केरा सुकेपछि किसान चिन्तित

यो समाचार 143 पटक पढिएको

चौमाला (कैलाली), २४ माघ / चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला भोकनिद्रा हराएको छ। ‘गुभो कुहिएर पूरै केरा सुके,’ सुकेका केराका खम्बा देखाउँदै उनले भने, ‘यस वर्ष केराखेती गर्ने किसानलाई दशा लाग्यो।’


चौमाला–७ का गणेश बोहराले भारतको मजदुरी छोडेर घरमा आफूसँग भएको तीन कट्ठा जमिनमा केराखेती सुरु गरे। पहिलो गाँसमै ढुंगा लागेजस्तै भएको बताउँदै उनले भने, ‘आफ्नै माटोमा पसिना बगाएर घरमै आयस्रोत खोज्ने प्रयास गुभो कुहिने रोगले विफल बनायो।’ आफूसँगको लगानीबाट केराखेती सुरु गरेको बताउँदै उनले भने, ‘पहिलो वर्षमै रोगले लगानी डुबेपछि चिन्ता लागेको छ।’ मीनबहादुर र गणेश मात्र होइन, यस वर्ष कारण पत्ता नलागेको गुभो कुहिने रोगले कैलालीमा व्यावसायिक रूपमा केराखेती गरिरहेका र भर्खर थालेका किसान मर्कामा परेका छन्। तीनपटक गोड्ने, मल र सिँचाइ सबै आवश्यक कुरा अपनाएको किसानले बताएका छन्।

कैलालीलगायत देशका केही जिल्लामा देखिएको यो रोग पत्ता लाग्न नसकेको कृषिविज्ञले बताएका छन्। कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयले पहिलोपटक केरामा गुभो कुहिने रोग देखापरेको बताए। सम्बन्धित वैज्ञानिकले रोगग्रस्त केराको परीक्षण गरिसकेको उनले बताए। ल्याबमा जाँच गर्न नमुना संकलन गरेर लगिएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए। ‘जिल्लाका सबैतिर केराको गुभो कुहिने रोग देखापरेको छ,’ उनले भने, ‘रोग पत्ता लाग्न नसक्दा केराखेती गरिरहेका सबै किसान निराश छन्।’ प्रारम्भिक रूपमा ब्याक्टेरियाका कारण यो समस्या भएको अनुमान गरिएको उनले बताए।

गुभो कुहिने रोगले केरा नोक्सान भएको समस्यालाई गम्भीर रूपमा लिएर कृषि विभागका महानिर्देशक र कृषि मन्त्रालयका सचिवलाई पनि जानकारी गराइसकेको उनले बताए। ‘कृषि विभागका महानिर्देशक र मन्त्रालयका सचिवलाई पनि यो समस्याबारे जानकारी गराइएको छ,’ उनले भने। कैलालीमा १ हजार हेक्टरमा ३ सय ५० किसानले केराखेती गरेको उनले बताए।

बालीरोग वैज्ञानिक राम खड्काले रूपन्देहीदेखि कञ्चनपुरसम्मका सबै जिल्लामा केरामा यो समस्या देखिएको बताएका छन्। टेस्ट्यु प्रविधिबाट तयार भएका बिउबाट लगाइएको केराखेतीमा यो समस्या बढी देखिएको उनले बताए। ‘रूपन्देहीदेखि कञ्चनपुरसम्मका सबै जिल्लामा केरामा समस्या देखिएको छ,’ उनले भने। कुनैमा ९० प्रतिशतसम्म केरा नोक्सान भएको पाइएको उनले बताए। कुन रोग वा के कारणले गुभो कुहिने गरेको भन्ने निष्कर्षमा पुग्न बाँकी रहेको उनले बताए। ‘हामीले परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अझै निष्कर्षमा पुग्न सकिएको छैन।’ सबैतिर अध्ययन गरी संकलन नमुनाको परीक्षण गरेर रोग पत्ता लगाइने उनले बताए।

बाँकेमा पनि उही समस्या
नेपालगन्ज संवाददाताका अनुसार बाँकेका किसानले रोपेको केराको बोटमा ‘गुभो’ मर्ने समस्या देखापरेको छ। करोडौं रुपैयाँ लागतमा व्यावसायिक रूपले लगाइएको केराको गुभो मर्न थालेपछि किसान चिन्तित छन्।

विशेष गरी सीतापुरमा रोपिएको केरामा यस्तो समस्या देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कृषि प्रसार अधिकृत धनबहादुर पुनका अनुसार त्यस क्षेत्रमा करिब आठ बिघा जमिनमा लगाइएको व्यावसायिक केराखेतीमा गुभो मर्ने समस्या देखिएको छ। ‘लगभग ७० प्रतिशत केराको बोटमा पुगिसकेको छ,’ पुनले भने। सीतापुरका किसान क्षत्र बिसीको पाँच बिघा र मालती खड्काको तीन बिघा केराखेतीमा गुभो मर्ने समस्या देखिएको कार्यालयले जनाएको छ। गत असार महिनामा उक्त ठाउँमा केराको बिरुवा रोपिएको हो।

रोगी केराको बोट थप अनुसन्धानका लागि काठमाडौंस्थित प्रयोगशालामा पठाइएको कृषि प्रसार अधिकृत पुनले जानकारी दिए। ‘गुभो मरेको केरामा कुनै ब्याक्ट्रेरियल हुन सक्ने हाम्रो आशंका छ,’ उनले भने। प्रयोगशाला रिपोर्ट आउन झन्डै दुई हप्ता लाग्ने कार्यालयले जनाएको छ। जिल्लाका सीतापुर, फत्तेपुर, महादेवपुरी, खासकुस्मालगायत क्षेत्रमा किसान व्यावसायिक रूपले केराखेतीमा लागेको जिल्ला कृषिविकास कार्यालयले जनाएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :