अब ‘किसान’ पनि ‘डाक्टर’ !

यो समाचार 454 पटक पढिएको

काठमाडौं, १४ माघ / सधैँ करेसाबारी र खेतबारीमा बालीनालीको रेखदेख र गोडमेलमा जुट्ने किसान अब डाक्टर बन्ने भएका छन् । नाक, कान, घाँटी अनि अरु स्वास्थ्य जाँच गर्ने डाक्टर नभई किसान आफैले रोपेका बोट बिरुवा र बालीको जाँच गर्ने डाक्टर बन्न लागेका हुन् ।

Plant doctorस्वस्थ जीवनका लागि जसरी मानिसको शरीरलाई हेरचाह र स्याहार चाहिन्छ ठीक त्यस्तै बाली नालीको राम्रो उत्पादनका लागि पनि हेरचाहको आवश्यक पर्छ । बालीनालीको राम्रो हेरचाह हुन नसक्दा र बोट विरुवामा विषादीको मात्रा मिलाउन नजान्दा फाइदा भन्दा पनि हानि हुन थालेपछि अब किसानलाई नै डाक्टर (प्लान्ट डाक्टर) बनाउने तयारी भएको हो ।

किसानलाई प्लान्ट डाक्टर बनाउन बाली संरक्षण निर्देशनालयले तालिम दिने गृहकार्य गरिरहेको छ । बाली र तरकारीमा मानव स्वास्थ्यमा हानिकारक मानिने विषादीको प्रयोग बढ्दै गएपछि सरकारले बोट बिरुवाको जाँच गर्ने तरिका र जिम्मा किसानलाई नै दिन लागेको हो । बाली संरक्षण निर्देशनालयका अनुसार आउँदो चैत/वैशाख महिनादेखि किसानलाई प्लान्ट डाक्टरको तालिम दिने तयारी भएको छ ।

प्लान्ट डाक्टरको तालिम चरणबद्ध रुपमा सञ्चालन गरिने निर्देशनालयका कार्यक्रम निर्देशक डा. डिल्लीराम शर्माले बताउनुभयो । पहिलो चरणमा विषादी बढी प्रयोग गर्ने जिल्ला छनौटमा परेका छन् । धादिङ, काभ्रे, चितवन, बारा, कपिलवस्तु, रुपन्देही लगायत १५ देखि २० जिल्लामा पहिलो चरणको कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । किसानलाई विषादीको प्रयोग र विधी बारे बुझाउन कृषक सहजकर्तालाई पहिले तालिम दिईने छ र त्यसपछि किसानलाई प्लान्ट डाक्टरको तालिम दिईने शर्माले बताउनुभयो ।

६ महिनासम्म प्लान्ट डाक्टरको तालिम लिएका किसानको कामको अनुगमन गरिने र नतिजा सकारात्मक निस्किए अरु जिल्लामा विस्तार गरिने बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

अहिले तरकारी खेती बढी हुने विभिन्न ठाउँमा प्लान्ट क्लिनिक स्थापना गरेर बोट बिरुवाको जाँच गर्ने तथा किसानलाई जानकारी गराउने गरीएको छ । तर यो त्यती प्रभावकारी नभएपछि सरकारले किसानलाई नै विरुवाको जाँच गर्ने विधि सिकाउन लागेको हो । अहिले गैरसरकारी संस्था र कृषि विभागको संयुक्त प्रयासमा ३५ वटा जिल्लामा प्लान्ट क्लिनिक सञ्चालन भइरहेको छ ।

यसमध्ये तराईका केही जिल्लामा आन्दोलनका कारण बन्द भएका छन् । यी जिल्लामा महिनाको एक चोटी नियमित रुपमा प्लान्ट क्लिनिक सञ्चालन हुने गरेको छ । बोट बिरुवाको संरक्षण, विषादीको प्रयोग न्युनिकरण र सुरक्षित तरिकाले विषदीको प्रयोगबारे किसानलाई बसझाउन डेढ वर्षदेखि प्लान्ट क्लिनिक सञ्चालन गर्न थालिएको हो ।

कृषि अधिकृत र कृषि प्राविधिकलाई मात्र प्लान्ट क्लिनिक दिन थालेकोमा यसपालि किसानलाई नै प्लान्ट डाक्टरको तालिम दिन लागिएको हो । प्लान्ट डाक्टर बन्न तालिम अनिवार्य गर्नुपर्छ ।

यसैबिच निर्देशनालयले आजदेखि काभ्रेका किसानलाई विषादीको प्रयोगबारे जानकारी दिन तालिम दिँदै छ । यस अघि धादिङ र कपिलवस्तुमा निर्देशनालयले तालिम दिएको थियो । काभ्रेमा तालिम सकेपछि अनुगमनका लागि फेरि कपिलवस्तु जाने निर्देशनालयको तयारी छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :