गाईपालनले फेरियो गढीको मुहार

यो समाचार 358 पटक पढिएको

मकवानपुर, १३ फागुन / हरिप्रसाद दाहाल बिहान चार बजे नै उठ्छन्, ५स्३० बजेसम्म १२ वटा गाईको दूध दुहिसक्छन्। मकवानपुर गढी गाविस–६ मक्रान्चुलीका ५८ वर्षीय दाहालको यो दैनिकी हो । उनलाई श्रीमती गोदा दाहालले सघाउँछिन्।

yak cow 2२०६८ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर व्यावसायिक गाईपालन सुरु गरेका उनले हाल ४० वटा गाई र तीनवटा भैंसी पालेका छन् । ‘गाईको दूध र बाच्छी बेचेर व्यवस्थित गोठ र दुईतले पक्की घर बनाएको छुु,’ दाहालले भने। उनका कान्छा छोरालाई काठमाडौंमा इन्जिनियर पढ्दैछन् भने जेठा छोरा हेटौंडामा दूध डेरी सञ्चालन गरेर बसेका छन्।

होलेस्टिन जातका गाई पालेका दाहालले दैनिक सय लिटर दूध उत्पादन गर्छन्। दुई बिघा जमिनमा नेपियर्स जातको घाँसखेती गरेका उनले सबै खर्च कटाएर मासिक ४० हजार रुपैयाँ बचत हुने गरेको बताए। खेतबारीमा लगाएको अन्नबाली बाँदरले खाएरै सकाउने भएपछि स्थानीयले केरा खेती गर्न थालेका थिए।

‘केरा खेती पनि केही वर्ष राम्रै भयो, पछि विभिन्न रोग देखा पर्न थालेपछि हामीले गाईपालन थालेका हौ,’ दाहालले भने।गढी गाविसमा व्यावसायिक गाईपालन थालेका दाहालको सिको गर्दै छिमेकी मन्जु सापकोटाले पनि गाईपालन सुरु गरिन्।

५३ वर्षीया सापकोटाले १५ वटा गाई पालेकी छन्। चार वर्षदेखि व्यावसायिक गाईपालन गर्दै आएकी सापकोटाले छोराछोरी पढाउँदा र घर बनाउँदा लागेको १५ लाख रुपैयाँ ऋण तिरिसकेकी छन्। ‘दिनको ३० लिटर दूध बेच्छु, महिनामा ३० हजारजति बचत हुन्छ,’ उनले भनिन्, ‘परम्परागत शैलीमा खेतीपाती गरेरै बसेको भए मैले ऋण पनि तिर्न सक्दिनथें। तर गाईपालनले मेरो मात्र नभएर सबै गाउँलेको आर्थिक अवस्था सुध्रिएको छ’, साकोटाले भनिन्।

गढी-६ का प्रायः सबैको बारीमा घाँसखेती गरिएको छ । यहाँका एक सय २० परिवारले गाईपालन गरेका छन् । त्यस्तै गढी-५ का करिब एक सय ८० परिवारले गाईपालन गरेका छन्। गढी-७ मा गोदावरी गाई फर्म सञ्चालन गरेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता प्रकाश अधिकारीले भने, ‘वर्षभरि दुःख गरेर दुईमुरी अन्न मुस्किलले उत्पादन हुन्थ्यो, त्यही जग्गामा घाँस खेती गरेर गाईपालन थालेपछि गाउँको मुहार नै फेरिएको छ।’

उनी गाउँमा गाईको औषधिउपचार गरेर मासिक ५० हजारभन्दा बढी कमाउँछन्। ‘गाईको दूध बेचेरै यहाँका धेरैले छोराछोरी पढाएका छन् भने कतिपयले हेटौंडामा घरसमेत बनाउन भ्याएका छन्’, अधिकारीले भने।

गढी-६ स्थित मनकामना दुग्ध उत्पादक सहकारीमा मात्रै दैनिक तीन सय परिवारले दूध बिक्री गर्दै आएका छन् । ‘कतिपयले सिधै हेटौंडा बजारमा लगेर पनि बिक्री गर्छन्, हामी दैनिक न्यूनतम दुई हजार लिटर दूध संकलन गर्छौ,’ सहकारीका अध्यक्ष बलराम हुमागाईंले भने । सहकारीले वार्षिक ६ करोड रुपैयाँको कारोबार गर्ने उनले बताए।

जिल्ला पशु सेवा कार्यालय मकवानपुरमा गढी गाविसका मात्र ४० वटा गाई फर्म र चारवटा गाईभैंसी फर्म सूचीकृत छन् । जिल्लामा एक सय ३२ वटा गाई फर्म सञ्चालनमा रहेको कार्यालयले जनाएको छ।

गाईकिसानलाई सुत्केरी स्याहार खर्च
पशु सेवा कार्यालयले यस वर्षदेखि गाईकिसानलाई सुत्केरी स्याहर खर्चसमेत उपलब्ध गराउन थालेको छ। ‘हामीले आमभन्ज्याङ र हटियाका ५० जना किसानलाई गाई सुत्केरी स्याहार खर्चबापत एक हजारका दरले नगद दिएका छौ,’ कार्यालय प्रमुख रामप्रकाश प्रधानले भने, ‘अर्को वर्षदेखि यसलाई विस्तार गर्ने लक्ष्य छ।’

गाईपालनमा बढ्दो लगानीका कारण यसलाई थप व्यवस्थित गराउँदै किसानलाई पशु स्याहारमा प्रोत्साहन गर्न गाई सुत्केरी स्याहार खर्च उपलब्ध गराउन थालेको प्रधानले बताए।

दैनिक २२ हजार लिटर दूध बिक्री
मकवानपुरबाट दैनिक २२ हजार लिटर दूध बिक्री हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ। ‘हामीले विभिन्न सहकारीमार्फत किसानसँग दूध लिन्छौं, त्यसमध्ये दैनिक करिब ६ हजार लिटर काठमाडौं पठाउँछौं भने अरू जिल्लामै खपत हुने गरेको छ,’ संघका अध्यक्ष वासुदेव अधिकारीले भने। सहकारीमार्फत एकद्वार प्रणालीबाट मात्र मकवानपुरमा दूध खरिदबिक्री हुने गरेको छ।

संघले आर्थिक वर्ष २०७२/७३ को मंसिर मसान्तसम्म २७ लाख ४६ हजार लिटर दूध बिक्री गरेको व्यवस्थापक कुमारमणि दाहालले बताए। ‘यस अवधिमा १३ करोड ४२ लाख रुपैयाँ पैसा दुग्ध किसानको हातमा पुगेको छ। तर, नाकाबन्दीका कारण २४ दिन दूध बिक्री गर्न नसक्दा किसानलाई तीन करोड रुपैयाँ घाटा लागेको छ’, दाहालले भने।

संघले आर्थिक वर्ष २०७१/७२ मा ६३ लाख चार हजार लिटर दूध बिक्री गरी किसानलाई ३० करोड ३३ लाख रुपैयाँ उपलब्ध गराएको थियो। ०७०/७१ मा ५८ लाख ७० हजार लिटर दूध बिक्री गरी किसानलाई २३ करोड रुपैयाँ वितरण गरेको संघले जनाएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :