संसारबाट केरा ‘सखाप’ हुने खतरा !

यो समाचार 182 पटक पढिएको

मणि दाहाल

काठमाडौं/  सबैभन्दा स्वादिष्ट र पोसिलो ‘ग्रस माइकल’ जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भयो। ‘पानामा डिजिज’ नामक ‘फंगस’ (ढुसी) को फैलँदो संक्रमणले क्याभेन्डिस जातको केरा पनि विश्वबाटै हराउने खतरा एक अध्ययनले औंल्याएको छ।

Bananaनेदरल्यान्ड्सस्थित एक विश्वविद्यालयले गरेको अध्ययनले क्याभेन्डिस प्रजातिको केरामा पानामा डिजिजकै नयाँ प्रजातिको कीटाणुयुक्त ‘ट्रपिकल रेस फोर’ नामक ढुसी संक्रमण अत्यधिक देखिएको छ। ग्रस माइकललाई सखाप पार्ने पानामा डिजिजको ‘ट्रपिकल रेस वान’ ले यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन जसकारण अहिलेसम्म यो जातको केरा व्यावसायिक रूपमा चल्तीमा छ। अहिलेसम्म विश्वबजारमा आयातनिर्यात हुने केराको ९९ प्रतिशत भाग यसैले ओगटिरहेको छ।

ट्रपिकल रेस वानकै परिवर्तित प्रजाति ‘ट्रपिकल रेस फोर’ ले भने क्याभेन्डिसमाथि पनि धावा बोलिसकेको छ। अध्ययनअनुसार दक्षिणपूर्वी एसियाली देशमा नब्बेको दशकबाट क्याभेन्डिसमा यो संक्रमण देखिएकोमा अहिले अफ्रिका र अस्ट्रेलियाका केरामा समेत फैलिएको पाइएको छ। नेदरल्यान्ड्सको वेजनिङ विश्वविद्यालयको अध्ययनले यो संक्रमण ल्याटिन अमेरिकी देशसम्म फैलिएपछि लोप हुन कति समय लाग्ने भनी निर्धारण हुने जनाइएको छ।

संसारमा उत्पादन हुनेमध्ये ८२ प्रतिशत क्याभेन्डिस केरा ल्याटिन अमेरिकी देशमै उत्पादन हुन्छ। विश्वभर उत्पादन हुने यस जातको केरामध्ये ४७ प्रतिशत अंश क्याभेन्डिसको भए पनि विश्वबजारमा निर्यात हुने केरामा ९९ प्रतिशत हिस्सा ओगट्छ। विश्वबजारमा ७ अर्ब अमेरिकी डलरको केराको बजार छ।

विश्वमा एक हजार प्रजातिका केरा खेती गरिँदै आए पनि अरू स्थानीय स्तरमै खपत हुने गरेको छ। नेपालमा कम्तीमा ३० प्रजातिका केरा पाइन्छ। यहाँ पनि मालभोग र क्याभेन्डिस जातको केरा मात्रै व्यावसायिक उत्पादन हुन्छ। एकपटक ढुसी संक्रमित माटोमा पानामा डिजिज कीटाणु कम्तीमा ३० वर्ष बाँच्ने गर्छ। त्यस अवधिसम्म केराखेती गर्न सकिँदैन। ढुसी क्वारेन्टाइन र अन्य जैविक सुरक्षा विधि अपनाउँदा पनि खासै प्रगति नभएको बताइएको छ। यो रोगको नियन्त्रणका लागि कुनै पनि रसायन र औषधि विकास भएको छैन।

पानामा डिजिज समस्या क्याभेन्डिसमा मात्र होइन, अन्य जातका केराका स्थानीय प्रजातिमा समेत देखिएको अध्ययनले जनाएको छ। यो ढुसीले केराको पानी आपूर्ति गर्ने प्रणाली ध्वस्त पर्छ। त्यसपछि केराको बोट बिस्तारै सुक्दै गएर मर्छ। नेपालमा पनि व्यावसायिक उत्पादकले क्याभेन्डिस प्रजातिको केरा लगाउने गरेका छन्। कोसी नदीआसपास जिल्ला र पश्चिम नेपालमा क्याभेन्डिस प्रजातिको केराखेती बढी रहेको त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि विभागका सहप्राध्यापक डा. गिरि त्रिपाठीले भने।

नेपालका ६८ जिल्लामा केराखेती हुने गरे पनि व्यावसायिक रूपमा भने तराईका केही जिल्लामा मात्र भइरहेको छ। ‘विदेशबाट आयात हुने केरा नै हाम्रोमा ढुसी भिœयाउने प्रमुख कारण हुन सक्छ,’ डा. त्रिपाठीले भने, ‘अहिले हुँदै आएको खुलमखुला आयात कसरी व्यवस्थित गर्ने हो, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ।’

उनले प्रशोधित केरा नेपाल भिœयाउने व्यवस्था गर्नुपर्ने बताए। ‘सुत्लासहित केरा ल्याउने गरिएको छ। त्यसले पनि जीवाणु भिœयाउन सक्छ, त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनको भनाइ थियो।

साठीको दशकमा इन्डोनेसियामा देखिएको पानामा डिजिजको ट्रपिकल रेस फोर ढुसी ताइवान, चीन हुँदै दक्षिणपूर्वी एसियाली देशमा फैलिएको थियो। ती देशमा लाखौं हेक्टरमा लगाइएको केराखेती यही रोगका कारण नष्ट भएको समाचार एजेन्सीले जनाएका छन्। फिलिपिन्समा यसले हालै महामारीको रूप लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सन् २०१३ पछि दक्षिणपूर्वी एसियाबाट यो ढुसी अफ्रिका महादेश र मध्यपूर्व तथा दक्षिण एसियामा समेत आइपुगेको छ। एसिया प्रशान्त क्षेत्र, अफ्रिका, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा बढी मात्रामा केरा उत्पादन हुने गरेको छ। वर्षमा १ खर्ब कोसा केरा मानिसले उपभोग गर्दै आएका छन्। केरालाई स्वादिष्ट मात्रै नभएर स्वास्थ्यवर्द्धक, पौष्टिक आहारका रूपमा समेत लिइन्छ। विश्वका ५० करोडभन्दा बढी मानिस प्रोटिनको प्रमुख स्रोतका रूपमा केरा उपभोग गर्छन्।

पानामा डिजिजबारे जानकारी दिन तयार पारिएको वेबसाइटले पाकिस्तानमा समेत क्याभेन्डिस केरामा ट्रफिकल रेस फोर देखिएको जनाउँदै उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ। भारतमा भने अहिलेसम्म पानामा डिजिजको ट्रपिकल रेस वान मात्रै छ। नेपालमा पनि केराको माग आन्तरिक उत्पादनले धान्न सक्ने नरहेकाले भारतबाट केरा आयात हुने गरेको छ।

‘नेपालमा मालभोग केरामा मात्रै पानामा डिजिजजस्तो लक्षण देखिएको छ, यस विषयमा अनुसन्धान हुँदैछ,’वनस्पतिशास्त्री डा. त्रिपाठीले भने, ‘रोगका लक्षण हेर्दा पानामा डिजिजजस्तै देखिए पनि डिएनए परीक्षण रिपोर्ट नआउन्जेल यस्तो भन्न सकिने अवस्था छैन।’ त्रिभुवन विश्वविद्यालय ल्याबमा यसको परीक्षण भने भइरहेको छ। ‘पानामा डिजिज नहोस् भन्ने हाम्रो कामना हो,’ डा. त्रिपाठीले भने, ‘तर हामीले यो रोग नभित्रियोस् भनेर विशेष सतर्क हुनुपर्ने समय आइसकेको छ।’

बजारमा केरा पठाउँदा अहिले पठाउने विधिलाई पूर्ण रूपमा हटाउनुपर्ने उनले बताए। ‘केरालाई प्रोसेस गरेर मात्रै पठाउनुपर्छ,’ त्रिपाठीले भने, ‘अहिलेका केराको गाना लगेर अर्को ठाउँमा रोप्ने कार्य रोक्नुपर्छ। नेपालमा भित्रन नदिने हो भने जनचेतना जगाउने र यसबारे अनुसन्धान आवश्यक छ।’

अधिकांश केराका बिरुवा बीजबाट नभई क्लोनबाट प्राप्त हुन्छ। त्यसमा कीटाणुको सुरक्षा लामो समय हुने भएकाले यसले विश्वभरको केराको खेतीमा रोग महामारी जोखिम अझ उच्च रहने गरेको छ। पानामा डिजिजको नयाँ संस्करण ‘ट्रपिकल रेस फोर’ का कारण केरा आपूर्ति नै प्रभावित हुन सक्ने निष्कर्ष निकालेको संयुक्त राष्ट्रसंघले ल्याटिन अमेरिकी देशका केरा उत्पादकलाई जोखिम कसरी कम गर्न आवश्यक छ भन्ने कदम चाल्न आग्रह गरेको छ। केरा खेतीमा विश्वभरका लाखौं मानिस संलग्न छन्। नयाँ रोगका कारण करोडौं मानिसको जनजीविका प्रभावित हुने अनुमान छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :