प्रधानमन्त्रीको चुलोमा ढिँडो पकाउनुपर्छ : कृषिमन्त्री

यो समाचार 292 पटक पढिएको

भरत पाण्डेय
‘कृषि विज्ञान पढेर आएका कृषिमन्त्री पाएका छौं, त्यसैले किसानका लागि हित हुने काम गर्नुहुन्छ भन्ने विश्वास छ’, आफू कृषिमन्त्री भएपछिको एक कार्यक्रममा वक्ताले यसो भनेपछि कृषिमन्त्री हरिबोल गजुरेलले आफ्नोे पालोमा त्यसको खण्डन गरे, ‘माफ गर्नुहोला, म कृषि विज्ञानको विद्यार्थी होईन, कमर्सको हुँ ।’ त्यसो त, व्यवस्थापन पढेर आएपनि कृषि गरेको अनुभवबाट सिकेर किसानका हितका लागि उदाहरणीय काम गर्ने प्रतिबद्धता जनाए ।


Haribol Gajurelत्यसको केही समयमै उनले २७ बुँदे प्रतिवद्धता सार्वजनिक गरे । आफू कृषिविज्ञ नभए पनि अनुभवी किसान भएकाले प्रतिबद्धता कार्यान्वयन भएरै छाड्ने विश्वास उनी व्यक्त गर्छन् । रातोपाटीसँगको कुुराकानीमा उनले आफ्नो विश्वासको आधार यसरी व्यक्त गरे :

खेती गर्दा गर्दै जेल
म सफल किसान हँु । २ वर्ष खेती गरें, एकवर्ष सगोलमा, अर्को वर्ष अलग भएपछि । सगोलमा खेती गर्दागर्दै मेरो राजनीतिक संलग्नताका कारण प्रहरीले पक्रियो । जेल गएँ । धान थन्क्याउन नपाउँदै म जेल जाँदा बुबा चिन्तित हुनुभएको थियो । जेलबाट छु्टेपछि अलग भएर कृषि गरें । मुरीको १० पाथी चामल हुन्थ्यो । यसमा मैले रेकर्ड कायम गरेको छु । सेलरमा हैन, गाउँमा सामान्य मिलमा कुट्दा पनि एक मुरीको १० पाथी ठहरेको छ । कतिपयले मेरो विषयविज्ञता कृषिविज्ञान भनेका छन् । त्यो होइन, मेरो विषय कमर्स हो । तर कृषिप्रति रुचि र अनुभव भएको मान्छे हुँ ।

भिजन भयो भने कर्मचारी बाधक हुँदैनन्
कतिपय मन्त्रीमा कर्मचारीले केही बुझेका छैनन, मैले मात्र बुझेको छु जानेको छु भन्ने भ्रम हुन्छ । तर त्यो होइन, कर्मचारी आफ्नो विषयमा विज्ञ हुन्छन् । कतिपय मन्त्रीहरु जानेबित्तिकै कर्मचारीलाई निर्देशन दिन्छन्, कर्मचारी बदल्छन् । त्यसो गर्नुहुँदैन भन्ने लाग्छ । मैले त्यसो गरिनँ । काममा बाधक भए भने कसैलाई पनि छुट दिन्न ।

अहिले बढी राजनीतिकरण भइरहेको छ । कर्मचारी क्षमतावान् भएपनि आस्थाका आधारमा त्यसलाई बदल्ने, हटाउने र सरुवा गर्ने गरिन्छ । त्यो ठीक होइन । आस्था होइन, कर्मचारीले नीति योजना कार्यान्वयन गर्छ कि गर्दैैन भन्ने ठूलो कुरा हो ।

हलो, गोरु र हलीलाई अलग गर्नुहुन्न
मन्त्रालय टुक्र्याउँदा म काठमाडौं थिईन । त्यसैले काठमाण्डौ फर्केपछि अध्यक्षज्यूलाई भनें, ‘एक त मन्त्री धेरै भएको कुरा जनतालाई मन पर्दैन । त्यसमाथि मन्त्रालय फुटाएर यस्तो गर्नुहुँदैन । कृषि र पशु एक¬–आपसमा अन्तरसम्बन्धित मन्त्रालय हुन्, फुटाउनु उचित होइन । हलो, गोरु र हलीलाई अलग गर्नुहुन्न भन्ने मेरो भनाइ हो ।’

अध्यक्षले प्रधानमन्त्रीलाई भन्नुभयो । प्रधानमन्त्रीले आफ्नो इच्छा होइन बाध्यता भएको बताउनुभयो । विभाजनको असर अहिलेसम्म पनि टुंगिएको छैन, अझै पनि छ । तर पनि केही काम सुरु गरेको छु । हलो, गोरु र हली मिलेर जानुपर्छ ।

राजदूतहरूलाई भनें – हामी भीखमंगा होइनौं
अहिले ढिलै भए पनि कृषि विकास रणनीति आएको छ । हुन त यो एउटा पार्टीले चाहेजस्तो छैन । तर जनताका लागि हो । यसमार्फत विदेशी दातृ निकायले सहयोग गर्ने बाटो खुृलेको छ ।

जर्मनी जाँदा विदेशी राजदुतसँग भेटेर कुरा गरेको छु । अमेरिका, इजरायल र जर्मनीका राजदूतसँग भेटेर भनें, ‘अब माग्नेमात्रै गर्दैनौ, केही दिन्छौँ पनि ।’ हामीसँग परम्परागत उत्पादन छ, त्यो उनीहरूले खोजेका छन् । भीखमंगा भएर कहिल्यै प्रगति हुँदैन । हामीसँग स्वास्थ्यको दृष्टिले उपयुक्त परम्परागत उत्पादन छ, त्यो उनीहरूलाई दिन सकिन्छ । उनीहरू त्यही खोजेर अहिले प्रकृतितिर जाँदै छन् । अमेरिकामा एउटा पकेट क्षेत्र दिनुस्, अग्र्यानिक उत्पादन गर्छौं भनेँ । उनीहरू सकारात्मक भएका छन् ।

लोकप्रियताको चिन्ता छैन
मलाई लोकप्रियताको चिन्ता छैन । किसानका लागि केही गरौं भन्ने हो । २७ बुँदे प्रतिबद्धता बनाउँदा सबैसँग छलफल भएकै हो । पूर्वकृषिमन्त्री, पूर्वसचिवहरू, कृषिविज्ञहरू, किसान आयोग, किसान सञ्जालहरूसँग सल्लाह गरियो । । गगन थापासँग पनि एक घण्टा छलफल गरेँ । त्यसै गरी एमालेका साथीहरुसँग पनि सल्लाह गरियो । ६५ बुँदा पुगेको थियो, त्यसबाट २७ बुँदेमा झारेको हो । त्यसैले यो सबैले स्वामित्व लिने दस्तावेज हो । म रहुँला वा नरहुँला, जो मन्त्री आए पनि यसैका वरिपरि काम गर्ने हो । अब यो कार्यान्वयनको चरणमा जान्छ । श्वेतपत्र, एडिएस र २७ बुँदे प्रतिबद्धताका आधारमा हामी अगाडि बढ्छौँ ।

बाँझो जमिन नराख्ने 
अब हामी बाँझो जमिन नराख्ने योजनासहित काम गर्न सुरु गर्छौं । बाँझो भन्नाले १० औ वर्षदेखि बाँझो बसेको जग्गा होइन, एकाध वर्षदेखि खेती गर्न छोडेर बाँझो बनाइएको उब्जाउ जग्गा हो । कृषिमा आत्मनिर्भर बन्न त्यसो गर्नैप¥यो । यसका विषयमा अर्थमन्त्रीसँग पनि कुरा भइसकेको छ ।

मैले बाँझो राख्नेलाई अनुदान दिएर काम गर्ने कि भनेको हो उहाँले अनुदान तिर नलागौँ भन्नुभयो । त्यसैले बाँझो जमिन नराख भन्ने पहिला । पत्र पठाउने । उसले गर्न सकेन भने अरूलाई देऊ भन्ने । त्यो पनि भएन भने सरकारले गर्ने । बाँझो जमिन कति छ, टेण्डर गरेर सरकारले खेती गर्न सक्छ । यो कार्य यही चैतेधान खेती गर्ने बेलादेखि नै सुरु हुन्छ । अर्को वर्षदेखि खाद्यान्नमा आत्मनिर्भर हुने गरी कार्यक्रम बनाइएकाले यो वर्ष नगरी हुन्न ।

प्रधानमन्त्रीको भान्सामा ढिँडो पाक्नुपर्छ
हाम्रौ खानपिनको तरिका अत्यन्तै अवैज्ञानिक छ । कोदो राम्रो छ, मकै तागतिलो छ, गहुँ उस्तै । तर हामी चामलमात्रै खान्छौं । त्यसैले ‘फुड ह्याबिट’ परिवर्तन गर्नुपर्छ । त्यो माथिबाटै गर्नुपर्छ । प्रधानमन्त्रीको भान्सामा ढिँडो पाक्छ भनेर हामीले सुरुवात गर्नुप¥यो ।
रामेछापमा एउटा गाउँ छ भित्र ढिँडो खाने, अनि डाडुमा अलिकति भात पकाएर बाहिर निस्कँदा कुखुरालाई दिने । हामीमा ढिँडोप्रति हीन भावना छ, त्यो हटाउनुपर्छ । यसमा के के पौष्टिक तत्व पाइन्छ भनेर सकारात्मक बानी पार्नुपर्यो ।

५ वस्तुमा आत्मनिर्भर बनाउँछौँ
हामी चैते र बर्खेधान, मकै, कोदो, फापर र आलुगरी पाँच वस्तुमा आत्मनिर्भर हुने गरी अभियान अघि बढाउँदै छौं । त्यसैले आइतबारदेखि चैते धानको सिँचाइको विषयमा सिँचाइ मन्त्रालयमा छलफल सुरु हुन्छ । हाम्रा कर्मचारीलाई लगेर सिँचाइको लागि के गर्ने भनेर छलफल गर्ने कार्यक्रम छ ।

हुन त नेपालमा नेताहरूले यस्ता धेरै प्रतिबद्धता व्यक्त गरे । तर कार्यान्वायन भएनन् । नेपाल कृषि प्रधान देश, ६५ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् भन्ने नारा भजाएर कृषिमा प्रशस्तै बजेट खर्च गरिएको छ । करोडौं विदेशी परियोजना पनि भित्र्याइएको छ । तर प्रभावकारी योजना र बजेट कार्यान्वायन प्रक्रिया प्रभावकारी नहुँदा उपलब्धि जहिले पनि शुन्य । कृषिमा हरेक वर्ष दोहोरिने यही समस्या समाधान गर्न कृषि क्षेत्रका सबै विज्ञ र कर्मचारीसँग व्यापक छलफल गरी २७ बुँदे प्रतिबद्धता ल्याएका हौँ । अब केही वर्षमा कृषिमा आत्मनिर्भर हुनेगरी कार्यक्रम बन्छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :