अन्डा, दूध र मासुमा आत्मनिर्भर हुने प्रतिबद्धता

यो समाचार 255 पटक पढिएको

काठमाडौं, १४ माघ / नवगठित पशुपक्षी विकास मन्त्रालयले मुलुकलाई अन्डा, दूध र मासुमा आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाएको छ । अन्डामा १ वर्ष, मासुमा २ वर्ष र दूधमा ३ वर्षभित्र आत्मनिर्भर हुने मन्त्रालयको दाबी छ ।

Milknewsagro.comबिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री शान्ता मानवीले समृद्ध मुलुक निर्माणको अभियानमा सघाउन आत्मनिर्भरताको योजना ल्याएको बताइन् । ‘हाम्रो समृद्ध नेपाल बनाउने सपना हो,’ उनले भनिन् । मुलुकभर कुन–कुन क्षेत्रमा उत्पादनको सम्भावना छ भनेर खोजी गरी योजना बनाएको उनले बताइन् ।

‘विषयगत रूपमा पूर्वदेखि पश्चिमसम्म अध्ययन गर्‍यौँ । त्यसपछि केन्द्रमा बसेर विज्ञसँग छलफल गर्‍यौँ र प्रतिबद्धता ल्याएका हौँ,’ उनले भनिन् । पशु उत्पादन निर्देशनालयका प्रमुख डा. विमलकुमार निर्मलका अनुसार मुलुकलाई अन्डा, मासु र दूधमा आत्मनिर्भर बनाउन धेरै गाह्रो नभएको बताए । ‘हामी कुखुराको मासुमा आत्मनिर्भर नै छौँ,’ उनले भने, ‘अन्यमा पनि आत्मनिर्भर हुन धेरै गाह्रो छैन ।’

उनका अनुसार मुलुकभर वार्षिक रूपमा ४० लाख खसीबोका उत्पादन हुने गरेको छ भने ४–५ लाख खसीबोका विदेशबाट आउने गरेको छ । ‘४० लाखको उत्पादन हुने ठाउँमा ४–५ लाखको अभावलाई पूरा गर्न सकिन्छ,’ उनले भने । सरकारले पछिल्लो समय बाख्रा पालनमा अनुदान तथा विदेशबाट उन्नत जातका वीर्य ल्याई स्थानीय बाख्रामा कृत्रिम गर्भाधान गराई उत्पादन बढाइरहेको छ । त्यस्तै, वार्षिक २० देखि २५ हजार राँगा, भैँसी विदेशबाट आउने गरे पनि सरकारले पाडीपालन कार्यक्रम गरी उत्पादन बढाउन थालेको उनले जानकारी दिए ।

दूधमा आत्मनिर्भर हुन पनि धेरै गाह्रो नभएको उनको भनाइ छ । ‘वार्षिक रूपमा २३ लाख मेट्रिकटन दूधको माग छ, हामीकहाँ १२ देखि १७ लाख मेट्रिकटनसम्म उत्पादन भइरहेको छ,’ उनले भने, ‘यो अभावलाई पूरा गर्न पनि धेरै गाह्रो छैन ।’ दूध उत्पादन वृद्धिका लागि दुग्ध विकास बोर्डले युरोपबाट उन्नत जातको गोरुको ८ हजार डोज वीर्य ल्याउन लागेको छ । उक्त वीर्य स्थानीय गाईमा कृत्रिम गर्भाधान गराएपछि त्यसबाट जन्मने बाच्छीले दोब्बर दूध दिने बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले जानकारी दिए ।

अन्डामा दुईतिहाइ माग आन्तरिक उत्पादनले धानिरहेको छ, वार्षिक प्रतिव्यक्ति ४८ वटा अन्डाको माग छ, त्यसमध्ये ३२ वटा आन्तरिक रूपमा आपूर्ति भइरहेको, बाँकी १६ वटा पनि आन्तरिक स्रोतबाट नै आपूर्ति गराउने योजना रहेको निर्देशनालयका प्रमुख डा। निर्मलले जानकारी दिए ।

पशुपंक्षी राज्यमन्त्री नरदेवी पुन मगरले मुलुकलाई आत्मनिर्भरतासँगै स्वच्छता कायम गराउने अभियानमा पनि लागेको बताइन् । ‘बधशालादेखि भान्सासम्म स्वच्छ मासु र गोठदेखि ओठसम्म स्वच्छ दूधको आपूर्ति गर्ने अभियानमा लागेका छौँ,’ उनले भनिन् । उनले किसानलाई गोठालो नभई मालिक बनाउने अभियानमा मन्त्रालय लागेको बताइन् ।

मन्त्रालयका सचिव डा। कृष्णचन्द्र पौडेलले आत्मनिर्भरताको योजना कार्यान्वयन गर्न ५ अर्ब बजेट भए पनि त्यो अपर्याप्त रहेको बताए । ‘हामीले ५ अर्ब बजेट राखेका छौं तर १५–२० अर्ब चाहिन्छ’ उनले भने ।

मन्त्रालयले भूकम्पपीडित किसानलाई गाई, भैँसी, भेडा, बाख्रा, बंगुर, कुखुरा आदी पालनका लागि आवश्यक मापदण्ड बनाइ अनुदान उपलब्ध गराउने पनि जनाएको छ । मिल्क होलिडे सदाका लागि अन्त्य गर्ने मन्त्रालयको दाबी छ । मन्त्रालयले जारी गरेको ४० बुँदे प्रतिबद्धतामा पशुपंक्षीको नश्ल सुधार गर्ने, कृषियन्त्र आयातमा लाग्दै आएको भन्सार शुल्कमा थप छुट गराउने, एक जिल्ला एक घाँसेबाली स्रोत केन्द्र अनिवार्य गर्नेलगायतका योजना छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :