डेरी क्षेत्रलाई सहयोग गरिनेः पशुमन्त्री

यो समाचार 329 पटक पढिएको

काठमाडौं/ पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले दुध तथा दुग्धजन्य व्यवसायको प्रवद्र्धनका लागि मन्त्रालय दुग्ध किसान तथा डेरी उद्यमीलाई सहजीकरण गर्न तयार रहेको बताएकी छिन् ।

Santa manviदुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भरका लागि मन्त्रालयले नीतिगत तथा व्यवहारिक समस्या फुकाउँदै जाने उनको भनाइ छ । केन्द्रिय दुग्ध सहकारी संघद्धारा बुधबार राजधानीमा आयोजित दुग्ध क्षेत्रमा देखिएका समस्या र चुनौती विषय कार्यशालाको उद्घाटन गर्दै मन्त्री मानवीले यस्तो बताएकी हुन् ।

मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले दुग्ध क्षेत्रका समस्या समाधानका लागि बुँदागतरुपमै सुझाव प्रस्तुत दिन आग्रह गरे । उनले दुग्ध किसान तथा डेरी क्षेत्रमा अनुदान, सहुलियत कर्जा, विद्युत, मूल्य अभिबृद्धिकर, विद्युत सहुलियत लगायतलगायतका विषयमा अर्थ मन्त्रालयलगायतका निकायहरुमा लविङ गर्न मन्त्रालय तयार रहेको बताए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमितकुमार केडियाले मिल्क होलिडेको समस्या समाधानका लागि डेरी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुने वातावरण बनाउन आग्रह गरे । लोडसेडिङ तथा अन्य लागत खर्चका कारण हाल नेपालका डेरी उद्योगहरुले क्षमताको ४० प्रतिशतमात्रै उत्पादन गरिरहेको भन्दै उनले ९० प्रतिशतसम्म मूल्य अभिबृद्धिकर(भ्याट) छुटको माग गरे । नेपाल डेरी उद्योग संघका अध्यक्ष प्रदीप महर्जनले मिल्क होलिडेको समस्या समाधानका लागि पाउडर प्लान्टको स्थापना र विस्तारमा जोड दिए ।

केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले कार्यपत्र प्रस्तुत उत्पादन लागत बढी भएकोले लागत र आम्दानीबीच ठूलो अन्तर हुँदा किसानहरु पेशाबाटै पलायन हुने क्रम बढ्दै गएको बताए । दुग्ध नीति कार्यान्वनयमा जोड दिँदै उनले उन्नत पशु श्रोत केन्द्रको अभाव, लगानी समस्या, नीति नियम कार्यान्वयनमा जटिलता, नाममात्रको सुलभ कर्जा, महँगो पशुदाना,घाँसखेतीका लागि जमिनको अभावलगायतका समस्याका कारण पशुपालनमा आकर्षण घट्दै गएको बताए ।

सरकारले बीमाको व्यवस्था गरेपनि अझै पनि लक्षित समूहको पहँुचमा नरहेको भन्दै उनले स्थानीय सहकारीहरुले पशुवीमा गर्ने नीतिगत व्यवस्था हुुनुपर्ने बताए । सो अवसरमा कृषक प्रतिनिधिहरुले सरकारी अनुदान र सहुलियतलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए । दुधको उत्पादन लागत बढी भएको भन्दै प्रतिलिटरका आधारमा अनुदानको व्यवस्था गरिनुपर्ने उनीहरुको माग थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :