६ महिनामै १ अर्बका खसीबोका आयात

यो समाचार 373 पटक पढिएको

काठमाडौं, २७ माघ / चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका भारतलगायत मुलुकबाट आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनाको अवधिमा २ लाख ३० हजार खसीबोका आयात भएको छ, जसको भन्सार मूल्य १ अर्ब २५ करोड रुपैयाँ छ ।

Goat Khasiकुल जनावर आयातमा खसीबोकाको हिस्सा ९८ प्रतिशत हो । गत आवको सोही अवधिमा २ लाख ६ हजार गोटा अर्थात् ७९ करोड रुपैयाँको खसीबोका आयात भएको थियो । ९९ प्रतिशतभन्दा बढी खसीबोका भारतबाट आयात हुने गर्छ । अस्ट्रेलियाबाट पनि खसीबोका आयात हुने गरेको छ ।

यो अवधिमा २ लाख ३३ हजार ६६८ गोटा अर्थात् १ अर्ब २७ करोड रुपैयाँबराबरको जनावर आयात भएको छ । गत वर्षको यही अवधिमा २ लाख २७ हजार ८२८ गोटा अर्थात् ८४ करोड २१ लाख ४६ हजार रुपैयाँको जनावर आयात भएको विभागले जनाएको छ । खसीबोका मासुका लागि आयात गरिन्छ ।

कुल खसीबोकाको मासुको २० प्रतिशत हिस्सा आयातको छ । विशेषगरी दसैंतिहारमा बढी आयात हुन्छ । मागबमोजिम उत्पादन हुन नसक्दा भारतलगायत मुलुकबाट आयात गर्नुपरेको हो । यसबाट ९ लाख ५७ हजार रुपैयाँ राजस्व असुल भएको छ । त्यस्तै दुधालु भैंसी १० लाख रुपैयाँ, घोडा ५४ लाख र बाख्रा २ लाख ३० हजार रुपैयाँको आयात भएको छ ।

मासु ५ करोड र माछा ३४ करोड रुपैयाँको आयात भएको देखिन्छ । मासुको आयात बर्सेनि बढेको बढ्यै छ । पशुपन्छी विकास मन्त्रालयले २ वर्षभित्र मासु आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने लक्ष्य लिए पनि आयात बढेको देखिन्छ ।

कृषिप्रधान मुलुक भए पनि निर्यातभन्दा आयात ८ गुणाभन्दा बढी छ । कृषि वस्तुमात्र आयात ५६ अर्ब रुपैयाँको आयात भएको देखिन्छ भने निर्यात ७ अर्ब रुपैयाँमात्र छ । यसले कृषि निर्भरता झन् बढ्दै गएको देखिन्छ । नाकाबन्दीका कारण गत वर्षभन्दा घटे पनि अब बढ्ने देखिन्छ । चामलमात्र ८ अर्ब रुपैयाँको आयात भएको छ । तरकारी ८ अर्बको, चिया, कफी तथा मसला १ अर्ब ७७ करोडको, सुर्तीजन्य वस्तु १ अर्ब २२ करोडको र सुपारी ३ अर्ब ८३ करोडको आयात भएको छ । अधिकांश युवा रोजगारीका लागि विदेशमा गएकाले कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :