आँपको मंजुरामा मधुवा किराको प्रकोप

यो समाचार 180 पटक पढिएको

सिराहा/ आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यो वर्ष आँप बढी उत्पादन हुने वर्ष भएपनि आँपको मंजुरा ९फूल०मा मधुवा किराले व्यापक क्षति पुर्याउन थालेपछि किसानहरु चिन्तित बनेका छन्।

आँप उत्पादनको दृष्टिले यो वर्ष बढी आँप उत्पादन हुने वर्ष भएपनि आँप फल्नु भन्दा पहिले नै मधुवा किराले मंजुरालाई सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन्। मधुवा किराको प्रकोप बढेपछि आँप बचाउने उपाय खोज्न किसानहरु सदरमुकामस्थित कृषि विकास कार्यालय धाउने गरेका छन्।

मधुवा किरा मार्न कुन औषधि कसरी छर्किने भन्ने कुरा थाहा नहुँदा बुझ्न कृषि विकास कार्यालय आएको सिरहाको गोलबजार नगरपालिका–७ का किसान श्यामसुन्दर चौधरी बताउँछन्। यस वर्ष आँप राम्रो फल्ने समय भएपनि मधुवा किरा र हावाहुरीले आँपको मजुरालाई क्षति पु¥याउन थालेपछि अपेक्षाकृत रुपमा आँप नफल्ने चिन्ता किसानलाई भएको छ।

आँपको राजधानी मानिने सिरहा र सप्तरीमा फल्ने आँप मुलुकको विभिन्न सहरका साथै भारत लगायतका छिमेकी मुलुकहरुमा निर्यात हुँदै आएका छन्। “यसपालि पात भन्दा बढी मंजुरा थियो, तर मधुवा किरा लागेर कालो हुन थालेको छ,” सप्तरीको सीतापुरका किसान राजेन्द्र विश्वकर्माले भने– “मधुवा किराले कमजोर पारेकाले हावा चल्ने बित्तिकै मंजुरा झर्न थालेको छ । समयमै औषधि छर्किन पाए मंजुरा बचाउन सकिन्छ।”

आँपको पकेट क्षेत्रको रुपमा पूर्व पश्चिम राजमार्गसँग टाँसिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सीतापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायतका क्षेत्र रहेका छन् । यस क्षेत्रमा आँपको घना बगैंचा छन्।
आँपको पकेट क्षेत्रमा मधुवा किराले मंजुरामा पु¥याएको क्षति बारे प्राविधिक टोली खटाएर स्थलगत जानकारी लिने काम भइरहेको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख रामलखन मण्डल बताउँछन्।

मधुवा किरा हावा र माटोको माध्यमबाट एक बोटबाट अर्को बोटमा सर्ने गरेको बताउँदै प्रमुख मण्डल भने – “आँपलाई मधुवा किराबाट जोगाउन किसानलाई आवश्यक परामर्शसँगै निःशुल्क औषधिसमेत प्रदान गरेपछि मधुवा किराको प्रकोप धेरै हदसम्म नियन्त्रणमा आएको छ ।”

गत वर्ष २० प्रतिशत आँप उत्पादन भएपनि यस वर्ष बढी उत्पादन हुने कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिए। यस वर्ष मन्जरी सप्रियो भने एक अर्ब रुपैयाँभन्दा बढीको आँप उत्पादन हुने संभावना रहेको जिल्ला कृषि विकास कार्यालय सिरहाको अनुमान छ । जिल्लामा चार हजार ९ सय ५० हेक्टर जग्गामा आँप खेती हुँदै आएको छ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष सिरहामा साढे सात मेट्रिक टन प्रतिहेक्टर आँप उत्पादन भएको थियो। यो वर्ष १८ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुने अनुमान गरिएको छ।

यस्तै, सप्तरीमा कुल ५ हजार हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुँदै आएको छ। मधुवा किरा र हुरीबतासले मंजुरामा क्षति पु¥याएपनि यो वर्ष आँप उत्पादन हुने वर्ष भएकाले सप्तरीमा यस वर्ष ५ हेक्टर क्षेत्रफलमा ४० हजार मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :