एक गाउँ एक उत्पादन इलाममा दूध उत्पादन छनोट

यो समाचार 306 पटक पढिएको

इलाम, २ फागुन / कृषिजन्य वस्तुको औद्योगीकरण गर्न सुरु भएको ‘एक जिल्ला एक उत्पादन’ मा इलाममा दुग्ध व्यवसाय छनोटमा परेको छ । सरकारले उद्योग वाणिज्य महासंघ र उद्योग वाणिज्य संघ इलाममार्फत जिल्लामा कार्यान्वयनमा ल्याएको एक जिल्ला एक उत्पादनमध्ये दुग्ध व्यवसाय छनोट गरिएको हो ।


Milknewsagro.comयसमा विदेश निर्यात गर्न सकिने, उद्योगलाई आवश्यक ५० प्रतिशत कच्चा पदार्थ जिल्लामा उपलब्ध हुने र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने कृषिजन्य वस्तु छनोट गर्नुपर्ने प्रावधान छ ।

उद्योग वाणिज्य संघ इलामको आयोजनामा भएको छलफल कार्यक्रममा दूधलाई नै एक जिल्ला एक उत्पादन कार्यक्रममा छनोट गर्ने निष्कर्ष निकालिएको छ । चिया र दुग्ध उत्पादन दुईमध्ये एक वस्तु छनोट गर्नुपर्ने छलफलमा दूध छानिएको भए पनि दुग्धजन्य उत्पादनलाई विदेश निर्यातमा भने समस्या छ । दुग्धजन्य वस्तु विदेश निर्यात गर्दा स्वस्थ पशुबाट उत्पादन भएको हो भनेर प्रमाणित हुनुपर्छ ।

नेपालमा अहिलेसम्म पशुजन्य उत्पादन प्रमाणित गरिएको छैन । सरकारी नीतिमा नै प्रमाणित गरेर मात्र निर्यात गर्ने प्रावधान नभएकाले दुग्धजन्य उत्पादन विदेश निर्यात हुँदैन । नेपाल पशुजन्य रोगको जोखिममा रहेकाले पनि पशुजन्य उत्पादन निर्यातमा समस्या छ ।

नेपालमा दूध उत्पादनको लागत बढी रहेकाले विदेशी उत्पादनसँग अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समस्या रहेको जानकार बताउँछन् । ‘भारतमा दूध बिक्री गर्दा अहिले पनि सरकारले अनुदान दिनुपर्ने अवस्था छ,’ व्यवसाय प्रवद्र्धनमा लागेका एकजना कृषकले भने, ‘विदेशी उत्पादन सस्तो भएकाले नेपालमा विदेशी उत्पादनकै माग छ ।’

एक जिल्ला एक उत्पादनमा सरकारले १ करोड ६८ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । त्यसबाट कृषिजन्य उद्योगका लागि चाहिने भवन, उपकरण, जग्गा व्यवस्थापनको काम हुनेछ । उद्योग स्थापनाका लागि सरकारी अनुदान बराबरी रकम जिल्लामा संकलन गर्नुपर्छ ।

दुग्धजन्य व्यवसाय नफस्टाएकाले यहाँका व्यवसायीले दूधमा लगानी गर्ने सम्भावना कम छ । ‘दूधमा अहिले डेढ करोड लगानी गर्न पनि लगानीकर्ता नै इच्छुक हुँदैनन्,’ स्थानीय विष्णु काफ्लेले भने, ‘दूधमा भन्दा चियामा लगानी जुट्ने सम्भावना बलियो हुन्छ ।’ इलामबाट मासिक ९५ लाख लिटर हाराहारीमा दूध उत्पादन हुन्छ । दैनिक ६० हजार लिटर दूध मात्र निर्यात हुन्छ । बाँकी दूध, चिज, घ्यु, छुर्पी अन्य परिकार र घरायसी खपत गरेरै सक्नुपर्ने अवस्था छ ।

एक जिल्ला एक उत्पादनमा चियामा लागू गरिए लगानी खेर नजाने स्थानीय बताउँछन् । एक सय ५० वर्षअघि इलामबाटै चिया रोपन सुरु भएकाले चियासँग इलामको पहिचान जोडिएको छ । कार्यक्रममा जिल्लाको पहिचान जोडिएको र गौरवको वस्तु हुनुपर्ने पनि उल्लेख छ ।

चिया नेपालले विदेश निर्यात गर्ने मुख्य कृषिजन्य वस्तुमा पर्छ । वैदेशिक व्यापार प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१र७२ मा नेपालले १ करोड ११ लाख ४२ हजार ४ सय ८० किलो तयारी चिया निर्यात भएको थियो । चिया निर्यातबाट नेपालले एक वर्षमा २ अर्ब ६८ लाख ७७ हजार रुपैयाँ रकम मुलुक भित्र्याएको थियो ।

प्रारम्भिक छलफलबाट दूध छनोटमा परेको भए पनि कार्यक्रमको उद्देश्यअनुसार नभए चियामा कार्यक्रम सञ्चालन गर्न सकिने उद्योग वाणिज्य संघ इलामले जनाएको छ । ‘अहिले दूध छनोटमा परेको छ,’ उद्योग वाणिज्य संघ इलामकी अध्यक्ष सुशीला सापकोटाले भनिन्, ‘अध्ययनबाट त्यसमा कार्यक्रम उपयुक्त नभए चियामा गर्न सकिन्छ ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :