अमेरिका त्यागेर गाईपालन

यो समाचार 343 पटक पढिएको

ध्रुव दंगाल / २ फागुन

भैरहवा, तिलोत्तमा प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

भैरहवाको तिलोत्तमास्थित मुलुककै ठूलो गाइ फार्म। साथमा सञ्चालक शशी पौडेल। तस्बिर : ध्रुव दङ्गालयो निर्णयले उति बेला आफन्त र साथीभाइ चकित थिए। तर, सात वर्षकै अवधिमा उनले व्यावसायिक गाईपालनमा मुलुककै अगुवा कृषकको पहिचान बनाइसकेका छन्। उनी अर्थात्, बुटवल–१८ तिलोत्तमाका शशी पौडेल। उनी अहिले मुलुककै ठूलो गाई फार्म ‘लुम्बिनी एग्रो प्रोडक्ट्स एन्ड रिसर्च सेन्टर’ का मालिक हुन्।

दूध र गाई बेचेर मासिक १५ देखि १८ लाखसम्म कारोबार गर्ने उनी ४ लाख रुपैयाँ त नाफा मात्रै घर भिœयाउँछन्। ‘राष्ट्रवादले छुँदा सबै अवसर त्यागेर गाईपालनमा होमिएँ,’  गाई दुहुँदै गर्दा भेटिएका उनले भने, ‘केहीले नदिएको सन्तुष्टि यही व्यवसायले दिएको छ।’ आफ्नो फार्ममार्फत थुप्रैलाई रोजगारी सिर्जना गर्न सकेकोमा आत्मसम्मान गौरव मिलेको बताउँछन् उनी। भन्छन्, ‘शिक्षक भइराखेको भए अहिले पनि उस्तै हुन्थँे या अमेरिकातिर कतै हराउँथे।’

अनुसन्धान केन्द्रका अलावा उन्नत गाई–जात विकास केन्द्र बनाएका उनको फार्ममा अहिले ४ सयभन्दा बढी गाई छन्। ३ सय माउ गाई छन् भने दुहुना मात्रै सवा सयवटा। अरू ७० बाच्छी हुर्कंदै छन्। दैनिक १२ देखि १५ सय लिटर दूध बिक्री गर्छन् उनी। बिक्रीबापत महिनामै १५ देखि १५ लाख रुपैयाँ आम्दानी हुने हिसाब सुनाउँछन्।

वार्षिक झन्डै साढे २ सयवटा त गाई नै बेच्छन् शशी। उन्नत जातको एउटा गाई बेच्दा २ लाख रुपैयाँ लिन्छन्। ‘सबै खर्च कटाएर मासिक ४ लाख रुपैयाँ हात पर्छ,’ उनले भने। ३० जनालाई त उनले फार्ममा रोजगारी नै दिएका छन्। आंशिक र पूर्णकालीन रोजगारदाताले कामको प्रकृतिअनुसार ५–७ हजारदेखि २० हजार रुपैयाँसम्म तलब पाउँछन्।

जर्सी र होलिस्टिक जातका साढे २ सय गाईबाट पौडेलले २०६६ देखि व्यवसाय थालेका हुन्। सुरुमै २५ करोड रुपैयाँ लगानी गरेको उनी बताउँछन्। अहिले फार्म २२ बिघा जमिनमा फैलिएको छ। अहिले गाई फार्म र जग्गाको मात्रै झन्डै १ अर्ब रुपैयाँ मूल्यांकन हुने उनको हिसाबकिताब छ।

बुटवल उनको मुख्य बजार हो। ‘दूधको माग ज्यादा छ, मागअनुसार आपूर्ति गर्न सकिएको छैन,’ दूध बजारको अरू धेरै सम्भावना रहेको औंल्याउँदै उनी भन्छन्। प्रविधि आत्मसात् गरिएको फार्ममा मेसिनले दूध दुहुन्छ, कामदारले रेखदेख गरिदिए मात्र पुग्छ। दिनको दुईपटक गाईले दूध दिन्छन्। हरेक दिउँसो २ बजे र बिहान ४ बजे दूध दुहुने समयमा १५ मिनेटअगावै गाई आफैं लाइन लाग्छन्। ५–७ मिनेटभित्र मेसिनबाट एकलटमा १२ गाई दुहुन मिल्छ। दूध मेसिनमा चिस्याउँदै शुद्धीकरण गरेपछि सिधै बजार पुग्छ।

२०५० सालमा स्थायीमा नाम निकाल्दै पौडेलले शिक्षणपेसा सुरु गरेका थिए। त्यसको पाँच वर्षअघिदेखि नै पत्रकारितामा पनि आबद्ध थिए। बुटवलबाट प्रकाशित हुने ‘दैनिकपत्र’ का संस्थापक उनले आफ्नै नेतृत्वमा रेडियो लुम्बिनी पनि सञ्चालनमा ल्याएका थिए। उनका अनुसार दैनिकपत्र मोफसलकै पहिलो रंगीत पत्रिका हो भने लुम्बिनी दोस्रो सामुदायिक रेडियो।

दुवै पेसाले सन्तुष्टि दिन नसकेपछि शिक्षकको जागिर राजीनामा दिएको पौडेल बताउँछन्। यद्यपि २०६३ सम्म पत्रकारिता भने गरिरहेकै थिए। अमेरिकाका ट्विन टावर ढलेको आठौं दिन उनको हातमा अमेरिकी भिसा पर्यो । उनी अमेरिका गए तर दुई साता पनि टिक्न सकेनन्। ‘त्यहाँ पुगेपछि आत्मग्लानि मात्रै भयो, अर्काको देशमा बित्थामा आइछु भनेर पछुतो लाग्यो,’ उनले फिल्मको रिलझैं जीवनकथा सुनाए। छोटो अमेरिका बसाइमै स्वदेश फर्केर गाई पाल्ने योजना बुनेको उनको भनाइ छ।

अमेरिकाबाट फर्केपछि आफैंसँग भएको केही नगद र अधिकांश बैंक ऋण लिएर व्यवसाय थालेका थिए पौडेलले। अहिले उनी ४७ वर्ष पुगे। ‘शिक्षकको जागिर र अमेरिकाले भन्दा गाईपालनले बढी आनन्द दिएको छ,’ उनले भने। मुलुककै सबैभन्दा ठूलो गाईफार्म सञ्चालकका रूपमा चर्चित उनलाई खिलराज रेग्मी मन्त्रिपरिषदले गणतन्त्र दिवसका अवसरमा विकासरत्न पदक दिने घोषणा गरेको थियो तर अहिलेसम्म पाएका छैनन्।

विद्यमान ऐन, नीति–नियम र कानुन कृषिमैत्री नभएको उनको अनुभव छ। ‘काम गर्न खोज्नेलाई अल्झाउने खालको नीति छ,’ सुधारको खाँचो औंल्याउँदै पौडेल भन्छन्, ‘पाँचै विकास क्षेत्रमा एक–एकवटा गाइ फार्म विस्तार गर्ने योजना थियो। विद्यमान ऐन, नियम नै बाधक बन्यो।’

अघिल्लो वर्ष कृषि मन्त्रालयले यो फार्मलाई प्रोत्साहनस्वरूप ६ लाख रुपैयाँ अनुदान दिएको थियो। यस वर्ष १५ लाख रुपैयाँ अनुदान दिने घोषणा मन्त्रालयले गरेको छ। व्यवसायले ठूलो आकार लिँदै आम्दानीसमेत प्रशस्त दिन थालेपछि उनले फार्मलाई बहूपयोगी बनाउने योजना अघि बढाएका छन्। गोबर सदुपयोग गर्न फार्ममा ५ सय घनमिटर क्षमताको बायोग्यास प्लान बन्दै छ। ५ सय किलोवाट क्षमताको विद्युत निकाल्न प्रक्रियासमेत थालिसकेको पौडेल बताउँछन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :