५४ बर्षपछि राष्ट्रिय खाद्य स्वच्छता नीति आउदै

यो समाचार 457 पटक पढिएको

काठमाडौं / सरकारले नेपालमा पहिलोपटक राष्ट्रिय खाद्य स्वच्छता नीति ल्याउने तयारी गरेको छ । विश्वभरका मुलुकले खाद्य पदार्थ तथा मानव स्वास्थ्यसँग जोडेर खाद्य स्वच्छता नीति (फुड सेफ्टी पोलिसी) तयार पारेर कार्यान्वयनमा ल्याएको दशकौं बितिसकेको अवस्थामा नेपालमा भने हालसम्म यो नीति छैंन् ।
Dftqcकृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग स्थापना भएको ५४ बर्षपछि उक्त विभागले यो नीति ल्याउने तयारी गरेको हो । विभाग २०१८ सालमा स्थापना भएको थियो । विभागले अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्था(इफ्रि)को सहकार्यमा नीतिसम्बन्धी खाका (ड्राफ्ट) तयार गरेको छ । नेपाल विश्व व्यापार संघ(डब्लुटीओ), खाद्य बस्तुसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड बनाउने संस्था(कोडेक्स) र इन्फोसानको सदस्य राष्ट्र भइसकेको अवस्थामा नीति ल्याउन लागेको हो ।

विभागमा महानिर्देशक संजिवकुमार कर्णकाअनुसार खाद्य स्वच्छता नीति नहुँदा समय सुहाउदो खाद्य ऐन र खाद्य स्वच्छता नियमावली परिमार्जन कठिनाई भएको छ । खाद्य स्वच्छता नीति नहुँदा खाद्य, पेयजन्य, माछामासुजन्य, कस्मेटिक्स, जडिबुटीजन्य, अल्कोहोलिकजन्य पदार्थको कडाईका साथ नियमन गरेर कानुनी दायरामा ल्याउन समस्या भएकाले नीति ल्याउन लागिएको महानिर्देशक कर्णले जानकारी दिए ।

‘नीतिको आधारमा पुराना खाद्य ऐन, खाद्य नियमावलीलगायतका अन्य नियमावली खारेज गरेर समय सुहाउदै नयाँ ऐन र नियमावली ल्याउने गृहकार्य पनि सुरु गरेका छौं’, महानिर्देशक कर्णले अन्नपूर्ण पोष्टसँग भने । विभागकाअनुसार तयार भएको नीतिको खाकालाई हाल कायम भएको सात वटै प्रदेशमा लगेर सुझाव संकलन गरिनेछ । सुझावको आधारमा नीतिलाई अन्तिम रुप दिएर आगामी बैशाखमा मन्त्रालयमा प्रस्ताव गरिनेछ ।

विभागकाअनुसार नीति कार्यान्वयनमा आएपछि घरेलु, साना, मझौला, ठूलो खाद्य उद्योग र आपूर्ति श्रृखलाका सबै सरोकारवालालाई विभिन्न समूहमा वर्गीकरण गरिनेछ । खाद्य पदार्थमा हुने विभिन्न प्रकारका बिषादी, रसायनिक पदार्थ, प्रति जैविक तथा वातावरणीय प्रदुषणको जोखिमको पहिचान, परीक्षण गरेर त्यस्ता बस्तुको अवशेषको तोकिएको मापदण्डभित्रै राख्न अधिकतम सिमा निर्धारण गरेर निगरानी गरिनेछ । साना मझौला खाद्य उद्योग तथा व्यवसायमा असल स्वस्थ्यकर अभ्यास(जीएचपी), असल उत्पादन अभ्यास(जीएमपी), असल कृषि अभ्यास(जीएपी), असल पशु औषधि अभ्यास(जीभिपी)लगायतलाई कडाईका साथ कार्यान्वयनमा ल्याइनेछ ।

यसैगरी उच्च जोखिमयुक्त खाद्य उद्योगमा पाँच बर्षभित्र र जोखिमयुक्त खाद्य पदार्थ उत्पादन गर्ने ठूलो उद्योगमा दुई बर्षभित्र जोखिम विश्लेषण तथा संवेदनशिल नियन्त्रण विन्दु(हास्प) व्यवस्थापन प्रणाली अनिवार्य रुपमा कार्यान्वयनमा ल्याइनेछ । उद्योगहरुमा धेरै चरणमा प्रशोधनहरु हुन्छन् । विभिन्न चरणको प्रशोधनमध्ये कुनै प्रशोधन विधि निक्कै जोखिमयुक्त हुन्छन् । त्यस्ता जोखिमयुक्त प्रशोधन विधिलाई हास्प व्यवस्थापन प्रणालीभित्र राखेर उद्योगले मानवस्वास्थ्यलाई हानी नगर्ने खाद्य पदार्थ उत्पादन गर्नुपर्छ ।

नीतिको माध्यमबाट कार्यान्वयनमा आएपछि बजारमा आउने खाद्य पदार्थको उत्पतिको पहिचानको सुनिश्चित गरेर जोखिमको आधारमा त्यस्ता पदार्थ फिर्ता लिने व्यवस्था पनि सरकारले गर्दैछ । खाद्य पदार्थको निर्यात प्रमाणिकरण अन्तर्राष्ट्रिय मापदण्डका आधारमा गरेर खाद्यसम्बन्धी कानुन अनुसार नियमन क्षेत्रभित्र नपर्ने आयातित बस्तु तथा उत्पतिका मुलुकको पहिचान गरेर नियमन क्षेत्रभित्र ल्याइने व्यवस्था नीतिमा गरिएको छ । खाद्य पदार्थको आयात निर्यातको जोखिममा आधारित निरीक्षण प्रणाली कार्यान्वयनमा ल्याएर विभिन्न मुलुकबाट आयातित खाद्य पदार्थको नियमन र स्वदेशमा उत्पादन भएका खाद्य पदार्थको नियमनमा एकरुपता हुनेगरी मापदण्ड तयार पार्ने व्यवस्था पनि गर्न लागिएको छ ।

नीतिमार्फत छुट्टै स्वायत्त तथा स्वतन्त्र खाद्य प्राधिकरणको स्थापना गर्न अन्तरमन्त्रालयको सहकार्यमा खाद्य स्वच्छता परिषद स्थापना गरिनेछ । अल्कोहोलिक पेय, आनुवंश परिवर्तित खाद्य पदार्थ (जीएम फुड्स), फङ्गसनल फुड्स, न्युट्रासुटिकल्स तथा नव विकसित खाद्य पदार्थको नियमनका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नीति तथा कानुन तयार पारिनेछ । नीतिको सहयोगमा स्थानीय, प्रादेशिक, स्थानीय तहमा खाद्य नियमन कार्यालयको स्थापना गरिनेछ ।

विभागले नीतिमार्फत नौलौ खाद्यजन्य रोगव्याधी, मिसावट, दूषित खाद्य पदार्थको प्रभाव तथा बिश्लेषणसम्बन्धी सोध कार्य गर्ने र खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी शोध गर्नका लागि विश्वविद्यालय, अनुसन्धान केन्द्रलाई प्रोत्साहन गर्ने व्यवस्था पनि अवलम्वन गर्न लागेको छ । यसैगरी खाद्यजन्य रोगव्याधी तथा महामारीसम्बन्धी जानकारी प्राप्त भएमा तत्काल निराकरण गर्नका लागि फुड ईपिडिमियोलोजी महाशाखा स्थापना गरिनेछ । ‘नीतिमार्फत उद्योगीले आफै खाद्य उत्पादनमा स्वनियमन गर्ने विधि अपनाएर उत्पादन गरिएको पदार्थको स्वच्छताको ग्यारेन्टी दिनुपर्छ’, महानिर्देशक कर्णले भने,‘यसले गर्दा उद्योगबाटै गुणस्तरीय र स्वच्छ खाद्य पदार्थको उत्पादन हुन्छ ।’

खाद्य स्वच्छता दिवस सम्पन्न
खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले शुक्रबार विभिन्न कार्यक्रमका साथ आठौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाएको छ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले दिवसको उदघाट्न गर्दै मानव स्वास्थ्यसँग खेलवाड गर्ने गरी कुनै पनि खाद्य तथा पेयजन्य पदार्थ बिक्रि बितरण गर्न नपाइने बताए । उनले व्यवसायीले मानव स्वास्थ्यलाई जोखिममा पर्नेगरी खाद्य तथा पेयजन्य पदार्थ उत्पादन गर्दैआएको जानकारी गराउदै त्यस्ता व्यवसायीमाथि कडाईका साथ कारवाही गर्न विभागलाई निर्देशन दिए ।

मन्त्री गजुरेलले खाद्य स्वच्छता सचेतनाका लागि सामूहिक पहल आवश्यक रहेको औल्याए । सामुहिक पहलका लागि विद्यार्थी, राजनीतिक दलका नेतादेखि प्रधानमन्त्रीसम्मको भूमिका आवश्यक भएको उनले बताए । खाद्य स्वच्छता अन्तरसम्वन्धित विषय भएकाले विभाग र मन्त्रालयको एक्लो प्रयासले मात्रै सार्थकता पाउन नसक्ने उनको भनाइ थियो ।

कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भटटराइले खाद्य स्वच्छताका विषयमा विगतमा कमीकमजोरी भएको स्वीकार गर्दै पछिल्लो समय आवश्यक नीतिगत सुधारमा मन्त्रालय लागिरेहको बताए । विभागका महानिर्देशक संजिवकुमार कर्णले विभागले खाद्य स्वच्छता नीतिको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र सरोकारवालासँग छलफलको क्रममा रहेको बताए । उनले नीतिगत अवरोध, जनशक्ति र भौतिक पूर्वाधारको अभावमा अपेक्षाअनुसार विभागले काम गर्न नसकेको गुनासो गरे ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले खाद्य प्रविधि विभागलाई साधन श्रोत र अधिकार सम्पन्न बनाउनुपर्ने सुझाव दिए । विभाग वलियो नभएसम्म उपभोक्ता वलियो नहुने भन्दै खाद्य प्रविधिसँग सम्वन्धित छुटटै प्राधिकरण स्थापनामा महर्जनले जोड दिए । उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष ज्योति वानियाले खाद्य स्वच्छता नीति तत्काल तर्जुमा गरी कार्यान्वयनमा ल्याउन र सम्वन्धित ऐन कानुनहरु समयसापेक्ष सुधार गर्न माग गरे । साथै उनले खाद्य प्राविधिक र वैज्ञानिकहरुको दर्ताका लागि काउन्सिलको स्थापना गरिनुपर्ने बताए ।

डाबर नेपाल बर्षको उत्कृष्ठ उद्योग
दिवसको अवसरमा यो बर्ष सबैभन्दा उत्कृष्ट तथा स्वच्छ खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको रुपमा रामपुर टोकनी बाराको डाबर नेपाललाई बर्षको उत्कृष्ठ उद्योगको रुपमा घोषणा गर्दै बिभागले सम्मान गरेको छ । यसैगरी साना तथा घरेलु उद्योगतर्फ काठमाडौंको प्लानेट कफी स्टेट र होटेलतर्फ धादिङ्गको मलेखुस्थित पिस हेभेन रेष्टुरेन्टलाई उत्कृष्ठ भएको भन्दै सम्मान गरिएको थियो । यसैगरी विभागले मन्त्रालयका सचिब उत्तम भट्टराई, बिभागका पूर्व महानिर्देशक जीवनप्रभा लामा, पूर्व निमित्त महानिर्देशक रिता पाण्डे र नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) लाई सम्मान गरेको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :