गोलभेँडा उत्पादन २३ प्रतिशत बढ्यो

यो समाचार 334 पटक पढिएको

खोटाङ, २७ माघ / जिल्लामा यो वर्ष गोलभेँडा उत्पादन २३ प्रतिशत बढेको छ । गोलभेँडा खेतीका लागि सुहाउँदो हावापानी तथा कृषकमा प्रविधि र प्राविधिक ज्ञान विकास भएकाले उत्पादन वृद्धि भएको हो ।
Tunnel Tomatoजिल्ला कृषि विकास कार्यालय खोटाङका अनुसार यो वर्ष ६ हजार ९ सय मेट्रिकटन गोलभेँडा उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्राद रिजालले गत वर्ष ५ हजार ६ सय मेट्रिकटन उत्पादन भएको जानकारी दिए ।
जिल्लामा यो वर्ष ६ सय ९० हेक्टर क्षेत्रफल जमिनमा गोलभेँडा खेती गरिएको छ । गोलभेँडा जिल्लाको सबै गाविसमा उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।

जिल्लाको सबै गाविसमा गोलभेँडा उत्पादन भए पनि सदरमुकामआसपास तथा बजार क्षेत्रमा बस्ने किसानले मात्र व्यावसायिक रूपमा खेती गर्दै आएको कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादवले जानकारी दिए । जिल्लामा उत्पादित गोलभेँडा जिल्लाबाहिरसमेत बिक्री हुने थालेको छ ।

जिल्लामा उत्पादित गोलभेँडा प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्ममा खरिद–बिक्री हुने गरेको किसान बताउँछन् । जिल्लाका कृषकले विशेषगरी सिर्जना, मनिसा, विनसरी र तिर्सना जातका गोलभेँडा खेती गर्दै आएका छन् ।

यो वर्ष जिल्लाका ५९ जना कृषकलाई युवालक्षित कार्यक्रमअन्तर्गत सहयोग गरिएकाले पनि गोलभेँडा उत्पादन बढेको कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्लाका कृषकले प्लास्टिक टनेल बनाएर गोलभेँडा खेती गर्न थालेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :