भूकम्पले जुनार किसानलाइ ९ करोड घाटा

यो समाचार 169 पटक पढिएको

चीना थापा/ सिन्धुली
११ माघ, जुनारको राजधानी भनेर चिनिएको सिन्धुलीका जुनार किसानहरुले यस वर्षको भूकम्प, असिना हावाले गर्दा घाटा बेहोर्नु परेको छ । दैवी विपत्तिका कारण किसानहरुले लक्ष्य अनुसार यसवर्ष आम्दानी गर्न भने सफल नभएको जिल्ला जुनार उत्पादन सहकारीले जनाएको छ ।

यस वर्ष किसानहरुले जुनार उत्पादनमा बृद्धिका लागि मिहेनत गरेपनि झण्डै साडे ३ हजार मेट्रिक टन जुनार भूकम्प, असिना, आधी र किराहरुको संक्रमणबाट खेर गएको किसानले बताएका छन् । यस वर्ष जुनार उत्पादक किसानहरुलई प्रति किसान २ लाख देखी ३ लाख सम्म घाटा भएको जुनार उत्पादक सहकारीका अध्यक्ष निर्मलकुमार रम्तेलले बताए । उनका अनुसार जिल्लामा उत्पादन गरिएको जुनार मध्ये भूकम्पका कारण जुनार झरेको, असिनाले क्षती पुर्याएको, हावाहुरीले फल लाग्ने बेलमा जुनारका चिचिला झारे पनि आम्दानिको लक्ष्य पछ्याएका किसान रोग किराको संक्रमणले घाटा वेहोर्न बाध्य भएको रम्तेलले बताए ।

उनका अनुसार यसवर्ष सिन्धुलीमा जुनारबाट किसानलाई ९ करोड घाटा भएको छ । जिल्ला सहकारीमा आबद्ध तथा समूहमा आबद्ध किसानहरुलाई २ लाख देखी ३ लाख रुपैयाँसम्म घाटा भएको छ । “अघिल्लो वर्षको पाठ सिकेर जुनार उत्पादन गर्नका लागि समयमा नै गोडमेल, सिचाई लगायतको काम गरेकाले जुनार उत्पादनमा बृद्धि हुने अनुमान गरिएपनि असिना, आँदीले जुनारको चिचिला झरेपनि राम्रै आम्दानी हुने आशा थियो तर वैशाख १२ को भूकम्पले जुनार उत्पदनमा कमी ल्याइदियो” जुनार किसान डम्बर विक्रम बस्नेतले बताए ।

“दैबी विपत्ति परेपनि मन बुझाएरै भूकम्पले घरबार विहिन बनाएपनि जुनार वेचेर आएको रकमले घर बनाउने योजना बनाइयो । तर, त्यो पनि जुनारमा औसिया किराको संक्रमणले पनि जुनारबाट आम्दानी सोचे अनुसार भएन”, बस्नेतले भने, “रोगको पहिचान र निदानका लागि विभिन्न संघ संस्थाहरु लागि परेका छन्, तर अर्को वर्ष पनि गरेको दुःख औसिया किराले लाने होकी चिन्ता छाएको छ, चिन्ताका बाबजुत पनि व्यवसाय अगाडी बढाउने योजना बनाएको छ, यसमा संलग्न संघ संस्थाहरु र प्राविधिकहरुले वेलै देखी रोग किराको अध्यन गर्नु पर्ने भएकाले त्यस्तो नहुने बताएकाले व्यवसाय गर्न कम्मर कसेको छु ।”

सिन्धुलीका जुनार किसानले सहकारीमा सदस्यता नभएका किसानले न्यूनतम ५० हजार आम्दानी गर्दै आएका छन् भने सहकारीमा आवद्ध भएका किसानहरुले न्यूनतम वार्षिक ३ लाख देखी ४ लाख सम्म र बढीमा १० लाख देखी १५ लाख सम्म आम्दानी गर्दै आएका छन् ।

अहिले सम्ममा सिन्धुलीमा ८० प्रतिशत जुनार बिक्री भइसकेको र १० प्रतिशत जुनार बोटमा रहेको र १० प्रतिशत जुनार स्टोरमा रहेको जिल्ला जुनार संघ सिन्धुलीले जनाएको छ । अहिले सम्म ८० प्रतिशत जुनार बिक्रीबाट २१ करोडको आम्दानी भएको संघले जनाएको छ । उत्पादनका हिसावले साढे १२ हजार मेट्रिक टन जुनार उत्पादन गर्ने लक्ष्य भएपनि यस वर्ष ९ हजार मेट्रिक टन जुनार बजारमा पुर्याउन सकिएको संघले जनाएको छ । सुरुमा लक्ष्य भन्दा बढी जुनार फल्ने जुनारको फूल र चिचिलाबाट अनुमान गरिएपनि दैवी विपत्तिका कारण लक्षमा पुग्न नसकिएको संघले जनाएको छ ।

अर्को वर्ष सिन्धुलीमा १३ हजार मेट्रिक टन जुनार उत्पादन गर्ने लक्ष्य लिइएको जुनार उत्पादन सहकारी संघले बताएको छ । यस वर्षको दैवी विपत्ति र रोग किराको संक्रमणले गर्दा वेलैमा गोडमेल सिचाई, रोग किराको ब्यबस्थापन लगायतका बारेमा किसानलाई जनाकारी गराइएकोले १० प्रतिशत जुनार टिप्ने वित्तिकै यो कामको थालनी हुने सहकारी संघका अध्यक्ष रम्तेलले बताए । सहकारीको तथ्याङ्क अनुसार अहिले जिल्लामा ४१ सय र अन्य समूहमा आबद्ध गरी ४५ सय ५१ जना जुनार उत्पादक किसान रहेका छन् । यसमा पनि हरेक वर्ष १५० जना किसान थपिदै जानु निकै राम्रो भएको सहकारीको भनाई छ ।

१५० जना किसानले अन्य व्यवसाय छाडेर जुनार खेतीमा आउने गरेको जुनार उत्पादन जिल्ला सहकारी संघका अध्यक्ष निर्मल कुमार रम्तेलले बताए । उनका अनुसार जिल्लामा १५ सय हेक्टर क्षेत्रफलमा जिल्लाको ४५ गाउँ विकास समितिमा जुनारको व्यवसाय गरिदै आएको छ । हरेक वर्ष २ सय हेक्टर क्षेत्रफमा जुनारको व्यवसाय बढ्दै गएको छ । अहिले जिल्लामा जुनारको व्यवसाय बडाउनको लागि जिल्ला जुनार संघ, जिल्ला कृषि विकास कार्यालय सिन्धुल, जुनार उत्पादन सहकारी संघको सहयोगमा जुनार उत्पादनका पकेट गाउँ विकास समिति र अन्य स्थानमा भौगोलिक अध्ययन सँगै सिचाई सडको सुबिधाको बारेमा सर्वे गर्ने काम भइरहेको छ ।

जुनार उत्पादन जिल्ला सहकारी संले संघको सदस्यता हुन ५० वोट जुनार लगाएको हुने पर्ने र वार्षिक व्यवसाय बडाउदै लगेमा आय आर्जनको लागि राम्रो हुने र कमजोर आय भएका किसानलाई यस नीतिले लाभ पुर्याएको संघले दावी गरेको छ । कृषकहरुलाई आकर्षित सँगै व्यवसायिक बनाउन सहुलीयतमा जुनारको विरुवा वितरण देखी प्राविधिको पनि उपलब्ध गराइदै आइएको छ ।

जिल्लामा जुनार परापूर्वकाल देखी आफैले खानको लागि रोपिदै आएको भए पनि किसानहरुले व्यवसायकै रुपमा अन्य बाली मासेर जुनार मात्र लगाउन थालेका छन् । एक गाउँ एक उत्पादन कार्यक्रम र विभिन्न संघ संस्थाको सहयोगमा जुनार व्यवसायमा किसानको आर्कषण बढ्दै गएको छ ।

जुनारबाट जुस, जाम, जेली, मार्मललेड लगायतका ९ परिकार बनाउन सकिने भएपनि जिल्लामा ४ देखी ५ प्रकार बजारमा आउने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :