‘अस्ट्रिच’ चखाउने पहिलो नेपाली ‘उद्यमी’

यो समाचार 722 पटक पढिएको

ध्रुव दंगाल/ रुपन्देही
गंगोलिया, रसियाबाट एमबिए सकी नेपाल फर्केपछि उनले अस्ट्रिच पालन व्यवसाय गर्ने सोच बनाए। पढेलेखेको व्यक्ति, त्यसमाथि कहिल्यै नामै नसुनिएको चरा पाल्ने इच्छा। त्यति बेलाको समाजमा उनी हाँसोका पात्र बनिहाले। ‘पढेलेखेको खुस्केट’ भन्दै उडाए धेरैले।

Osrich Nepalचुनौतीकै बीच उनले व्यवसाय सुरु गरे। अस्ट्रिचको अन्डादेखि लिएर सबै कुरा विदेशबाटै आयात गर्नुपर्थ्यो। अस्टे्रलियाबाट १ हजार ५ सय अन्डा झिकाए। तिनलाई कोरल्न यहाँ प्रविधि थिएन। बल्लतल्ल भारतबाट ह्याचरी मेसिन ल्याए। धेरै अन्डा फुट्नाले ९ सय चल्ला मात्र कोरलिए। तिनलाई जोगाउनै हम्मे पर्योन। मुस्किलले २ सय चरा मात्र बाँचे।

अनेकन हन्डर खेपेर सिपी शर्माले सात वर्षअघि थालेको व्यवसाय अहिले ‘अस्ट्रिच नेपाल प्रालि’ का नाममा मुलुककै ठूलो उद्योगका रूपमा स्थापित भइसकेको छ। २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा २० बिघा जमिनमा फैलिएको यो फार्ममा अहिले चल्ला, जवान र माउसमेत ६ हजार अस्ट्रिच हुर्किरहेका छन्। १ हजार माउ, १ हजार जवान (काट्ने समयका) र चल्ला हुर्काउन दैनिक १ सय ३२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अस्ट्रिचलाई खाद्यान्न जुटाउन ९ सय ६७ बिघामा जमिनमा घाँसखेती गरेर सयौं किसानले अप्रत्यक्ष रोजगारीसमेत पाइरहेका छन्।

‘अस्ट्रिच पालन व्यवसायलाई साहसको धन भन्दा हुन्छ,’ व्यवसाय हुर्काउन झेलेका संघर्ष सम्झँदै शर्मा भन्छन्। व्यवसाय थालेको चार वर्षपछि मासु निर्यात थालेका उनलाई अहिले माग धान्नै मुस्किल छ। राजधानीका विख्यात तारे होटल र रेस्टुराँ अस्ट्रिच मासुको मुख्य बजार हुन्। चालू वर्षमा ३ सय टनभन्दा बढी मासु बिक्री गरेको उनी बताउँछन्। ‘विश्वभरबाट मासु माग भइरहेको छ,’ शर्मा सुनाउँछन्, ‘उद्योग अझै ती सबै माग धान्न सक्ने अवस्थामा पुगिसकेको छैन। विदेश निर्यात गर्न केही कानुनी जटिलता पनि छन्।’

उनका अनुसार द्वारिकाज, र्याहडिसनलगायत होटलमा उद्योगले मासु निर्यात गर्दै आएको छ। अस्ट्रिच मासु बिक्री तथा प्रवर्द्धन गर्न उद्योगले काठमाडौंमा रोयल स्टेग रेस्टुराँ सञ्चालनमा ल्याएको छ। त्यहाँ उद्योगको ५० प्रतिशत लगानी छ। त्यति मात्रै होइन, राजधानीमा कार्यालय राखेर महाराजगन्ज, सामाखुसी, बानेश्वर र चावहिलबाट बिक्रीसमेत गर्दै आएको छ। ‘राजधानीमा दैनिक २० वटा अस्ट्रिच खपत भइरहेको छ, माग बिस्तारै बढ्दै छ,’ उनले भने।

Ostrich Nepal बहूपयोगी अस्ट्रिच
कोरलिएको दुई महिनामै मासुका लागि बिक्रीयोग्य मानिने अस्ट्रिचको शरीरबाट केही खेर जाँदैन। हुर्किसकेपछि कम्तीमा १ सय २५ केजी तौलको हुने यो चरा व्यवसाय र प्रयोगका हिसाबले बहूपयोगी मानिन्छ। अन्डा, आन्द्रा, भुँडी, छाला, बोसो, प्वाँख, रौं सबै मूल्यवान छन्। ‘हुर्काउन मात्र जोखिम हो। हुर्किसकेपछि पैसै–पैसा आउँछ,’ सञ्चालक शर्मा भन्छन्।

उनका अनुसार आन्द्रा, भुँडी, फोक्सो, बोसो, छालारहित मासु ११ सय रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ। ११ सयदेखि १७ सय ग्राम हुने अस्ट्रिचको अन्डा खुकुराको अन्डाजस्तै विभिन्न परिकार बनाउन सकिन्छ। यस वर्ष उद्योगले १० हजार अन्डा उत्पादन गरेको थियो। तीमध्ये कोरल्न राखिएको केहीबाहेक सबै खानामा खपत भयो।

ज्याकेट, पर्स, ब्याग, बेल्ट बनाउन सकिने भएकाले छाला काढेर छुट्टै निकालिन्छ। तर, नेपालमा प्रशोधन गर्ने मेसिन नभएकाले ती सबै विदेश निर्यात गर्नुपर्ने अवस्था छ। प्रालिका प्रबन्धक निर्देशक शर्माका अनुसार अस्ट्रिच छालाको मुख्य बजार दक्षिण कोरिया हो। इजरायल, चीन, इटालीलगायत मुलुकबाट पनि माग भइरहेको छ। एउटा अस्ट्रिचको छालाको डेढ सय अमेरिकी डलर पर्ने उनले जनाए।

बोसो विभिन्न क्रिम बनाउन खपत हुन्छ। एउटा अस्ट्रिचबाट दुई केजीसम्म बोसो निस्कन्छ। मृगौला, कलेजो र फोक्सो भुटन परिकारमा बिक्री हुँदै आएको छ। उद्योगले सुक्खा भुटन प्याकेजिङ गरेर बजारमा उपलब्ध गराउँदै आएको छ। आन्द्रा–भुँडी ‘सेसेस’ बनाउन बिक्री गरिन्छ। प्वाँख र रौं हस्तकला तथा फेसनका सामग्री बनाउन उपयोग हुन्छ। उद्योगले प्रतिकेजी २८ हजार भारुमा प्वाँख–रौं मुम्बई निर्यात गर्दै आएको शर्माले जानकारी दिए।

लगानी उठ्न भने बाँकी
अस्ट्रिचले आम्दानी दिन थाले पनि ठूलो लगानी भएकाले नाफामा गइनसकेको उद्योगले जनाएको छ। व्यवसाय थाल्दा १० वर्षभित्र नाफामा जाने इस्टिमेट गरिएको शर्मा बताउँछन्। यस वर्ष भूकम्प र नाकाबन्दीले व्यवसायमा नराम्ररी असर पुगेको उनको गुनासो छ। उनका अनुसार अबको तीन वर्षमा उद्योग नाफामा जान्छ। ‘दुई वर्षभित्र नाफामा जाने ढंगले व्यवसायले गति लिएको थियो, भूकम्प र नाकाबन्दीले थप एक वर्ष पछि धकेलिदियो,’ उनले भने।

अस्ट्रिचका लागि उद्योगले घाँस मात्रै वार्षिक १ लाख मेट्रिक टनभन्दा बढी खरिद गर्दै आएको छ। ७ सय किसानले उत्पादन गर्दै आएको लुसन र बर्सिम घाँस उद्योगले किन्दै आएको छ। बिउ अनुदान दिएर उद्योगले नै घाँस उत्पादन गर्न किसानलाई अग्रसर गराउँदै आएको हो। उद्योगले किसानबाट प्रतिकेजी साढे ३ रुपैयाँमा घाँस किन्छ। उद्योगको दैनिक खर्च मात्रै ११ लाख रुपैयाँ छ। ‘आम्दानी भर्खर दैनिक ४ लाख रुपैयाँ पुगेको छ। क्रमशः आम्दानी बढाउँदै छौं,’ शर्मा बताउँछन्।

Ostrich Nepal

अवलोकन केन्द्र बन्दै अस्ट्रिच
रूपन्देहीमा बुद्धभूमि लुम्बिनीपछि अर्को पर्यटकीय गन्तव्य शर्माको अस्ट्रिच फार्म बन्न थालेको छ। लुम्बिनी पुग्ने आधाभन्दा बढी पर्यटक अस्ट्रिच नहेरी फर्कंदैनन्। किसान, विद्यार्थी, सरकारी अधिकारी, व्यवसायी, विदेशी अनुसन्धाता पनि अस्ट्रिचको अवलोकन भ्रमणमा पुग्छन्।

यसबापत पनि उद्योगले छुट्टै आम्दानी लिँदै आएको छ। दैनिक ४ जनासम्मले अस्ट्रिच उद्योग भ्रमण गर्दै आएको शर्मा सुनाउँछन्। नेपालकै पहिलो र एक मात्र अस्ट्रिच उद्योग हेर्ने उद्देश्यले आन्तरिक पर्यटक त्यहाँ पुग्छन्। अस्ट्रिचसँग उभिएर फोटो खिचाउँछन्। ‘नाकाबन्दी र तराईमा दन्किएको आन्दोलन बावजुद यस वर्ष १ लाख पर्यटकले अवलोकन गरिसकेका छन्,’ शर्माले भने। प्रवेश शुल्कबापत विद्यार्थीलाई ५० र अन्यलाई सय रुपैयाँ लिने गरिएको छ।

साउदी अरब, सिरियाको जंगलमा पाइने अस्ट्रिचको व्यावसायिक पालन युरोपबाट अन्यत्र विस्तार भएको हो। नेपालमा पहिलोपटक भिœयाउने श्रेय भने शर्मालाई नै जान्छ। उनको अस्ट्रिच प्रालि नै अहिलेसम्म नेपालमा एक मात्र उद्योग हो। सोखका रूपमा मुलुकका केही ठाउँमा यसको पालन भइरहे पनि व्यावसायिक ढंगले अघि बढाइएको छैन।

सुरुमा एकल लगानीबाट उद्योग थालेका शर्माको उद्योगमा अहिले तीन जना साझेदार भित्रेका छन्। नेपालमै पहिलोपटक अस्ट्रिच पालन व्यवसाय थाल्ने सोच कसरी आयो तरु शर्मा भन्छन्, ‘फ्रान्स भ्रमणमा गएका बेला पेरिसमा पहिलोपटक अस्ट्रिच मासु खाने मौका मिल्यो। लालीपपझैं जिब्रोमा झुन्डिहाल्यो। नेपालमा यसको व्यवसाय किन नगर्ने त भन्ने सोच त्यहीँ पलायो।’

काठमाडौंको शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा बिकम सकेका शर्माले रसिया पुगेर एमबिए गरे। सँगै पढ्ने युक्रेनी साथीको देश घुम्न गए। युक्रेन घुम्ने सिलसिलामा उनी १३ हजार हेक्टर जमिनमा फैलिएको कृषि–फार्म पुगे। १० हजार गाई र हजारौंको संख्यामा पालिएका अस्ट्रिचले उनले लोभ्याए। तीन दिन त्यहीँ बसेर अध्ययन गरे। नौ फिटसम्म उचाइ हुने विश्वकै ठूलो, ठूलै अन्डा दिने, ४५ वर्षसम्म औसत आयु भएको चराबारे बुझेपछि थप खुल्दुली जाग्यो। उनी थप अध्ययनमा खटिए। ‘पेरिसमा अस्ट्रिचको स्वाद चाखेपछि त यसकै व्यवसायमा होमिने सोच पलाइहाल्यो,’ शर्माले अस्ट्रिच पालन थाल्न अभिप्रेरित भएको क्षण सम्भ्किए, ‘त्यसपछि नेपाल फर्केर यसको सम्भावनाबारे अध्ययन गर्दै कानुनी प्रक्रिया बुझ्नतिर लागेँ।’

लगत्तै चिकित्सकसहितको एउटा समूह विभिन्न मुलुक पुर्यानएर तालिमप्राप्त बनाएर फर्केपछि व्यवसाय सुरु गरेको उनले बताए। उनको उद्योगले अहिले वर्ल्ड अस्ट्रिच एसोसियसनको सदस्यतासमेत पाएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :