कांग्रेस सभापति सुशिल कोइरालाको निधन

यो समाचार 159 पटक पढिएको

काठमाडौं, २६ माघ/ पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको निधन भएको छ । केहिदिन यता निमोनियाका कारण ज्वरोले थलिएका कोइरालाको मंगलबार बिहान साढे १२ बजे आफ्नै निवास महाराजगन्जमा निधन भएको हो ।


Susil Koiralaमहाराजगञ्जमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिए। ‘टाइप टु रेस्पिरेटरी फेलियर’मा मानिसको शरिरले हावाबाट अक्सिजन लिन र शरीरमा भएको कार्बनहाइ अक्साइड बाहिर फाल्न असमर्थ हुन्छ ।

ब्रोङकाइस्टका दीर्घ रोगी कोइराला पछिल्लो केही दिन देखि ज्वरोले थलिएका थिए । निमोनियाले च्यापेपछि निवासमै निजी चिकित्सकहरुबाट उपचार लिँदै आएका थिए। उनलाई तीनवटा इन्टिबाइटिक चलाइएको थियो । पछिल्लो केही दिनदेखि कोइराला सार्वजनिक कार्यक्रमहरुमा उपस्थित थिएनन्। लामो समयदेखि जिब्रोको क्यान्सर रोगबाट पीडित भएका कोइरालाको क्यान्सरकै कारण निधन नभएको डा. योगीले बताए।

यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको अधिवेशनको उद्घाटन गर्न प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिएको भएपनि बिरामी भएकाले कोइराला उपस्थित हुन सकेका थिएनन् ।

कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन सर्वसाधारणको भीड
कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास महाराजगञ्जबाट कांग्रेस पार्टी कार्यालय सानेपा राखिएको छ । स्व। कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालय सानेपामा कांग्रेस नेता, कार्यकर्ता तथा सर्वसाधारणको ठूलो भिड लागेको छ ।

केही बेर अघि पूर्व राष्ट्रपति रामवरण यादवले समेत पार्टी कार्यालय पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, पूर्व सभामुख सुवास नेम्वाङ, तमलोपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले कांग्रेस पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली दिएका छन् ।

कोइरालाको पार्थिव शरिरलाई आज १२ बजेपछि रंगशालामा राखिने र भोली मात्रै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने सानेपा स्रोतले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :