गाँजरखेतीले रोक्यो विदेश जान

यो समाचार 308 पटक पढिएको

मकवानपुर /वैदेशिक रोजगारीमा जान तीन लाख रुपैयाँ सकाएर पनि विदेशिन नसकेपछि सिंहबहादुर राना गाँजर खेती गर्न थाले। भीमफेदीको जुरिखेतमा गाँजर उत्पादन गरेर बिक्री गर्दै आएका ३८ वर्षीय रानालाई आजभोली गाँजरको जुस बनाएर बेच्न भ्याइनभ्याइ छ।

gajar‘यसअघि पाँच वर्ष मलेसिया बसेको थिएँ,कमाएर ल्याएको पैसा पुनःविदेश जाने चक्करमा सकिएपछि गाँजर खेती थालेको हुँ’ , रानाले भने, ‘अहिले आफ्नै बारीको गाँजरको जुुस बनाएर बेच्छु, दैनिक ६/७ हजार रुपैयाँ कारोबार हुन्छ।’

उनले गाँजरको जुस बेचेर गाडी र जमिन पनि जोड्न भ्याएका छन् । विदेशमा गरिने दुःख आफ्नै खेतबारीमा गरे विदेशिनु नपर्ने उनको अनुभव छ । गाँजरको जुस र गाँजर बेचेरै दुई छोराछोरी पढाउनुका साथै केही पैसा समेत बचत गरेका छन्।

ढलकबहादुर थापाले पनि जीवनको ऊर्जाशील साढे छ वर्ष विदेशमा बिताए । चार वर्ष मलेसिया, दुई वर्ष दुबइ र चार महिना कतारमा रोजगारीको क्रममा बिताएका ४० वर्षीय थापाले विदेशमा बसेर घर खर्च धान्ने बाहेक अरु प्रगति गर्न सकेनन्।

‘मलाई विदेश सम्झन मन पनि छैन, त्यहाँको दुस्ख र कमाइको तुलाना गर्न सकिँदैन’, ८ वर्षदेखि गाउँमै गाँजर खेती गरेर बसेका थापा भन्छन्, ‘विदेशको कमाइलाई गाँजर खेतीले नै जितेको छ।’

कतार बसाइका चार महिनापछि नै स्वदेश फर्किएका उनले चार रोपनी जग्गामा गाँजर खेती सुरु गरेका थिए । ‘तीन छोरा र एक छोरीको पढाइ, घर खर्च धानेर वार्षिक दुई लाख रुपैयाँ जति बचत गर्छु’ ,उनले भने ,‘विदेशमा देश घुम्ने र दुःख पाउने काम बाहेक अरु केही भएन।’

विदेशबाट फर्किएछि उनीजस्तै एक दर्जन युवा गाँजर खेतीमा लागेका छन् । जुरिखेतका जम्मा पाँचजना युवामात्र विदेशमा रहेको उनले बताए । ‘गाँजर खेती गर्न जग्गा नभएका र कमैमात्र जग्गा भएका पाँचजना युवामात्र गाउँबाट विदेश गएका छन्, अरु सबै गाँजर खेतीको आम्दानीबाट सन्तुष्ट जीवन बिताइरहेका छन्’,उनले भने।

गाँजर खेतीले युवालाई विदेशिनबाट रोकेको भीमफेदी गाविस सहायक प्रवीण थापाले बताए। ‘विदेशबाट फर्किनेले त गरेकै छन्, व्यावसायिक गाँजर खेतीले युवालाई विदेशिनबाट समेत रोकेको छ’ ,थापाले भने।

मगर समुदायको बाहुल्यता रहेको जुरिखेतमा ४५ घर छन् । हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाडौ छोटो दूरीको मार्गबाट यात्रुबहाक साना सवारी ९टाटा सुमो० सञ्चालन हुन थालेपछि एक दसक अघि यहाँका स्थानीयले गाँजर खेती सुरु गरेका थिए।

‘सुरुमा मैले नै गाउँमा गाँजर खेती सुरु गरेको थिएँ, अहिले गाउँ नै गाँजरले धानेको छ’,स्थानीय सिताराम थापाले भने, ‘सडक छेउमा राखेर गाँजर बेच्छौं, बचेको मात्र हेटौंडा बिक्रीका लागि पठाउँछौं ।’ १० रोपानी जग्गामा गाँजर खेती गर्दै आएका थापाले भने, ‘सबै खर्च कटाएर वार्षिक चार लाख रुपैयाँ जति बचत हुन्छ।’

गाँजर खेती गर्नुपूर्व मकै कोदो खेतीबाट वर्षको आठ महिना खान पनि नपुग्ने उनको अनुभव छ । ‘वर्षभरी नै गाँजर खेती हुने भएकाले अन्यत्र ध्यान दिनु पर्दैन, मन लगाएर खेती गर्नेले राम्रै आम्दानी गरेका छन्’,थापाले भने।

जुरिखेतको गाँजरले जिल्लालाई गाँजरमा आत्मनिर्भर बनाउन सहयोग गरेको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ। ‘हामी अन्य जिल्लामा गाँजर बिक्री गर्छौ’ ,जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले भने, ‘प्रांगारिक गाँजर उत्पादन गर्न जुरिखेतमा उपयुक्त हुने गाँजर खेती परीक्षणको क्रममा छ।’

विदेश जान रोक्न अनुदान
जिल्ला कृषि विकास कार्यालय मकवानपुरले रोजगारीका लागि विदेशिन खोज्ने युवालाई स्वदेशमै रोक्न कृषिमा अनुदान दिन थालेको छ।

कार्यालयले यस वर्षमात्र यस्ता ६० जना युवा छनोट गरेको कार्यालय प्रमुख निर्मल गदालले बताए। ‘विदेशबाट फर्किएका र विदेश जाने तयारीमा रहेका युवालाई स्वदेशमै व्यविसायिक तरकारी खेतीमा आकर्षित गर्न प्रतियुवा ४० हजार रुपैयाँका दरले अनुदान दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ’ ,गदालले भने ,‘यो कार्यक्रममा अर्को वर्ष थप युवालाई समेट्ने लक्ष्य छ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :