अन्न उब्जिने जमिन मासेर अलैँची खेती

यो समाचार 351 पटक पढिएको

प्रकाश धौलाकोटी /तेह्रथुम

११ माघ, बर्सेनि अलैँचीको मूल्य अकासिँदै गएपछि जिल्लाका किसानले अन्न उब्जाउ जमिन मासेर नगदेबाली अलैँची खेती सुरु गरेका छन् । कम मिहिनेत र लगानीमै राम्रो आम्दानी गर्न सकिने भएकाले पनि किसान अलैँची खेतीमा लागेका हुन् ।
Alaichi Finalकेही वर्षयता किसानले अलैँची खेती विस्तार गर्न थालेपछि अलैँची उत्पादनसमेत बढ्न थालेको छ । जिल्लामा यो वर्ष २ सय ५० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । उत्पादित अर्लैंची बिक्रीबाट किसानले ५२ करोड रुपैयाँबराबर आम्दानी लिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मनोजकुमार यादवले जानकारी दिए ।

एक दशक अघिसम्म ६–७ हजार रुपैयाँ प्रतिमनका दरले किनबेच हुने अलैँचीको मूल्य हाल १ लाख हाराहारी पुगेको छ । यो वर्ष सिजनमा अलैँची प्रतिमन ८० देखि १ लाख १० हजार रुपैयाँसम्ममा कारोबार भएको छ ।

अहिले पनि अलैँची प्रतिकेजी २२ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको व्यवसायी बताउँछन् । ‘बर्सेनि किसानको ध्यान अलैँची खेतीले तानिरहेको छ,’ कृषि विकास अधिकृत यादवले भने, ‘अन्नबालीभन्दा राम्रो आम्दानी भएपछि अन्न उब्जाउ जमिन मासेरै किसान अलैँची खेतीमा लागेका हुन् ।’

जिल्ला कृषि विकास कार्यालयले किसानलाई बर्सेनि अनुदानमा अलैँची विरुवा वितरण गर्दै आएको उनले बताए । यो वर्ष पनि विभिन्न क्षेत्रमा स्थापना गरिएका नर्सरीबाट स्वस्थ विरुवा उत्पादन गरी वितरण गरिन लागेको उनले जानकारी दिए ।

जिल्लामा गत वर्ष २ सय ४७ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । तेह्रथुममा ६ सय २५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको कृषि विकास अधिकृत यादवले बताए । त्यसमध्ये खाम्लालुङ, श्रीजुङ, मोराहाङ, ओयाक्जुङ, इवा, ह्वाकु, म्याङलुङ र लालीगुराँस नगरपालिकामा बढी क्षेत्रमा खेती हुने गरेको छ ।

‘मैले उत्पादन गरेको १० मुरी धानबाट करिब २० हजार रुपैयाँ आम्दानी हुन्छ,’ स्थानीय डम्बर बहादुरले भने, ‘तर अलैँची लगाउँदा ३ वर्षपछि मात्रै फले पनि एक वर्षमा ५ लाख रुपैयाँभन्दा बढी आम्दानी लिन थालेको छु ।’

काम गर्ने मान्छे कम लाग्ने र खेतबारीमा जस्तो दिनरात खट्न नपर्ने हुँदा अन्नबालीभन्दा अलैँची खेती आम्दानी र लागत दुवै हिसाबले उचित रहेको उनको भनाइ छ । अन्नबाली लगाउँदा खेतबारीमा काम गर्ने कामदार अभाव हुँदै गएकाले पनि धेरै किसानले अलैँची खेती रोज्न थालेको उनको बुझाइ छ ।

खोल्साखोल्सी सेपिलो, ओसिलो जंगल र पाखा बारीमा मात्र सीमित भएको अलैँची खेतीलाई अन्नबाली फल्ने जमिनमा थप व्यवस्थित गरेर लगाउन सके उल्लेख्य आम्दानी लिन सकिने कृषि प्राविधिक बताउँछन् ।

जिल्लाको म्याङलुङ नगरपालिकाका किसान डम्बरबहादुर लिम्बूले गएको भदौ दोस्रो साता धान रोपेको खेतमा अलैँची रोपे । धान पाकेर काटेर थन्क्याइसक्दा अहिले अलैँची पनि जीवितै छ । बर्सेनि १० मुरी धान फल्ने खेतमा रोपेको अलैँचीबाट ३ वर्षपछि वार्षिक कम्तीमा ५ मन (प्रतिमन ४ केजी) अलैँची फलाउने लक्ष्य रहेको लिम्बू बताउँछन् ।

उनीजस्तै छिमेकी तेजबहादुर लिम्बूले पनि बर्सेनि अलैँचीको भाउ अकासिएको देखेर धान फल्ने खेतमा यसै वर्ष अलैँची रोपेका छन् । उनले ३ मुरी धान फल्ने खेत र मकै, कोदो बाली लगाउँदै आएको बारीमा अलैँची रोपेका हुन् । इवाका किसान नरबहादुर सापकोटाले पनि घरसँगैको करिब १० रोपनी बारीमा अलैँची रोपेका छन् । वार्षिक करिब २० मुरी मकै फल्ने बारीमा अलैँची लगाएका उनलाई मूल्य बढी पाइने भएपछि आकर्षित गरेको हो ।

लिम्बूद्वय र सापकोटाजस्तै अलैँचीको खेतीबाट कम लगानीमै राम्रो आम्दानी गर्न सकिने भएपछि ग्रामीण क्षेत्रमा यो खेती विस्तार हुने क्रम बढेको छ । खोल्साखोल्सीमा मात्र खेती गरिँदा खोल्सीको कालो सुनको उपमा पाएको अलैँची खेती किसानले धान, मकै, कोदोजस्ता अन्नबाली फल्ने खेतबारीमा समेत लगाउन थालेका हुन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :