किसानलाई पहिलोपटक बाली बिमाको क्षतिपूर्ति

यो समाचार 359 पटक पढिएको

पाल्पा, २७ माघ / जिल्लामा पहिलोपटक किसानले बाली बिमाको क्षतिपूर्ति रकम पाएका छन् । पाल्पा चिदिपानीकी विष्णुमाया चिदीले पहिलोपटक कृषि बाली बिमाअन्तर्गत क्षतिपूर्ति रकम पाएकी हुन् । कृषक चिदीले ३ सय मुढा च्याउको बिमा गरेकी थिइन् ।
किसानलाई पहिलोपटक बाली बिमाको क्षतिपूर्तिसरकारको कृषि बिमा नीतिअनुसार चिदीले ७५ हजारको बिमा गरेकामा ९ सय ३७ रुपैयाँ मात्र बिमा रकम तिरेकी थिइन् । कृषक चिदीले तयार पारेको ३ सय मुढामा च्याउ नउम्रिएपछि उनले बिमा दाबी गरेकी थिइन् । बाली बिमातर्फको पहिलो क्षतिपूर्ति रकम क्षेत्रीय कृषि विकास निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक बेनीबहादुर बस्नेत र जिल्ला कृषि विकास कार्यालय पाल्पाका प्रमुख राजेन्द्र कोइरालाले कृषक चिदीलाई ३० हजारको चेक हस्तान्तरण गरेका थिए । पछिल्लो समयमा कृषि, पशु, विभिन्न खेती बाली बिमा गर्ने क्रम पाल्पामा वृद्धि भएको छ ।

पाल्पामा पछिल्लो समयमा ५ सय ४० वटा पशुको बिमा भएको छ, जसमा २९ वटा पशु मरेकामा १५ लाख १७ हजार ३ सय ७० बिमा रकम किसानलाई भुक्तानी दिइसकिएको छ । खेतीपातीतर्फ १ सय ५६ रोपनी जग्गामा काउली, बन्दा, गोलभेँडा र आलुको गरी ४१ जना र च्याउखेतीतर्फ ५ किसानले बाली बिमा गरेको सिद्धार्थ इन्स्योरेन्स पाल्पाका प्रमुख करुणा काफ्लेले जानकारी दिए । पशु र बाली बिमाका लागि पाल्पामा सरकारले सिद्धार्थ इन्स्योरेन्स कम्पनीलाई जिम्मेवारी दिएको छ ।

बाली तथा पशु बिमामा सरकारले कृषकको क्षतिको ९० प्रतिशतसम्म बिमा रकम पाउने व्यवस्था गरेको छ । जसमा कृषकले जम्मा बिमा रकमको ९५ प्रतिशत बिमा कम्पनीले बाँकी ५ प्रतिशतमध्ये सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत प्रिमियम बुझाउने व्यवस्था छ ।

अहिलेसम्म पाल्पामा ४ करोडबराबरको पशु तथा बाली बिमा भएको छ जसमा कृषकबाट २४ लाख ८९ हजार ९ सय ५० रुपैयाँ संकलन भएको बिमा प्रमुख काफ्लेले बताए । व्यावसायिक पशु पालन तथा बाली उत्पादनको कृषि बिमा कार्यक्रम लोकप्रिय हँुदै गए पनि प्रचार–प्रसार कमीका कारण कृषि मन्त्रालयको लक्ष्यअनुसार बिमा हुन नसकेको क्षेत्रीय निर्देशक बस्नेतले जानकारी दिए । युवालक्षित कृषि कार्यक्रम, विभिन्न किसिमका उत्पादनमा सरकारले दिने ऋण तथा सहयोगका कार्यक्रममा जिल्लाभित्र पनि बाली बिमा अनिवार्य गर्नुपर्ने नीतिअनुसार कार्यक्रम वितरण भएको र प्रत्येक सेवा केन्द्रमार्फत बाली बिमा निरन्तर गरिँदै आएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताए ।

कृषि प्रचार–प्रसार अधिकृत वैकुण्ठ खनालले कृषि बिमाका लागि गाउँ–गाउँमा प्रचार–प्रसार अभियानलाई तीव्र रूपमा लगिएको जानकारी दिए । सोहीअनुरूप कार्यालयले ३० कृषकलाई ग्रामीण कृषि कार्यकर्ता तालिम दिइसकेको उनको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :