किसानलाई सघाउन बाख्रा व्यवसायीकरण

यो समाचार 346 पटक पढिएको

नेपालगन्ज, २४ माघ / बाँकेमा उत्पादित खसी–बाख्राको व्यवस्थित व्यवसायीकरण सुरु गरिएको छ। किसानले लागतअनुसार मूल्य पाउन नसकेको र चाहेका बेला बिक्री गर्न नसकेकाले पशुसेवा कार्यालयको सहकार्यमा व्यवसायीकरण थालिएको हो।

Goatकिसानले उत्पादन गरेका खसी, बाख्रा बिक्री गर्न विभिन्न १२ वटा गाविसमा संकलन केन्द्र स्थापना गरिएको छ। उक्त संकलन केन्द्रबाट स्थानीय सामाजिक उद्यमी सहकारी संघमार्फत खसी, बाख्रा खरिद गरिन्छ।

गाविसबाट संकलन गरिएका बाख्रालाई ढकेरीस्थित मूल संकलन केन्द्रमा ल्याएर सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघले बजारमा बिक्री, वितरण गर्ने व्यवस्था मिलाइएको छ। संघका व्यवसाय प्रबन्धक विष्णु बटालाले बाँकेमा बाख्राको व्यवसायीकरण सुरु भइसकेकाले किसानले अब घाटा खाएर बाख्रा, खसी, बोका र पाठा बिक्री गर्न नपर्ने बताए।

पहिलो चरणमा अहिले खसी खरिदको काम थालनी गरिएको उनको भनाइ छ। ‘किसानले आफ्नो उत्पादन तराजुमा तौलेर मात्र अब बिक्री गर्नुहुन्छ,’ बटालाले भने, ‘जुनसुकै बेला पनि उहाँहरूको उत्पादनले उचित बजारमूल्य पाउँछ।’ उनका अनुसार २५ देखि २९ किलोसम्मको जिउँदो खसी प्रतिकिलो ३ सय २५ र ३० किलोमाथिको खसीको मूल्य प्रतिकिलो ३ सय ४० रुपैयाँ कायम गरिएको छ। व्यवसायीकरण सुरु भएपछि बाख्रा पालक किसान खुसी भएका छन्।

मासुका लागि बाँके आत्मनिर्भर हुन नसकेको अवस्थामा बाख्राको व्यवसायीकरणबाट बजारमूल्य केही व्यवस्थित हुने जिल्ला पशु सेवा कार्यालय बाँके प्रमुख डाक्टर वेदबहादुर केसीले बताए। उचित मूल्य पाउँदा बाख्रा पालक किसानको संख्या बढ्ने र यसले जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन प्रेरित गर्ने उनको विश्वास छ। पछिलो समयमा जिल्लाका किसान बाख्रापालन व्यवसायमा आकर्षित भए पनि उचित मूल्य पाउन सकेका थिएनन्। पशुसेवा कार्यालयका अनुसार जिल्लाको बैजापुर, बिनौना, कचनापुर, खासकुस्मा, महादेवपुरी, फत्तेपुर, रनियापुर, वनकटुवा, खजुराखुद्र, टिटिहिरिया, गंगापुर र बागेश्वरी गाविस बाख्रापालनका लागि पकेट क्षेत्र मानिन्छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :