भूकम्प पिडित किसानलाई मिनी टिलर

यो समाचार 376 पटक पढिएको

सुरजकुमार भुजेल/ मकवानपुर
जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जिल्लाको उत्तरी क्षेत्रका भूकम्प पिडित किसानहरुका लागि मिनी टिलर (खेत जोत्ने हाते ट्रयाक्टर) वितरण गरेको छ ।

Mini tiler Tractor

कृषक समूहमा आवद्ध किसानहरुका लागि अन्तराष्ट्रिय मकै तथा गहुँ अनुसन्धान कार्यक्रम, शिशा नेपालको भूकम्पीय क्षति पुनःस्थापना कार्यक्रमको आर्थिक सहयोगमा मिनी टिलर वितरण गरिएको हो । किसानहरुका लागि ९५ प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिएको हो ।

भूकम्प पिडित कृषिका माध्यमबाट आर्थिक स्तर उकास्ने उद्देश्यले कृषी उपकरण वितरण गरिएको कृषि विकास कार्यालय मकवानपुरका वरिष्ठ कृषि विकास अधिकृत निर्मल गदालले बताए । कृषकलाई मिनी टिलर वितरणसंगै कृषिमा यान्त्रिकीकरणको अभ्यास मकवानपुरको थाहा नगरबाटै शुरु भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्राविधिक सहायक चन्द्रकान्त चौधरीले बताए ।

कार्यालयले ६ माघमा ४८ कृषक समूह तथा सहकारीलाई खेत जोत्ने मिनी टिलर थाहा नगरमा एक समारोहकाबीच वितरण गरेको हो । तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको दामन, पालुङ, फाखेल, चित्लाङ लगायतका क्षेत्रका किसानहरुलाई मिनी टिलर वितरण गरिएको कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झाले बताए । मकवानपुर २ नंबर निर्वाचन क्षेत्रका सांसद सुभाषसिंह ठकुरीले एक समारोहकाबीच किसानहरुलाई मिनी टिलर वितरण गरे । मिनी टिलर वितरण गर्दै सांसद ठकुरीले कृषिमा आधुनिकीकरण गर्नका लागि ठूलो मद्दत पुगेको बताए ।

कार्यक्रममा कार्यक्रमका विशोष अतिथि समेत रहेका एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज तथा पूर्व सभासद् प्रेम बहादुर पुलामीले कृषिमा यान्त्रीकरण हुनु कृषकहरुको हितमा भएको बताए । एक घण्टामा एक रोपनी क्षेत्रफलको जग्गा जोत्न सकिने क्षमताको मिनी टिलर वितरण गरिएको प्रमुख गदालले बताए । वितरण गरिएका मिनी टिलरहरु ४५ हजारदेखि ८५ हजार मूल्य सम्मको रहेका छन् । मिनी टिलर वितरण कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनीधिहरु, लगायतकाको सहभागिता रहेको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :