उदयपुरमा सात करोडको तेजपात उत्पादन

यो समाचार 332 पटक पढिएको

गाईघाट(उदयपुर), १२ फागुन / जिल्लाको मध्य, पूर्र्वी र पश्चिमी पहाडी क्षेत्रमा रु सात करोड बराबरको तेजपात उत्पादन भएको छ ।

Tejpatजिल्ला वन कार्यालयका अनुसार जिल्लाको सिरिसे, हर्देनी, मयङखु, तावाश्री, डुम्रे, मुर्कची, साउने, खाँबु, भुटार, कटुन्जे, बबला, सिद्धिपुर र चौदण्डी क्षेत्रमा तेजपात उत्पादनमा वृद्धि भएको छ । करिब २५० हेक्टर क्षेत्रफलमा तेजपात उत्पादन हुँदै आएको सहायक वन अधिकृत लालबाबु यादबले जानकारी दिनुभयो ।

जिल्लाको रौता गाविसको मुकुची क्षेत्रमा सिनामोल अमला जातको तेजपात उत्पादन हुन्छ । यहाँ रु दुई करोड ५० लाखको तेजपात उत्पादन भएको स्थानीय व्यवसायी भरत थापाले बताउनुभयो । जिल्लामा सिनामोल अमला र सिनामोल टोलमाला जातका तेजपात उत्पादन हुँदै आएका छन् । स्थानीय बजारमा तेजपातको मूल्य प्रतिकिलो रु ४० देखि रु ६० सम्म रहेको छ ।

तेजपातको पात र बोक्रा औषधि, मसला तथा खाद्य पदार्थलाई सुगन्धित बनाउन प्रयोग हुन्छ भने यो जिल्लाको कटारी बजार हुँदै वीरगन्ज तथा विराटनगर भएर भारत निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७१÷७२ मा जिल्लाका ८ वटा नर्सरीबाट जिल्ला वन कार्यालयले तीन लाख ५० हजार तेजपातका बिरुवा वितरण गरेको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :