनाले मात्रै बिमा गरेकाले बिमा नगर्नेले क्षतिपूर्ति पाउन सक्दैनन् र अघिल्लो वर्ष चितवनमा कुल ४४ हेक्टरमा रहेको केराखेती नोक्सान हुँदा २ करोड ३८ लाख क्षति भएको थियो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :